कृषि उत्पादनमा अग्रणी कोशीमा सीमित कर्जा, बागमतीमा केन्द्रित कृषि लगानी
- BFIS News
- 2026 Jun 19 11:20
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रदेशगत आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले कृषि उत्पादनको आधार र कृषि कर्जाको वितरणबीच उल्लेखनीय असन्तुलन रहेको देखाएको छ।
कृषि क्षेत्रलाई प्राथमिकता दिइएको भनिए पनि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कृषि कर्जाको ठूलो हिस्सा बागमती प्रदेशमा केन्द्रित भएको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकका अनुसार २०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा कुल ३ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये १ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ३६.८८ प्रतिशत हिस्सा बागमती प्रदेशमा मात्र गएको छ।
खेतीयोग्य जमिन र कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण मानिने कोशी प्रदेशमा भने कृषि कर्जाको हिस्सा तुलनात्मक रूपमा कम रहेको देखिन्छ। करिब ९ लाख ८९ हजार हेक्टर खेतीयोग्य क्षेत्रफल रहेको कोशी प्रदेशमा सो अवधिसम्म ५५ अर्ब १७ करोड रुपैयाँ कृषि कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
प्रदेशगत विवरणअनुसार चालु आर्थिक वर्षमा अधिकांश प्रदेशमा कृषि कर्जा घटेको छ। गत वर्षको पुसको तुलनामा २०८२ पुससम्म कोशी प्रदेशमा ३ प्रतिशत, मधेशमा ५.७ प्रतिशत, गण्डकीमा ११ प्रतिशत, लुम्बिनीमा ३.७९ प्रतिशत, कर्णालीमा ५.०७ प्रतिशत तथा सुदूरपश्चिममा ४.४४ प्रतिशतले कृषि कर्जा संकुचित भएको छ।
यसको विपरीत बागमती प्रदेशमा भने कृषि कर्जा २.८ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार ठूला व्यावसायिक कृषि परियोजना तथा कर्पोरेट फार्महरूले मुख्य कार्यालयमार्फत कर्जा स्वीकृत गराउने प्रवृत्तिका कारण पनि कर्जाको ठूलो हिस्सा बागमतीमा अभिलेख हुने गरेको छ।
समग्र रूपमा हेर्दा कृषि क्षेत्रमा बैंकहरूको लगानी पनि घट्दो क्रममा देखिएको छ। २०८१ पुसको तुलनामा २०८२ पुससम्म कृषि क्षेत्रमा प्रवाह भएको कुल कर्जा २.४९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। कृषि कर्जामा ब्याज अनुदान कार्यक्रमको प्रभाव घट्नु तथा कर्जा असुलीमा चुनौती बढ्नु यसको प्रमुख कारणका रूपमा हेरिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको खराब कर्जामध्ये कृषि क्षेत्रको हिस्सा उल्लेखनीय रहेको छ। यसले कृषि क्षेत्रमा नयाँ लगानी विस्तार गर्न बैंकहरू सतर्क बनेको देखिन्छ।
क्षेत्रगत वितरणमा पनि पशुपालन तथा बधशाला क्षेत्रमा सबैभन्दा बढी लगानी भएको छ। २०८२ पुससम्म उक्त क्षेत्रमा मात्रै ६६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांक छ।
कृषि क्षेत्रको व्यवसायीकरण र उत्पादन वृद्धि सरकारी प्राथमिकतामा रहे पनि उत्पादनमुखी प्रदेशहरूमा अपेक्षित वित्तीय पहुँच नपुग्नु तथा कर्जा सीमित भूगोलमा केन्द्रित हुनु कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि चुनौतीका रूपमा देखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया