Nepal Life

साहस ऊर्जाको नाफामा वृद्धि, ३४१ मेगावाटको नयाँ आयोजना अघि बढाउँदै

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 24 14:40
साहस ऊर्जाको नाफामा वृद्धि, ३४१ मेगावाटको नयाँ आयोजना अघि बढाउँदै

काठमाडौं । साहस ऊर्जा लिमिटेड ले ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना सञ्चालनमा ल्याएपछि आम्दानी र नाफामा उल्लेख्य वृद्धि गरेको जनाएको छ।

Nepal Life
NIMB

कम्पनीले अब ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना विकासको तयारीलाई अघि बढाएको छ।

वि.सं. २०७० माघ १९ गते दर्ता भएको कम्पनीले २०७९ फागुन १७ गतेदेखि सोलुखोला जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो। उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विद्युत् बिक्रीबाट २ अर्ब ४४ करोड रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ मा यो रकम बढेर २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। खुद नाफा पनि अघिल्लो आर्थिक वर्षको ४२ करोड ३ लाख रुपैयाँबाट बढेर ८९ करोड ५१ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणमा शेयर निष्कासनपछि कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो। संस्थापक शेयरधनीहरूको ‘लकिङ पिरियड’ समाप्त भएपछि शेयर कारोबार सर्वसाधारण सरह खुला भएको छ।

ठूला जलविद्युत् आयोजना निर्माणका लागि कम्पनीले बैंक तथा वित्तीय संस्थामार्फत ऋण लगानी जुटाएको छ। हाल कम्पनीको दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ।

कम्पनीले जलविद्युत्बाहेक अन्य क्षेत्रमा पनि लगानी विस्तार गरेको जनाएको छ। सहायक कम्पनीमार्फत कृषि क्षेत्रमा लगानी गरिरहेको कम्पनीले बूढीगण्डकी आयोजना विकासका लागि टाइम्स इनर्जी प्रालिमा बहुमत शेयर स्वामित्व कायम गरेको छ।

कम्पनीले १२औँ वार्षिक साधारण सभाका लागि २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ। यसअघि पनि कम्पनीले बोनस शेयर वितरण गरेको थियो।

सात सदस्यीय सञ्चालक समितिको नेतृत्व हिमप्रसाद पाठकले गरिरहेका छन्। समितिमा सुशील थापा, मुक्तिराम पाण्डे, महेन्द्रकुमार गिरी, आङ गेलु शेर्पा, गरिमा अधिकारी तथा स्वतन्त्र सञ्चालक विभूति ओझा रहेका छन्।

कम्पनीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउने तयारी तीव्र बनाएको जनाएको छ। आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको र ऋण लगानीका लागि बैंकहरूसँग सहमति भएको जानकारी दिइएको छ। साथै, काठमाडौंको हात्तीसार क्षेत्रमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया