NIMB Header 2
Nepal Life

विश्व वातावरण दिवस २०२६ जलवायु संकटमा केन्द्रित, बाकुमा मनाइँदै

IME LIFE
  • BFIS News
  • 2026 Jun 05 07:11
विश्व वातावरण दिवस २०२६ जलवायु संकटमा केन्द्रित, बाकुमा मनाइँदै
United Ajod

काठमाडौं । विश्व वातावरण दिवस २०२६ जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई केन्द्रमा राखेर मनाइने भएको छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले यस वर्षको विश्वव्यापी अभियानमार्फत पृथ्वीले दिइरहेका चेतावनीका संकेतहरूलाई गम्भीरतापूर्वक लिन र जलवायु संकट न्यूनीकरणका लागि तीव्र तथा प्रभावकारी कदम चाल्न विश्व समुदायलाई आह्वान गरेको छ।

Nepal Life
NIMB

बढ्दो समुद्री सतह, विनाशकारी डढेलो, अत्यधिक गर्मी, हिमनदी पग्लिने क्रम तथा चरम मौसमी घटनाहरूले पृथ्वी जलवायु संकटको गम्भीर चरणमा पुगेको संकेत गरिरहेका छन्। वैज्ञानिकहरूले लामो समयदेखि औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने चेतावनी दिँदै आएका भए पनि विश्व त्यस सीमातर्फ अघि बढिरहेको छ।

यद्यपि चुनौतीसँगै सकारात्मक परिवर्तनका संकेतहरू पनि देखिन थालेका छन्। विश्वका विभिन्न भागमा सौर्य ऊर्जा प्रणालीको विस्तार, पवन ऊर्जाको विकास, हरित सहरी पूर्वाधार निर्माण, वन पुनःस्थापना तथा स्वच्छ प्रविधिको प्रयोग तीव्र बन्दै गएको छ। यूएनईपीका अनुसार अब प्रश्न परिवर्तन आउँछ कि आउँदैन भन्ने होइन, त्यसलाई कति छिटो र प्रभावकारी रूपमा मार्गनिर्देशन गर्न सकिन्छ भन्ने हो।

यस वर्षको विश्व वातावरण दिवसको विश्वव्यापी समारोह जुन ५ मा अजरबैजानको राजधानी बाकुमा आयोजना हुनेछ। ऐतिहासिक सिल्क रोडको पूर्व–पश्चिम संगमस्थलका रूपमा परिचित अजरबैजान प्राकृतिक विविधताले सम्पन्न राष्ट्र मानिन्छ। उपोष्णकटिबन्धीय वनदेखि उच्च हिमाली पारिस्थितिक प्रणालीसम्म फैलिएको यसको भौगोलिक संरचनाले समृद्ध जैविक विविधता सिर्जना गरेको छ।

अजरबैजानले हरित विकास र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिँदै सन् १९९० को तुलनामा सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जन ४० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ। साथै सन् २०३० सम्म कुल ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ३० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। यसका लागि २३० मेगावाट क्षमताको गरादाघ सौर्य ऊर्जा आयोजना तथा २४० मेगावाट क्षमताको खिजी–अब्शेरोन पवन ऊर्जा परियोजनासहित एक गिगावाटभन्दा बढी क्षमताका थप आयोजनाहरू विकासको चरणमा रहेका छन्।

राजधानी बाकुमा न्यून तथा शून्य उत्सर्जन बस सेवा, विद्युतीय सवारी साधनका पूर्वाधार र स्मार्ट सिटी अवधारणामार्फत सहरी दिगोपनलाई प्रोत्साहन गरिएको छ। गराबाघ र पूर्वी जाङ्गेजुर क्षेत्रलाई ‘शून्य उत्सर्जन क्षेत्र’का रूपमा विकास गर्ने अभियान पनि अघि बढाइएको छ, जहाँ नवीकरणीय ऊर्जा, पारिस्थितिक प्रणाली पुनःस्थापना तथा दिगो विकासलाई एकीकृत गरिएको छ।

प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा पनि अजरबैजानले महत्वपूर्ण कदम चालेको छ। सन् २०१९ देखि लागू गरिएको कार्ययोजनाअन्तर्गत १५ माइक्रोन वा सोभन्दा कम मोटाइका एकपटक प्रयोग गरिने प्लास्टिक तथा पोलिथिन झोलाको आयात, उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाइएको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ को आयोजक राष्ट्रका रूपमा अजरबैजानले जलवायु वित्त, कार्बन बजार तथा ऊर्जा रूपान्तरण, जैविक विविधता, कृषि र जल व्यवस्थापनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय पहलहरूलाई अघि बढाएको थियो। सोही निरन्तरतामा विश्व वातावरण दिवस २०२६ का लागि “प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ।

प्राकृतिक सम्पदा संरक्षणतर्फ पनि अजरबैजानले उल्लेखनीय प्रगति हासिल गरेको छ। देशको १० प्रतिशतभन्दा बढी भूभाग संरक्षित क्षेत्रअन्तर्गत ल्याइएको छ। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हिर्कानियन वन संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ, जहाँ तीन हजारभन्दा बढी वनस्पति प्रजाति र विविध वन्यजन्तु पाइन्छन्। विश्वकै सबैभन्दा ठूलो बन्द जलाशय मानिने क्यास्पियन सागरका समुद्री तथा तटीय पारिस्थितिक प्रणाली संरक्षणका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

विश्व वातावरण दिवस २०२६ ले जलवायु परिवर्तन र पारिस्थितिक प्रणालीको क्षयीकरणबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै प्रकृति संरक्षणलाई जलवायु समाधानको केन्द्रमा राख्नुपर्ने सन्देश दिने अपेक्षा गरिएको छ। विश्व समुदायलाई हरित, दिगो र जलवायु–मैत्री भविष्य निर्माणका लागि संयुक्त प्रयास गर्न यस अभियानले प्रेरित गर्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया