हुम्ला–बाजुरा सीमा विवादको प्रभाव मुगुसम्म, कर्णाली कोरिडोर बन्द हुँदा जनजीवन र पर्यटन प्रभावित
- BFIS News
- 2026 Jun 12 11:38
मुगु । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद समाधान हुन नसक्दा त्यसको प्रत्यक्ष असर छिमेकी जिल्ला मुगुमा समेत देखिन थालेको छ।
कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरिएपछि मुगुका स्थानीयवासी, विकास आयोजना तथा पर्यटन गतिविधि प्रभावित बनेका छन्।
बाजुराको हिमाली युवा क्लबले आफ्ना माग पूरा नभएको भन्दै कर्णाली कोरिडोर बन्दको कार्यक्रम जारी राखेपछि मुगुको सोरु र खत्याड गाउँपालिकाबाट हुने यातायात सेवा अवरुद्ध भएको छ। सडक बन्दका कारण खाद्यान्न, तरकारी तथा निर्माण सामग्री ढुवानीमा कठिनाइ उत्पन्न भएको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।
हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि आन्दोलन चर्किएको हो। यसअघि वैशाख ८ गते विभिन्न सरोकारवाला निकायबीच आन्दोलन २४ घण्टाका लागि स्थगित गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको आन्दोलनरत पक्षको आरोप छ।
आन्दोलनकारीहरूले स्थानीयमाथि भएका चोरी, सिकारी, लुटपाट तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको उपचार खर्च व्यवस्थापन गर्न माग गरेका छन्।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार सडक अवरोधका कारण अन्तरजिल्ला आवतजावतमा समस्या भएको छ भने विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानीसमेत प्रभावित बनेको छ। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा निर्माणाधीन आयोजनाका लागि आवश्यक हार्डवेयर तथा अन्य सामग्री आपूर्तिमा अवरोध उत्पन्न भएको उनले बताए।
कर्णाली कोरिडोर बन्द हुँदा बाजुरा र हुम्लामात्र नभई मुगुको जनजीवन र स्थानीय अर्थतन्त्रमा समेत असर परेको छ। रारा, मुगु तथा हुम्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि समस्यामा परेका छन्।
यता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले प्रहरी चौकी स्थापनासम्बन्धी विषयमा स्थानीयबीच विवाद उत्पन्न भएको स्वीकार गर्दै सडक बन्दबाट सर्वसाधारणलाई परेको असुविधालाई ध्यानमा राखेर समस्या समाधानका लागि पहल भइरहेको बताए। उनका अनुसार विवादसँग सम्बन्धित घटनाहरूको कानुनी प्रक्रिया अघि बढिरहेको र सडक सञ्चालनका लागि आवश्यक समन्वय जारी छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया