अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्ने
- BFIS News
- 2026 Jun 03 10:05
काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
खुला बजार कारोबारअन्तर्गत ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन उपकरणका लागि जेठ २० गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन उपकरण निष्कासन गरिनेछ भने साँवा तथा ब्याज साउन १३ गते भुक्तानी गरिने कार्यक्रम छ। निक्षेपमा प्रदान गरिने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले ५ करोड रुपैयाँले भाग जाने विभिन्न परिमाणमा आवेदन पेश गर्न सक्नेछन्।
राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र यस बोलकबोल प्रक्रियामा भाग लिन पाउनेछन्। सहभागी संस्थाले आफूले लगानी गर्न चाहेको रकम र ब्याजदर दशमलवपछि चार अंकसम्म उल्लेख गरी आवेदन दिनुपर्नेछ।
प्राप्त आवेदनमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै ३० अर्ब रुपैयाँ बराबरको निक्षेप बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। एउटै ब्याजदरमा माग गरिएको रकम निष्कासन रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा रकम वितरण गरिनेछ।
सूचनाअनुसार खुला बजार कारोबार सञ्चालन समितिलाई आवश्यकताअनुसार आवेदन पूर्ण वा आंशिक रूपमा स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार रहनेछ। स्वीकृत भएका संस्थाको खाताबाट रकम कट्टा गरी राष्ट्र बैंकले छुट्टै निक्षेप खातामा जम्मा गर्नेछ। अवधि समाप्त भएपछि साँवा र ब्याज सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खातामा फिर्ता गरिने व्यवस्था छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न नपाइने स्पष्ट गरेको छ। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातको गणनामा भने यसलाई समावेश गर्न सकिनेछ।
हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत निक्षेप संकलन उपकरण प्रयोग गरी बजारबाट रकम तान्दै आएको छ। यस्तो उपकरणलाई अल्पकालीन तरलता व्यवस्थापन तथा ब्याजदरमा स्थायित्व कायम गर्न प्रयोग गरिने मौद्रिक साधनका रूपमा हेरिन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)








प्रतिक्रिया