चक्रपथ विस्तारको दोस्रो चरण सुरु हुने, चीनको ११ अर्ब अनुदान
- BFIS News
- 2026 Apr 29 15:15
काठमाडौँ, वैशाख १७ गते। चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ। सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
यसअघि सन् २०१९ मा पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ। चक्रपथको दोस्रो खण्डमा कुल ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहे पनि हाल बसुन्धरासम्मको खण्डलाई प्राथमिकतामा राखिएको छ।
कलङ्की–महाराजगन्ज खण्ड विस्तारका लागि वि.सं. २०७४ फागुनमा समझदारी भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन। सन् १९७७ मा चीनकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो भने पहिलो खण्ड (कोटेश्वर–कलङ्की) को १०.३९ किलोमिटर सडक २०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा आउने समस्या तत्काल समाधान गर्दै सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चिनियाँ राजदूत माओमिङले अनुकूल वातावरण बनेमा थप चिनियाँ लगानी नेपालमा भित्रिने र विकासमा चीनको सहयोग निरन्तर रहने बताउनुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया