NIMB Header 2
Nepal Life

फास्ट ट्रयाक बीमामा अनियमितता, ६ निर्जीवन बीमा कम्पनीलाई कारबाही

IME LIFE
  • BFIS News
  • 2026 May 23 13:32
फास्ट ट्रयाक बीमामा अनियमितता, ६ निर्जीवन बीमा कम्पनीलाई कारबाही
United Ajod

काठमाडौं । काठमाडौं–तराई मधेश फास्ट ट्रयाक आयोजनाको बीमालेख जारी गर्दा निर्धारित दरभन्दा अत्यन्तै कम बीमाशुल्क लिएको पाइएपछि नेपाल बीमा प्राधिकरण ले ६ वटा निर्जीवन बीमा कम्पनीविरुद्ध कारबाही गरेको छ ।

 

Nepal Life
NIMB

प्राधिकरणले हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स लाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी का अनुसार, गत आइतबार बसेको सञ्चालक समितिको बैठकले जरिवानासँगै सम्बन्धित कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पुनः यस्तो गल्ती नदोहोर्‍याउन लिखित चेतावनी समेत दिएको छ ।

प्राधिकरणका अनुसार, काठमाडौं–तराई मधेश फास्ट ट्रयाक आयोजना अन्तर्गत नेपाली सेना बीमित हुने ‘कन्ट्र्याक्टर अल रिस्क’ र ‘प्रोफेशनल इन्डेम्निटी’ बीमालेख जारी गर्दा तोकिएको न्यूनतम बीमाशुल्क दरभन्दा निकै कम शुल्कमा बीमा गरिएको थियो ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । अत्यन्त कम शुल्कमा बीमालेख जारी गर्दा आयोजना क्षेत्रमा सम्भावित क्षतिको जोखिम पर्याप्त रूपमा सुरक्षित नहुने अवस्था देखिएको भन्दै आयोगले अनुसन्धानका लागि प्राधिकरणलाई निर्देशन दिएको थियो ।

त्यसपछि प्राधिकरणका निर्देशक ध्रुव तिमल्सिना को नेतृत्वमा गठित कार्यदलले अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनका आधारमा आयोगले नियामकीय कारबाही गर्न निर्देशन दिएपछि प्राधिकरणले सम्बन्धित बीमा कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरुद्ध कारबाहीको निर्णय गरेको हो ।

अनुसन्धानका क्रममा ती कम्पनीहरूले ‘मिनिमम प्रिमियम रेट फर ट्यारिफ’ तथा ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ बिजनेस’ सम्बन्धी निर्देशिका उल्लंघन गरेको पाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चेतावनी दिँदै भविष्यमा यस्ता गल्ती दोहोरिए सम्बन्धित प्रमुख कार्यकारी अधिकृतलाई निलम्बनसम्मको कारबाही हुन सक्ने संकेत समेत गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया