बैंकिङ प्रणालीमा निक्षेप र कर्जा दुवै वृद्धि, राष्ट्र बैंकद्वारा ३५ हजार अर्बभन्दा बढी तरलता प्रशोचन
- BFIS News
- 2026 May 11 18:49
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप तथा निजी क्षेत्रतर्फको कर्जा दुवै वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार चैत मसान्तसम्म बैंकिङ प्रणालीमा निक्षेप ८.५ प्रतिशतले बढेर ७८ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा निक्षेप ६ खर्ब १५ अर्ब ६७ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप ५.७ प्रतिशत अर्थात् ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने निक्षेप वृद्धि दर १५.५ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्म कुल निक्षेपमध्ये बचत निक्षेपको हिस्सा सबैभन्दा बढी ४५.३ प्रतिशत रहेको छ । मुद्दती निक्षेप ३८.९ प्रतिशत तथा चल्ती निक्षेप ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा बचत निक्षेपको हिस्सा बढ्दा मुद्दती निक्षेपको हिस्सा घटेको देखिएको छ ।
यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.४ प्रतिशत थियो ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि समीक्षा अवधिमा ५.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँले वृद्धि भई ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि दर ६.९ प्रतिशत रहेको छ ।
कुल निजी क्षेत्र कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ६३.३ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.७ प्रतिशत कर्जा गएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.८ प्रतिशत, विकास बैंकहरूको ५.१ प्रतिशत तथा वित्त कम्पनीहरूको २.६ प्रतिशतले बढेको छ ।
धितोको आधारमा हेर्दा बैंकहरूको कुल कर्जामध्ये ६३.४ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ भने चालु सम्पत्ति सुरक्षणमा आधारित कर्जाको हिस्सा १४.९ प्रतिशत रहेको छ ।
क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रतर्फको कर्जा ११.७ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रमा १०.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १०.१ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ६.५ प्रतिशतले वृद्धि भएको छ । वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत तथा सेवा उद्योग क्षेत्रमा ३.१ प्रतिशतले बढ्दा कृषि क्षेत्रतर्फको कर्जा भने २.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कर्जाका प्रकारमध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशतले बढेको छ । त्यसैगरी मार्जिन प्रकृतिको कर्जा १३.४ प्रतिशत, हायर पर्चेज कर्जा ८.५ प्रतिशत तथा रियल स्टेट कर्जा ४.६ प्रतिशतले वृद्धि भएको छ ।
तरलता व्यवस्थापनतर्फ राष्ट्र बैंकले समीक्षा अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत ३५ हजार ४०९ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको जनाएको छ । यस अवधिमा कारोबारमा आधारित तरलता प्रशोचनपछि खुद ३५ हजार ३९६ अर्ब ७५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्ष यही अवधिमा खुद १७ हजार १८३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो ।
यसैबीच, राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब २७ करोड खुद खरिद गरी ७५७ अर्ब ७७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड अमेरिकी डलर खरिद गरी ४८४ अर्ब ७१ करोड रुपैयाँ प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब बिक्री गरी ४३१ अर्ब ६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)




.jpg)




प्रतिक्रिया