गोकर्णेश्वरका केही क्षेत्रमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
- BFIS News
- 2026 May 26 11:37
काठमाडौं । गोकर्णेश्वर नगरपालिका का विभिन्न वडामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ।
नगरपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु देखिएको हो। संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रहेका पन्छी तथा सम्बन्धित सामग्री नष्ट गर्ने कार्य सुरु गरिएको जनाएको छ।
नगरपालिकाका अनुसार संक्रमित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा तथा दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र क्षेत्रलाई निसंक्रमण गर्ने काम भइरहेको छ।
रोग थप फैलिन नदिन पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण प्रक्रिया अपनाउन निर्देशन दिइएको छ।
यससँगै एक फार्ममा काम गर्ने व्यक्तिलाई अर्को फार्ममा जान रोक लगाइएको छ भने प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न भनिएको छ। फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न तथा खोरभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न कृषकलाई आग्रह गरिएको छ।
नगरपालिकाले फार्म क्षेत्रमा कुकुर, बिरालो तथा मुसा जस्ता जनावरको प्रवेश नियन्त्रण गर्न र मरेका पन्छी सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ।
पन्छीजन्य उत्पादन ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य लिनुपर्ने तथा मासु र अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ। ठूलो संख्यामा पन्छी बिरामी परेको वा मरेको अवस्थामा तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन पनि नगरपालिकाले अनुरोध गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया