लस एन्जलसमा भीषण ब्रस फायर: हजारौँलाई घर छोड्न आदेश
- BFIS News
- 2026 May 19 13:55
लस एन्जलस, जेठ ५ — अमेरिकाको क्यालिफोर्निया राज्यअन्तर्गत लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दा आफ्नो घर छोड्न बाध्य भएका छन्। आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत छन् भने विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरिएको छ।
डाउनटाउन लस एन्जलसबाट करिब ४० माइल (६० किलोमिटर) उत्तरपश्चिममा रहेको सिमी भ्यालीमा सोमबार बिहान आगलागी सुरु भएको थियो। करिब एक लाख २५ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकाय उच्च सतर्कतामा पुगेका छन्।
क्यालिफोर्नियाको अग्निनियन्त्रण निकाय क्यालफायरका अनुसार सोमबार साँझसम्म प्रतिघण्टा ३५ माइल (५६ किलोमिटर) गतिमा चलेको तीव्र हावाले आगो छिटो फैलिन सहयोग गरेको थियो। आगलागी छोटो समयमा नै करिब १,३६४ एकड (५५२ हेक्टर) क्षेत्रफलमा विस्तार भएको जनाइएको छ।
आगलागीका कारण कम्तीमा एक घरमा क्षति पुगेको पुष्टि भएको छ। हालसम्म मानवीय क्षति वा घाइते भएको कुनै विवरण सार्वजनिक भएको छैन। तर आगो थप बस्ती क्षेत्रमा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सिमी भ्याली र नजिकैको थाउजेन्ड ओक्सका केही भागमा तत्काल निकासी आदेश जारी गरिएको छ।
त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा निकासी चेतावनी जारी गरिएको छ। स्थानीय प्रशासनले बासिन्दालाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न, आधिकारिक सूचनामा ध्यान दिन तथा अवस्था बिग्रिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
लस एन्जलसकी मेयर करेन बासले पत्रकार सम्मेलनमार्फत प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ। उहाँका अनुसार तत्काल घर छोड्न आवश्यक नभए पनि परिस्थिती जटिल बन्न सक्ने भएकाले पूर्वतयारीमा रहनुपर्ने बताइएको छ।
मेयर बासले हालको अवस्थालाई मध्यनजर गर्दै आगो लस एन्जलस सहरसम्म पुग्ने सम्भावना कम रहेको बताउनुभएको छ। यद्यपि मौसम र हावाको अवस्था परिवर्तन हुन सक्ने भएकाले सुरक्षा निकायहरू निरन्तर निगरानी र नियन्त्रण प्रयासमा छन्।
सोमबार साँझ हावाको गति केही कम भए पनि क्यालफायरले आगो नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाएको छ। उच्च तापक्रम, कम आर्द्रता तथा जटिल भू–भागका कारण आगो निभाउने प्रयासमा कठिनाइ भइरहेको अधिकारीहरूको भनाइ छ।
अमेरिकाको पश्चिमी क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाडीजन्य आगलागीका घटना बढ्दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष भीषण आगलागीको उच्च जोखिममा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया