NIMB Header 2
Nepal Life

स्वास्थ्य बिमा पुनर्संरचना गरिने, प्रणाली दिगो बनाउन बजेटबाट सुधार ल्याइने अर्थमन्त्रीको घोषणा

IME LIFE
  • BFIS News
  • 2026 May 22 15:38
स्वास्थ्य बिमा पुनर्संरचना गरिने, प्रणाली दिगो बनाउन बजेटबाट सुधार ल्याइने अर्थमन्त्रीको घोषणा
United Ajod

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले वर्तमान मोडालिटीमा कार्यक्रम दीगो रूपमा सञ्चालन गर्न नसकिने अवस्था देखिएको उल्लेख गरे ।

 

Nepal Life
NIMB

उनका अनुसार गत वर्ष स्वास्थ्य बिमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि २५–३० अर्ब रुपैयाँसम्मको दाबी खर्च आएको छ, जसका कारण सरकारलाई भुक्तानी व्यवस्थापनमा कठिनाइ भएको छ । निजी अस्पतालहरूमा अनावश्यक परीक्षण र दुरुपयोग बढेको भन्दै उनले कार्यक्रमलाई ‘राइट साइज’ गर्नुपर्ने आवश्यकता औँल्याए ।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बिमालाई तीन तहमा पुनर्संरचना गर्ने संकेत पनि दिएका छन् । उनका अनुसार विपन्न वर्गलाई सरकारी सहायता, मध्यम वर्गलाई योगदानमा आधारित सेवा तथा दुरुपयोग नियन्त्रणसहित दीगो प्रणाली विकास गर्ने योजना अघि सारिएको छ ।

चुरोट र मदिराजस्ता वस्तुमा लगाइने करको केही हिस्सा स्वास्थ्य बिमा कोषमा राख्ने विषयमा पनि सरकार सकारात्मक रहेको उनले बताएका छन् । आधारभूत स्वास्थ्य सेवा विपन्न नागरिकको अधिकार भएकाले त्यसलाई सुरक्षित राख्दै प्रणालीलाई वित्तीय रूपमा दिगो बनाउने सरकारको उद्देश्य रहेको उनको भनाइ छ ।

यसैबीच उनले बुढीगण्डकी जलविद्युत आयोजना बारे पनि टिप्पणी गर्दै हालको मोडालिटीमा आयोजना अगाडि बढाउन कठिन रहेको बताएका छन् । हालको लागत प्रति मेगावाट करिब ५० करोड रुपैयाँ पुग्न सक्ने र कुल लागत ६ खर्ब रुपैयाँसम्म जान सक्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

सरकारले यसअघि वितरण गरिएको करिब ४५ अर्ब रुपैयाँ क्षतिपूर्तिलाई सरकारी इक्विटीका रूपमा गणना गर्दै नयाँ लगानीकर्ता भित्राउने विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए ।

यसैगरी आगामी बजेटमा खानेपानी आयोजनामा सम्पन्न हुनसक्ने योजनालाई प्राथमिकता दिइने तथा आवश्यक परे थप ८–१० अर्ब रुपैयाँसम्म विनियोजन गर्न सकिने संकेत उनले गरेका छन् ।

राम–जानकी मार्गलाई धार्मिक तथा पर्यटकीय पूर्वाधारसँग जोडेर विकास गर्ने योजना पनि अघि सारिएको छ । जनकपुरलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न भारतसँग संवाद भइरहेको र जनकपुर–अयोध्या सम्पर्क विस्तारका लागि सडक, होटल, विमानस्थल, खानेपानी तथा दक्ष जनशक्ति विकासमा सरकार केन्द्रित रहेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया