गुल्मीमा एकीकृत विकास योजना छनोटसम्बन्धी अन्तरक्रिया सम्पन्न
- BFIS News
- 2026 Apr 20 22:22
गुल्मी, वैशाख ७ गते । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूसँग एकीकृत विकास योजना छनोटसम्बन्धी अन्तरक्रिया गरिएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम तम्घासमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय सागर ढकाल र गोविन्द पन्थी, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आ–आफ्ना स्थानीय तहका योजना, लक्ष्य, समस्या तथा दीर्घकालीन रणनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । सहभागी जनप्रतिनिधिहरूले सेवा प्रवाहमा देखिएका समस्या, कानुनी जटिलता, स्रोत व्यवस्थापन, पूर्वाधार विकास तथा भावी योजनाबारे सुझाव दिएका थिए ।
प्रतिनिधिसभा सदस्य सागर ढकालले विकासलाई पूर्वाधारमा मात्र सीमित नराखी सुशासन, पारदर्शिता र नागरिक सहभागितासँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले दीर्घकालीन सोचसहित कार्यगत प्रणाली सुधार आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले जिल्लामा पूर्वाधार विकास, सेवा प्रवाहको प्रभावकारिता र स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहसँगको समन्वय थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीका अनुसार सहभागीहरूले गुल्मीको समग्र विकासका लागि नीति निर्माण, प्रभावकारी कार्यान्वयन र अन्तरतह समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्षसमेत निकालिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)
.jpg)






प्रतिक्रिया