निजामति कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
- BFIS News
- 2026 May 29 18:28
सरकारले निजामति कर्मचारीको तलब २०८३ साउन १ गतेदेखि लागू हुने गरी २१ प्रतिशतले वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गर्नुभएको हो।
उहाँका अनुसार कर्मचारीले हाल प्राप्त गर्दै आएको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको छ। साथै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्ने उद्देश्यले नयाँ तलबमानको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।
यस व्यवस्थासँगै हाल खाइपाइ आएको पारिश्रमिकमा कुल २१ प्रतिशत खुद वृद्धि हुने भएको छ। ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब ४० हजारदेखि एक लाख रुपियाँभन्दा माथिसम्म पुग्ने जनाइएको छ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निजामति कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्नुभएको थियो। त्यसबेला नेपाली सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवक कर्मचारीलाई समेत महँगी भत्ता कायम गरिएको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा भने कर्मचारीको तलब वृद्धि गरिएको थिएन। सो वर्ष तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महँगी भत्ता ३ हजारबाट बढाएर ५ हजार रुपियाँ पुर्याउने निर्णय गर्नुभएको थियो।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै करार सेवामा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा सरकारले कर्मचारीको तलबमान मासिक २ हजार रुपियाँले वृद्धि गरेको थियो। त्यसबेला पनि सेवा सुविधालाई समयसापेक्ष बनाउने भन्दै यस्तो घोषणा गरिएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया