NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा १७.७% गिरावट, लागत वृद्धि र ऊर्जा संकट मुख्य कारण

IME LIFE
  • BFIS News
  • 2026 May 06 11:16
रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा १७.७% गिरावट, लागत वृद्धि र ऊर्जा संकट मुख्य कारण
United Ajod

काठमाडौं । नेपालको ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (RSML) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानीमा सामान्य वृद्धि भए पनि नाफामा उल्लेखनीय गिरावट आएको देखिएको छ।

Nepal Life
NIMB

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा रहेको ७ अर्ब ३९ करोड रुपैयाँको तुलनामा झिनो वृद्धि हो। तर उत्पादन लागतमा वृद्धि हुँदा आम्दानी बढे पनि त्यसको सकारात्मक प्रभाव नाफामा पर्न सकेन।

खुद नाफातर्फ भने कम्पनीले गिरावट भोगेको छ। गत आर्थिक वर्षको चैतसम्म ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २६ करोड ६८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ, जुन १७.७ प्रतिशतले कम हो।

उत्पादन लागत ६ अर्ब ५१ करोड रुपैयाँसम्म पुगेपछि कम्पनीको कुल मुनाफा पनि खुम्चिएको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड रुपैयाँ रहेको कुल मुनाफा घटेर ९४ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले नाफा घट्नुका पछाडि विभिन्न संरचनात्मक तथा बाह्य कारणहरू औंल्याएको छ। नेपाल विद्युत प्राधिकरणबाट भइरहेको अघोषित लोडसेडिङका कारण उत्पादनमा प्रत्यक्ष असर परेको जनाएको छ। त्यस्तै, डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलसम्बन्धी विवाद तथा जरिवाना सम्बन्धी मुद्दा पाटन उच्च अदालतमा विचाराधीन रहनुले पनि व्यवसायिक अनिश्चितता बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने नीतिगत परिवर्तन र अमेरिकी डलरको विनिमय दरमा आउने उतारचढावले कच्चा पदार्थको मूल्यमा प्रभाव पार्दा उत्पादन लागत अझै बढेको कम्पनीको भनाइ छ।

यस्तै, कम्पनीको वित्तीय खर्च २२ करोड १० लाख रुपैयाँ पुगेको छ, जसले नाफामा थप दबाब सिर्जना गरेको देखिन्छ। प्रतिकूल राजनीतिक तथा आर्थिक वातावरणका बाबजुद कम्पनीले आन्तरिक बजारमा व्यापारलाई निरन्तरता दिएको जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५५ करोड रुपैयाँ रहेकोले वित्तीय आधार भने अझै बलियो रहेको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया