एक वर्षमै ८ लाखभन्दा बढी नयाँ डिम्याट खाता, शेयर बजारमा नेपालीको सहभागिता बढ्दो
- BFIS News
- 2026 May 29 13:06
काठमाडौं । नेपालमा शेयर बजारमा सहभागी हुने लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढेको छ।
पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ७८ लाख ४६ हजार ७०३ पुगेको छ, जुन नेपालको कुल जनसंख्याको करिब २६ प्रतिशत बराबर हो।
अघिल्लो वर्ष डिम्याट खाताको संख्या ६९ लाख ९७ हजार रहेकोमा एक वर्षको अवधिमा करिब ८ लाख ५० हजार नयाँ लगानीकर्ता थपिएका छन्। यसले पछिल्ला वर्षहरूमा पूँजी बजारप्रति आम नागरिकको आकर्षण बढ्दै गएको संकेत गरेको छ।
अनलाइनमार्फत शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या पनि वृद्धि भएको छ। हाल ३१ लाख ८२ हजारभन्दा बढी व्यक्तिले अनलाइन कारोबार सुविधा लिएका छन्। गत वर्ष यस्तो सुविधा प्रयोग गर्नेको संख्या २५ लाख ४९ हजार थियो। कुल जनसंख्याको आधारमा हेर्दा करिब १० प्रतिशतभन्दा बढी नेपाली प्रत्यक्ष रूपमा अनलाइन शेयर कारोबार प्रणालीमा आबद्ध भएका छन्।
पूँजी बजारसँग सम्बन्धित सेवा प्रदायक संस्थाको संख्या पनि विस्तार भएको छ। हाल १२३ वटा निक्षेप सदस्य (डीपी) तथा १२३ वटा सीकेवाइसी एजेन्ट सञ्चालनमा रहेका छन्। त्यस्तै, नेपाल स्टक एक्सचेन्जमा हाल २७६ वटा कम्पनी सूचीकृत छन्। बजारमा ६५ वटा म्युचुअल फन्ड तथा ८२ वटा बन्ड र डिबेन्चर पनि कारोबारमा रहेका छन्।
शेयर राफसाफ तथा अभिलेख व्यवस्थापनका लागि ९२ वटा राफसाफ सदस्य र ४६ वटा शेयर रजिष्ट्रार कार्यरत छन्। प्राथमिक शेयर निष्कासन (आईपीओ) आवेदनका लागि प्रयोग हुने ‘मेरो शेयर’ प्रणालीमा ६९ लाख २५ हजार ४४७ प्रयोगकर्ता आबद्ध रहेका छन्। तीमध्ये ५० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ।
हाल ४३ वटा बैंक तथा वित्तीय संस्था सी–आस्वा प्रणालीमा आबद्ध छन्। यसमार्फत लगानीकर्ताले बैंक खातामार्फत अनलाइनबाटै आईपीओ आवेदन दिन सक्ने व्यवस्था छ।
नेपालको पूँजी बजारमा हाल १८ अर्ब २५ करोडभन्दा बढी कित्ता शेयर सूचीकृत रहेका छन्। तीमध्ये १७ अर्ब ७७ करोडभन्दा बढी कित्ता शेयर डिम्याट प्रणालीमा रूपान्तरण भइसकेको छ। यसले कागजी शेयर प्रमाणपत्रको प्रयोग घटाउँदै कारोबारलाई डिजिटल र सुरक्षित बनाएको छ।
विश्लेषकहरूका अनुसार प्रविधिको पहुँच विस्तार, अनलाइन प्रणालीको विकास तथा साना रकमबाट पनि लगानी गर्न सकिने व्यवस्थाले शेयर बजारमा सर्वसाधारणको सहभागिता बढाउन सहयोग पुगेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया