NIMB Header 2
Nepal Life

बीमकले बीमा व्यवसायमा खेल्नु पर्ने भुमिका, पोषक राज पौडेलको लेख

NMB Bank
  • पोषक राज पौडेल
  • 2026 May 01 21:44
बीमकले बीमा व्यवसायमा खेल्नु पर्ने भुमिका, पोषक राज पौडेलको लेख
United Ajod

काठमाडौं। नेपालमा बीमा बजारको अवस्था एकदमै राम्रो छ । पछिल्लो एक दशकमा बीमा बजार एकदमै फस्टाएको छ । अघिल्लो दशकमा ७ प्रतिशत हाराहारीमा रहेको बीमा बजार अहिले आएर लगभग ४० प्रतिशत भन्दा माथिको अवस्थामा पुग्नु भनेको गजवको राम्रो अवस्थामा हो । यस दशकमा यति बृद्धि दक्षिण एशियाली कुनै पनि मुलुकमा छैन ।

Shikhar
Nepal Life
NIMB

आजको मितिमा बीमाको पहुँच लगायतका धेरै वटा सूचकमा हामी भारत जस्तो ठुलो अर्थतन्त्र भएको मुलुक भन्दा निकै अगाडि छौ । बीमाको पहुँचकै हिसावले हेर्ने हो भने बंगलादेश भन्दा अगाडि छौ । पहिलो हिसावले नेपालमा बीमाको एकदमै राम्रो बजार छ भने दोस्रो हिसावले बीमा बजारको विकास, यस क्षेत्रको व्यवसायिकता, गुणस्तरमा क्रमिक सुधार, सेवा प्रवाह, डिजिटलाइजेसन लगायतका धेरै कुराहरुमा फड्को मारेको छ ।  यि दुबै हिसावले एक दशक अगाडिको अर्थात ५/७ वर्ष अगाडि हेरिकन निकै राम्रो अवस्थामा आइपुगेको छ ।

विगतका एक दुई वर्ष कोभिड १९ को प्रभाव पछाडिको अवस्थालाई हेर्ने हो भने औषतमा २५ प्रतिशतको सुधार देखिन्छ ।  एकाध वर्ष आर्थिक मन्दी र कोभिड १९ को समयलाई अपवादको रुपमा हेर्दा अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको सुधार एकदमै राम्रो बृद्धिदर हो । अर्को कुरा के हो भने आम मानिसको जीवनस्तर तल्लो तहबाट माथिल्लो तहमा स्तरोन्नती भइरहेको छ । संस्थागत रुपमा धेरै कुराको विकास भइरहेको छ । सामाजिक संचनामा व्यापक परिवर्तन आइरहेको छ । यस कारणले समग्रमा समाजको स्तर पनि बदलिएको, जोखिम पनि दिन दिनै बढ्दो, बीमाको पहुँच समग्रमा ४० प्रतिशत रहेता पनि सावधिक बीमाको पहुँच कमै रहेको हुँदा बीमा बजारको सम्भावना पनि व्यापक छ ।

बीमा गर्न सक्ने क्षमताको अवस्था

हामीले कुनै समयमा गरेको अध्ययन अनुसार कुल जनसंख्यामा ६५ प्रतिशतले बीमा गर्न सक्ने अवस्था रहेको छ । यो भनेको २० प्रतिशत मानिस गरिवीको रेखामुनी रहेका छन् । दैनिकी नै चलाउन धौ धौ पर्ने यस समुहका मानिसहरुले बीमा शुल्क भुक्तानी गर्न सक्ने क्षमता राख्दैनन् । उनीहरुलाई कुनै निकाय वा सरकारले साथ सहयोग गरिदियो भने मात्रै बीमा गर्न सक्छन् । त्यस्तै १० प्रतिशत मानिस रोग, तथा शारिरिक अवस्था लगायतका विभिन्न हिसावले असक्त छन् । अर्को उमेरका हिसावले अशक्त छन् । यस बाहेक बालबालिका तथा युवा समुह बीमा गर्न लायकको समुह हामी सँग छ । यस कारणले गर्दा आजका दिनमा हामी सँग सावधिक प्रकृतिका जीवन बीमा पोलिसी खरिद गर्नेको संख्या २० प्रतिशत मात्रै छ । बीमाको पहुँच धेरै देखिनुमा वैदेशिक म्यादी जीवन बीमा, आवधिक जीवन बीमा र लघु जीवन बीमाकै कारणले हो । यि सबै कुरालाई हेर्दा हाम्रोमा बीमाको प्रचुर सम्भावना छ ।

बीमा बजारको प्रवृत्ती

बीमा बजारका तमाम कुराहरुमा सुधार भएको छ । अघिल्लो समयमा बीमाको बारेमा मानिसहरुसँग कुराकानी गर्दा धेरैमा नबुझेको पाइन्थ्यो । अहिले बीमाको परिवेशमै निकै परिवर्तन भएको छ । हरेक परिवारका एक न एक जना सदस्य विदेशमा हुहुनुन्छ । जो विदेशमा पुगेर काम गरिरहेका छन् उनीहरुले बीमाको महत्व बुझेका छन् । यस समुहले आफ्नो घर परिवारमा बीमाको बारेमा राम्रोसँग बुझाइरहेका छन् । अहिले स्वेदशबाट मात्रै नभएर विदेशबाट पनि बीमाको महत्व हस्तान्तरण भइरहेको छ ।

हाम्रैमा पनि वैदेशिक रोजगार बीमा मार्फत गाउँ ठाउँका मानिसहरुले दाबी भुक्तानी पाइरहनु भएको छ । अहिले गाउँ गाउँमा केहि भवितव्य भइहाल्यो भने बीमाले पैसा दिन्छ भन्ने सकारात्मक वातावरण निर्माण भएको छ । अझै पनि मानिसहरुले कोरोना बीमाको दाबी भुक्तानी पाउन बाँकी छ । यसले गर्दा समेत मानिसहरुले बीमा सम्झिएका छन् । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फत पनि बीमा बुझेका छन् । यि सबै कुराले नेपालमा एक चरणमा बीमा स्थापित भइसकेको छ । सतही रुपमा बीमाको जनचेतना पुगिसकेको छ । अव चेतनाको स्तर बढाउन घनिभूत रुपमा लाग्नु पर्ने अवस्था छ ।

बीमाको बजार बढाउन मद्दत पुर्याउने अभिकर्ता च्यानल

हाम्रो देशमा सबैभन्दा महत्वपूर्ण र बीमा पोलिसी बिक्री गर्ने च्यानल भनेको अभिकर्ता साथिहरु नै हो । आजको दिनमा करिव ३ लाखको संख्यामा सक्रिय अभिकर्ता रहेका छन् । ‘अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्र बनाउन’ झोला बोकेर हिड्ने ३ लाखको संख्या सानो होइन । अन्य कुनै पनि क्षेत्रमा यति ठुलो संख्या छैन । यसरी हिड्ने अभिकर्ता साथिहरु नै हाम्रो बीमा शुल्क आर्जनको सबैभन्दा ठुला स्रोत हुन् । उहाँहरुको व्यवसायिकता विकास गर्ने र उनीहरुलाई अगाडि बढाउने र बीमा बिक्री गर्ने बातावरण बनाउने काम हामी सबैको हो । यो बढ्दो क्रममा छ । उहाँहरु पनि यस क्षेत्रमा लागेर व्यवसायिक हुनु पर्छ । सबैमा राम्रो गर्नु पर्छ तथा प्रतिस्पर्धाको भावना हुनु पर्छ । प्रतिस्पर्धाले नै ग्राहकलाई बुझाउनु पर्छ र सेवा दिनु पर्छ भन्ने भावनाको विकास हुन्छ । जसले गर्दा अभिकर्ताहरुमा परिपक्वता विकास हुँदै गइरहेको छ ।

अभिकर्ताको क्षमता अभिबृद्धिमा बीमकको भुमिका

बीमकहरुले पछिल्ला दिनमा अभिकर्ताको क्षमता अभिबृद्धिमा अलि जोड दिइरहेका छन् किनभने हिजोको मितिमा एक अभिकर्ता एक कम्पनी भन्ने थिएन । अव बीमकहरुलाई यो मेरो अभिकर्ता हो । उसले मेरोमा काम गरिरहेको छ । त्यसैले मैले उसलाई तालिम दिनु पर्छ सिकाउनु पर्छ भन्ने मान्यताको विकास भएको छ । अहिले थुप्रै बीमकले नेपालमा मात्रै नभएर विदेशबाट समेत ट्रेनर भित्र्याएर सिकाउने ट्रेण्डको विकास भएको छ । विश्वका अन्य मुलुकहरुमा कस्ता कस्ता अभ्यास भइरहेका छन् भनेर तालिम दिएको धेरै भेटिन्छ । त्यस्ता गतिविधि देखिको पनि छ । सञ्चार माध्यमले पनि राम्रो कभरेज गरिरहेका छन् । सिकाउने कुराहरुमा र क्षमता अभिबृद्धिमा व्यापक काम रुपमा काम भएको छ ।  

जसको धेरै अनुभव छ उसलाई बढी अण्डराइटिङको अधिकार दिनु पर्छ । उसलाई बढी व्यवसायिक बनाउनका लागि तालिमहरु दिने र अन्य सुविधाहरुमा पनि बढोत्तरी गर्नु पर्छ । भर्खर नयाँ आउने अभिकर्ताले पाउने सीमा र पुरानाले पाउने सीमालाई फ्रेमिङ गर्नु पर्छ । कोहलपुरमा जुन किसिमको घट्ना घट्यो त्यसमा एउटै व्यक्तिले २ करोडको बीमा गर्यो । त्यसरी सुरुमै यति ठुलो बीमाङ्कको बीमा गर्न दिनु भएन । जसले २ करोडको, ४ करोडको बीमा गर्दा के चाहिन्छ भन्ने कुरा बुझेको छैन त्यसलाई बीमा गराउन दिदा यस्ता घटना घट्ने सम्भावना बढि हुन्छ ।

नयाँ अभिकर्ताको क्षमता अभिबृद्धि गर्दै लैजाने र अनुभव हासिल गरेकालाई विस्तारै सीमा बढाउदै लैजानु पर्छ भन्ने अभ्यास विदेश तिर पनि छ । नेपालमा पनि लाइसेन्स पाउने क्षेत्रहरु जस्तै ठेकेदार, ड्राइभिङ लगायतका धेरै क्षेत्रमा क्याटागोरी छुट्टाइएको हुन्छ । लाइसेन्स पाउने जुनसुकै क्षेत्रमा अनुभव हुँदै जादा क्षमता अनुसार काम गर्न दिने अभ्यास सबै तिर छ ।

यस्तो अभ्यास हामीले सिटिजन लाइफमै गरेका छौ । हामीले आन्तरिक रुपमा थोरै अभ्यास गरेका छौ । सुरुमा आउने अभिकर्ताले पाउने लिमिट सानो हुन्छ । अलि राम्रो हुँदै गए पछि अण्डराइटिङ, मेडिकल लिमिट बढ्दै जान्छ । यस्तो अभ्यास मेट लाइफमा पनि छ । जस्तै तीन वटा बीमा पोलिसी बिक्री नगरेसम्म अभिकर्ताले सामान्य स्तरको लिमिट पाउदैन । तीन वटा बीमा पोलिसी जारी भए पछि थोरै अनुभव पनि हुने र त्यस पछि काम गर्न सक्छ भन्ने मान्यता राखिन्छ ।

बीमाको बजार तथा पहुँच बढाउनका लागि नेपाल बीमा प्राधिकरण तथा सरकारी नियकाले अभिकर्ताको क्षमता बढाउनु पर्छ । बीमा अभिकर्ता सहित अन्य कुन कुन माध्यमबाट बीमा पोलिसी जारी गर्न सकिन्छ त्यस्ता बाटोहरु पनि खोज्दै लैजानु पर्छ । त्यसका लागि नियामकले अध्ययन अनुसन्धान लगायतका काम गर्नु पर्छ । विदेशमा के कस्तो अभ्यास छ त्यस मध्ये नेपालमा कुन कुन उपयोगी छ भन्ने कुराहरुलाई ख्याल गर्नु पर्छ ।  

अभिकर्ताको क्षमता अभिबृद्धिका लागि उनीहरुलाई तालिम दिनु पर्छ । उनीहरुले भने अनुसारको बीमा पोलिसी ल्याइदिनु पर्छ । भुक्तानी प्रणालीमा सहजता ल्याउनु पर्छ । बीमा पोलिसी बिक्री भए पछि बीमकले दिने सेवा सुविधालाई थप प्रभावकारी बनाउनु पर्छ । दाबी भुक्तानीदेखि लिएर मार्केटिङका कामहरुमा सहयोग गर्नु पर्छ । अभिकर्ता सँगै मिलेर फिल्डमा खट्ने । क्षमता बढाउन सकियो भने उनीहरुलाई यो पेशामा लागेर केहि गर्न सकिन्छ भन्ने विश्वास बढाउन सकिन्छ ।

हामीले बीमा अभिकर्ता क्षेत्रमा राम्रो काम गरेकालाई समाजमा देखाउन सक्नु पर्छ । यसलाई ‘रोल मोडेल सोकेसिङ’ भनिन्छ । हिजोका दिनमा कसैले सरकारी जागिरबाट सचिव भएको घटनाले गर्दा सरकारी जागिरमा मानिसहरुलाई आकर्षित गर्थ्यो । बैंक म्यानेजर भएर गाडी चढेको देखेर बैंकमा जागिर खानेलाई हौसला प्रदान गर्थ्यो । यो पेशामा लागेर पनि सबै उपलब्धी हासिल भएको कुराले समाजमा अन्य व्यक्तिहरुलाई अभिकर्ता पेशामा लाग्न प्रेरित गर्छ । आर्थिक हिसावले सक्षम तथा प्रतिष्ठित भएका कुराले पनि मानिसलाई यसमा लाग्न उत्प्रेरित गर्छ ।

बीमकहरु सबैले समग्रमा नयाँ बीमा पोलिसीमा काम गरिरहेका छन् । सबैले नयाँ पोलिसी ल्याइरहेका छन् । ग्राहकहरुको इच्छा परिवर्तन भइरहने हुँदा नयाँ पोलिसी ल्याएर ग्राहकको चाहना इच्छा अनुसारको काम गर्नु पर्छ । वितरण प्रणालीलाई मात्रै बलियो बनाएर हुँदैन । त्यस अनुसारको प्रोडक्ट भएन भने काम गर्न सकिदैन । अर्को कुरा बीमा पोलिसी जारी भइसके पछि ग्राहकहरुलाई दिने सुविधाहरुमा डिजिटलाइज गर्नु पर्छ । डिजिटल प्रणालीबाट अभिबृद्धि गर्नु पर्छ । यसरी यी तीन वटा कुराहरुलाई फोकस गर्न सकियो भने व्यवसाय एकदमै राम्रो हुन्छ ।

डिजिटलाइज हुँदै गर्दा अभिकर्ताहरु चिन्तित हुनु पर्दैन । १९९० को दशकमा डिजिटलाइजेसन भित्र्याएका विकसित देशहरुले पनि राम्रो सँग बिक्रीगर्न पाएका छैनन् । मानिसहरुले जतिसुकै पढे पनि औषधी र बीमाका प्रोडक्ट आफैले खरिद गर्न सकिरहेका छैनन्  । तपाई जतिसुकै जान्ने भए पनि तपाई आफैले औषधी आफैले खरिद गरेर खान सक्नु हुन्न । कुनै न कुनै टेक्निसियन तथा सम्बन्धित विषय विज्ञको राय सुझाव चाहिन्छ । बीमामा पनि अभिकर्ता साथिहरु विज्ञ हुन् । विज्ञको राय विना यो बिक्री हुन सक्दैन । प्राक्टिकल्ली संसारमै बीमा पोलिसी बीमित आफैले खरिद गर्ने गरेको अभ्यास छैन । तपाई आफै सिमेन्ट खरिद गर्न सक्नुहुन्न । तेस्रो पक्षको सुझाव विना कसैले पनि निर्णय लिन सक्दैन ।

विश्वव्यापी रुपमा वढेको विभिन्न किसिमका जोखिमहरुसंगै सो जोखिमहरुलाई मापन र आधार बनाएर बीमा योजनाहरुमा पनि बिविधिकरण भएको छ । बीमा योजनाको बिविधिकरण संगै यसको व्यवसायमा पनि तुलनात्मक विस्तार भएको छ । बीमा व्यवसाय विस्तारको मुख्य वितरण प्रणालीको रुपमा विकसित मुलुकमा बैंकास्योरेन्स, ब्रोकर तथा संस्थागत एजेन्सिहरुको मुख्य भुमिका भए पनि नेपाल लगायतका विकाशसिल  देशहरुमा व्यक्तिगत अभिकर्ताको भुमिका नै प्रमुख रहेको पाइन्छ । नेपालमा पनि जीवन बीमा व्यवसायमा नब्बे प्रतिशत भन्दा वढी अभिकर्ता (एजेन्सि च्यानल) मार्फत व्यवसाय हुने गरेको अवस्था छ ।

बीमा व्यवसायको हिस्सामा यति ठुलो योगदान गर्ने बीमाको मेरुदण्डको रुपमा रहेका व्यक्तिगत अभिकर्ताको पेशा, दक्षता र क्षमता संगै व्यवसायिकताको वारेमा पटक पटक चर्चा हुने गरेको छ । बीमा व्यवसायको विकासमा एजेन्सिको योगदानको समग्र मुल्यांकन संगै यस क्षेत्रमा घटेका प्रतिनिधी घटनाहरुले उठाएका नैतिक तथा व्यवसायिक प्रश्नहरुले पनि अभिकर्ता पेशा प्रतिको अवधारणामा असर गरेको अवस्था छ ।

अन्तराष्ट्रिय स्तरमा दुई किसिमको अभिकर्ताको पेशागत अभ्यास भएको पाइन्छ । स्वतन्त्र (independent) रुपमा काम गर्ने अभिकर्ता जसले विभिन्न कम्पनीहरुको एजेन्सिको रुपमा काम गर्ने गर्दछन् भने प्रतक्ष्य (Captive) अभिकर्ता जसले एउटै कम्पनीमा मात्र काम गर्ने गर्दछन । नेपालमा स्वतन्त्र अभिकर्ताको व्यवस्था भए पनि छिमेकी देशहरु सहित विश्वव्यापी रुपमा प्रत्यक्ष अभिकर्ताको मोडलनै सर्वमान्य र प्रभावकारी रुपमा अपनाईएको पाइन्छ । तर केही विकसित देशहरुमा प्रत्यक्ष अभिकर्ताले पनि फरक फरक कम्पनीमा फरक फरक बीमा प्रोडक्टको लागी आपसमा स्वार्थ नवाझिने गरी काम गर्ने गरेको पाइन्छ ।

जसमा जीवन वा निर्जीवन बीमा अन्तर्गत पनि परीक्षा पास गरेको प्रकार अनुसारको बीमा प्रोडक्टको मात्र (ड्राइभिङ्ग लाइसेन्समा जस्तो) बीमा गर्न पाउने गरी लाइसेन्स जारी गरिने गरिएको समेत पाइन्छ । बीमा धेरै प्राविधिक र विविधीकृत विषय भएकोले यस प्रकारको व्यवस्थाको मुख्य उदेश्य विशेषज्ञता भएको विषय अनुसारको मात्र कामको जिम्मेवारी निभाउनु हो । बीमाको सवै पक्षहरुको ज्ञान बिना गरिने कामले सामाजिक र पेशागत चुनौतीहरु बढाउछ ।

बीमा कम्पनीको अभिकर्ता वन्नको लागी विभिन्न देशमा फरक फरक अभ्यास रहेको पाइन्छ । विकसित देशहरु जस्तै अमेरिकामा औसत ४० घण्टाको प्रि लाइसेन्स कोर्स पुरा गरे पछि एजेन्ट लाइसेन्सको लागी तोकिएको परीक्षामा ७० प्रतिशत अंक ल्याई पास गर्नु पर्दछ । तर सिमित प्रोडक्ट (हेल्थ, पेन्सन आदि)को मात्र बीमा गर्ने गरी लिइने लाइसेन्सलाई २० घण्टाको प्रि लाइसेन्स कोर्स पुरा गरे पुग्छ । छिमेकी देश भारतमा पनि कम्तीमा ५० घण्टाको अध्ययन गर्नु पर्ने र सो पश्चात परीक्षामा सामेल हुनु पर्ने व्यवस्था रहेकोछ ।

नेपालमा बीमा प्राधिकरणले तोके बमोजिमको तालिम कार्यक्रम बीमा कम्पनीहरुले संचालन गरी आवश्यक कागजात सहित बीमा समितिमा अभिकर्ताको लाइसेन्सको लागी सिफारिस गरे अनुसार अभिकर्ताको लाइसेन्स दिने प्रकृया रहेको छ । नियमनकारी निकायवाट अभिकर्ताको लाइसेन्स लिए पछि बीमा कम्पनीसंग छुटै पेशागत काम, कर्तव्य, अधिकार, सर्त तथा सुविधाहरु उल्लेख गरी करार गर्ने प्रचलन विदेशमा हुने गरेको भए पनि नेपालमा एकाध कम्पनीमा मात्र प्रचलन रहेको देखिन्छ । सो करारमा एजेन्सिले नविकरण पर्सिस्टेन्सि तथा ल्याप्सको समेत सर्तहरु राखेर गरिएको हुन्छ जसमा आफु अन्तर्गतको बीमित पोर्टफोलियोको तोकिएको भन्दा वढी ल्याप्स भएमा उसले पाउने इन्सेन्टिभ पनि सोही बमोजिम कमि हुन जाने व्यवस्था गरिएको हुन्छ ।

व्यवसायिक पेशाहरुमा विश्व भरी नै सामान्यतया पेशागत अनुभव, क्षमता, ज्ञान र सम्वन्धित विषयको अध्ययन अनुसारको सीमा र सो बमोजिमको जिम्मेवारी र कार्यसम्पादनको अभ्यास भएको पाइन्छ । नेपालमा पनि सोही बमोजिम केही पेशाहरु जस्तै लेखापरीक्षक , वकिल, ठेकेदार, सर्भेयर आदि कार्यको लागी अध्ययन, अनुभव अनुसार श्रेणीगत व्यवस्था, सीमा र सोही अनुसारको जिम्मेवारी प्रदान गर्ने गरिएको पाइन्छ । जुन सुकै पेशामा पनि ज्ञान, क्षमता र अनुभवको आधारमा क्रमशः सीमा र जिम्मेवारी थप गर्दै जान सकेमा मात्र व्यवसायिक कार्यसम्पादन गुणस्तरीय हुने कुरा रहन्छ ।

बीमा र यसका योजनाहरु अतिनै टेक्निकल विषय भएको, यसको विक्री कला पनि अन्य प्रोडक्ट भन्दा कठिन श्रेणीमा पर्ने, ग्राहकले पेश गरेको बीमा प्रस्ताव फाराममा गरिने जोखिमांकनको प्रथम जिम्मेवारी अभिकर्ताको नै भएको अवस्थामा अभिकर्ताको व्यवसायिक ज्ञान, क्षमता र अनुभव अनुसार श्रेणीगत जिम्मेवारी गर्न सके बीमा क्षेत्रमा देखिएका खराव नियतका घटनाहरु लाई निरुत्साहन गर्न मद्दत पुग्ने छ । लाइसेन्स प्राप्त नयाँ अभिकर्ता र वर्षौ देखी यसै पेशामा उच्च शिक्षा, अनुभव र ज्ञान प्राप्त गरेका अभिकर्ताहरुको बीमा गर्ने सीमामा फरक नहुनुले पनि जोखिमांकन , व्यवसायिकता र ग्राहक सेवा फरक पर्नुको साथै गलत नियत राख्नेहरुले सजिलै ठुलो जोखिममा प्रवेश र सहज पहुच पाउने अवस्था छ । नेपालमा पनि केही जीवन बीमा कम्पनीहरुले आन्तरिक रुपमा नयां र अनुभवी तथा प्रविधी मैत्री अभिकर्ता अनुसार क्रमश फरक जोखिमांकनको सीमा तोकेर जोखिम स्विकार गर्ने उत्कृष्ट अभ्यास गरेको पनि पाइन्छ।

अन्त्यमा,यस पेशालाई अझ दक्ष, मर्यादित, सम्मानित र व्यवसायिक वनाउदै जानु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरियतामा ध्यान दिनु पर्ने समय आएको  छ । कम्पनीले संचालन गर्ने अभिकर्ताको तालिमको स्तरियता, गुणस्तर र विषय वस्तुको ज्ञानको सम्वन्धि विषयमा एकरुपता कायम गर्न व्यवहारिक परीक्षण प्रणालीको आश्यकता देखिन्छ ।

(पौडेल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया