NIMB Header 2
Nepal Life

तनहुँ जलविद्युत् आयोजना ७५ प्रतिशत सम्पन्न, बाँध र सुरुङ निर्माण तीव्र गतिमा

NMB Bank
  • BFIS News
  • 2026 May 02 12:16
तनहुँ जलविद्युत् आयोजना ७५ प्रतिशत सम्पन्न, बाँध र सुरुङ निर्माण तीव्र गतिमा
United Ajod

दमौली, तनहुँ।  तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना समग्रमा ७५ प्रतिशत प्रगति हासिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

आयोजनाअन्तर्गत बाँध, सुरुङ, विद्युत्गृह तथा प्रसारण लाइन निर्माणका विभिन्न खण्डमा काम तीव्र रूपमा अघि बढिरहेको जनाइएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजना तीनवटा मुख्य प्याकेजमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत बाँध तथा हेडवर्क्स निर्माण, दोस्रो प्याकेजअन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह र सम्बन्धित उपकरण जडान, तथा तेस्रो प्याकेजअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।

पहिलो प्याकेजअन्तर्गत सोङ्दा कालिका संयुक्त उपक्रमले बाँधसम्बन्धी संरचनाहरू निर्माण गरिरहेको छ, जसमा हालसम्म ५७ प्रतिशत प्रगति भएको छ। यसअन्तर्गत पहुँच सडक निर्माण, डाँडा कटान, सेती नदीको बहाव व्यवस्थापनका लागि अस्थायी बाँध र दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेको छ। सेती नदीलाई २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो भने २०८१ जेठसम्म अस्थायी बाँध निर्माण सम्पन्न भएको छ। त्यसपछि मुख्य बाँध निर्माणका लागि आवश्यक पूर्वाधार तयार भई २०८१ चैत ७ गतेदेखि कङ्क्रिटिङ कार्य सुरु गरिएको छ।

दोस्रो प्याकेजअन्तर्गत सिनो हाइड्रो कर्पोरेसन (चीन) ले विद्युत्गृह र भूमिगत संरचनाहरू निर्माण गरिरहेको छ। यस खण्डमा ७६ प्रतिशत प्रगति भएको छ। भूमिगत संरचनाहरूका लागि आवश्यक खन्ने कार्य सम्पन्न भइसकेको छ भने विद्युत्गृह, केबल सुरुङ, सर्ज ट्याङ्क र टेलरेसजस्ता संरचनाहरूमा मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ। जलाशयबाट पानी लैजाने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य अन्तिम चरणमा पुगेको छ, जहाँ १४१८.७५ मिटरमध्ये १४०७.७५ मिटर सम्पन्न भइसकेको छ।

तेस्रो प्याकेजअन्तर्गत भारतको केइसी इन्टरनेसनल लिमिटेडले दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ। ३३ किलोमिटर लामो यस लाइनका लागि आवश्यक ९४ वटा टावरमध्ये ७८ वटाको जग निर्माण सम्पन्न भएको छ। यस प्याकेजमा हालसम्म ७७ प्रतिशत प्रगति भएको छ। प्रसारण लाइनको मार्गाधिकारभित्र पर्ने वन क्षेत्रका रुख हटाउन सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको छ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, युरोपियन लगानी बैंक तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया