धितोपत्र बोर्ड अध्यक्ष सिफारिसको जिम्मा भट्टलाई, एक वर्षमा बदलियो भूमिका
- BFIS News
- 2026 Apr 23 08:14
एक वर्षअघि नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने प्रक्रियाबाट बाहिरिएका भट्ट अहिले अर्को प्रमुख नियामक निकायको नेतृत्व छनोट गर्ने भूमिकामा पुगेका छन्।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि उपाध्यक्ष भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र बैंकर भुवन दाहाल सदस्य छन्। धितोपत्र बोर्डसम्बन्धी कानुनी व्यवस्थाअनुसार आयोगका उपाध्यक्षको नेतृत्वमा समिति गठन हुने भएकाले भट्टको संयोजकत्व स्वाभाविक मानिएको छ।
यस समितिले अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चयन गरी नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
भट्टको पछिल्लो भूमिकालाई उनको विगतसँग तुलना गरेर पनि हेरिएको छ। एक वर्षअघि उनी नेपाल राष्ट्र बैंक को गभर्नर बन्ने प्रक्रियामा अगाडि रहेका थिए। त्यतिबेला तत्कालीन सत्ता समीकरणअनुसार उनको नाममा सहमति जुटेको थियो र उनी नियुक्तिको नजिक पुगेका थिए। तर, कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा स्वीकृत नभएपछि उनी उक्त पदमा पुग्न सकेनन् र त्यसपछि संस्थाबाट बाहिरिएका थिए।
पछि गभर्नरका रूपमा डा. विश्व पौडेल नियुक्त भएपछि भट्टलाई पुनः संस्थामा फर्कन आग्रह गरिएको थियो। उनले राजीनामा फिर्ता लिएर डेपुटी गभर्नर बन्ने सम्भावना समेत रहे पनि उनले उक्त प्रस्ताव स्वीकार नगरेको स्रोतहरूले जनाएका छन्।
त्यसपछि सार्वजनिक पदबाट बाहिरिएका भट्ट हाल राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा छन्। सोही हैसियतमा उनी अहिले पूँजी बजार नियामक निकायको नेतृत्व छनोट गर्ने प्रक्रियामा संलग्न भएका छन्।
नेपालको पूँजी बजारमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सधैं चासो र बहसको विषय रहँदै आएको छ। विभिन्न स्वार्थ समूहको प्रभावबारे विगतमा प्रश्न उठ्दै आएका छन्। यस्तो अवस्थामा भट्ट नेतृत्वको समितिले सिफारिस गर्ने उम्मेदवार र त्यसपछि सरकारले गर्ने अन्तिम चयनले आगामी दिनमा बजारको दिशा तय गर्ने विश्लेषण गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया