कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने
- BFIS News
- 2026 May 22 08:43
काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताबाट आवेदन लिन सुरु गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरेको हो।
यसअघि १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई तथा ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिएको थियो। साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ छिटोमा जेठ १३ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २२ गते बन्द हुने जनाइएको छ।
कम्पनीको आईपीओलाई CARE Ratings Nepal ले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने बताइएको छ।
कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि गर्न सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया