भ्युजको खेती र रगतको होली: "नेपाली ब्रो उर्फ कुमार थापा " प्रवृत्ति र रमिते राज्य संयन्त्र !
- आयुश बस्नेत
- 2026 Jun 14 15:32
काठमाडौं। समाजलाई मनोरञ्जन र सूचना दिने नाममा मौलाएको अस्वस्थ भाइरल ज्वरो अब केवल उच्छृङ्खलतामा मात्र सीमित रहेन, यसले क्रुर हत्याको रूप धारण गरिसकेको छ।
आफूलाई "नेपाली ब्रो" भनेर चिनाउने कुमार थापाद्वारा आफ्नै पत्नी ईश्वरी भुजेलको निर्मम हत्या यसैको पछिल्लो र सबैभन्दा भयानक दृष्टान्त हो। तर, के यो हत्यामा कुमार थापा मात्रै दोषी छन् त? पक्कै छैनन्। यो हत्यारा जन्माउने र हुर्काउने एउटा ठूलो गिरोह छ, जसलाई हाम्रो समाज 'युट्युबर' र 'कन्टेन्ट क्रिएटर' भनेर चिन्छ।
हत्याका पर्दापछाडिका मतियार: भ्युज र डलरका भोकाहरू ईश्वरी भुजेलको हत्या केवल एउटा आवेगमा भएको घटना होइन; यो त भ्युज, लाइक र डलरको दुर्व्यसनले उब्जाएको एउटा डिजिटल अपराधको पराकाष्ठा हो।
विगत केही वर्षदेखि कुमार थापा र उनको उच्छृङ्खलतालाई प्रवर्द्धन गर्ने, स्टुडियोमा बोलाएर अन्तर्वार्ता लिने, र घर-घरमा क्यामेरा तेर्साएर उनीहरूको अति निजी जीवनलाई छताछुल्ल पार्ने ती युट्युबर, मोडल र सञ्चारकर्मी भनाउँदाहरू यो हत्याका अप्रत्यक्ष मतियार हुन्।
उनीहरूले नै कुमार थापालाई सेलिब्रेटी को भ्रम दिए । उनका अराजक गतिविधिहरूलाई भाइरल कन्टेन्ट बनाएर डलरको खेती गरे। लाइक र भ्युजको लत यस्तो बसाइदिए कि, आफू सधैँ चर्चामा रहन मानिस जुनसुकै हद पार गर्न तयार भयो।
प्रमाणहरू आज पनि युट्युब र फेसबुकका भित्ताहरूमा छरपस्ट छन्। प्रश्न उठ्छ— अर्काको घर भत्काएर, मानसिक सन्तुलन गुमाउँदै गएका व्यक्तिहरूलाई उचालेर आफ्नो महल ठड्याउने ती डिजिटल व्यापारीहरूमाथि अनुसन्धान हुनु पर्छ कि पर्दैन?
डलरको महल र मृत्युको खाडल: कस्तो समाज बनाउँदैछौँ?
आज समाजमा एउटा डरलाग्दो चक्र चलेको छ। समाज भाँड्ने "नेपाली ब्रो"हरू जन्माइन्छन्, उनीहरूका निजी झगडा र गालीगलौज बेचेर युट्युबरहरू विलासी कार र महलमा रमाउँछन्। तर, जसलाई उचालेर सेलिब्रेटी बनाइएको हुन्छ, उनीहरू कि त मृत्युवरण गर्छन्, कि त जेलको चिसो छिँडीमा पुग्छन्।
यदि यस घटनामा कुमार थापालाई उचाल्ने र भड्काउने ती युट्युबरहरूलाई मतियार वा दुरुत्साहनकर्ताको रूपमा अनुसन्धानको दायरामा नल्याउने हो भने, यो शृङ्खला रोकिने छैन।
भोलि डलरको लोभमा फेरि अर्को 'नेपाली ब्रो' जन्माइनेछ र फेरि अर्की ईश्वरी, कुमारी, सीता वा रामहरू यस डिजिटल व्यापारको सिकार बन्नेछन्।
निरीह राज्य संयन्त्र र मौन बौद्धिक वर्ग
यति गम्भीर घटना भइसक्दा पनि हाम्रो राज्य संयन्त्र किन यति धेरै निरीह छ?
प्रहरी प्रशासन किन अनुसन्धानको जरोसम्म पुग्न चाहँदैन? एउटा हत्यारालाई हत्कडी लगाएर मात्र प्रहरीको दायित्व पूरा हुँदैन। हत्याको मनोवैज्ञानिक र सामाजिक आधार तयार पार्ने ती भ्युजका भोका सञ्जाल सञ्चालकहरूमाथि साइबर अपराध र दुरुत्साहनको मुद्दा किन चल्दैन?
राज्य संयन्त्र मात्र होइन, समाजको पिँध नै भत्किँदा हाम्रा समाजशास्त्रीहरू कहाँ छन्? विश्वविद्यालयका समाजशास्त्र र मनोविज्ञानका विभागहरू किन मौन छन्? भर्चुअल दुनियाँले कसरी मानिसको मनोविज्ञानलाई हिंस्रक बनाउँदै छ र समाज कसरी उच्छृङ्खलता उन्मुख छ भन्ने विषयमा विश्वविद्यालयहरूले किन अनुसन्धान गर्दैनन्? समाज यति ठूलो दुर्घटनातर्फ धकेलिँदा पनि बौद्धिक वर्गको यो मौनता रहस्यमय र खेदजनक छ।
कुमार थापा र ईश्वरी भुजेलको यो त्रासदी एउटा वेक-अप कल (चेतावनी) हो। अब राज्यले युट्युब र सोसल मिडियाको नाममा हुने यस प्रकारको असीमित र अनियन्त्रित डिजिटल आतङ्कलाई नियमन गर्नैपर्छ। प्रहरी प्रशासनले अनुसन्धानको दायरा फराकिलो पार्दै, समाजमा विकृति बेचेर डलर कमाउने गिरोहलाई कानुनी कठघरामा उभ्याउनु पर्छ।
यदि आज पनि राज्य र समाजको चेत खुल्दैन भने, हामीले यो स्वीकार गर्नुपर्छ कि हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ मानिसको रगत र ज्यानभन्दा युट्युबका भ्युज र डलर महँगा छन्। समयमै सोचौँ, नत्र भाइरल हुने यो रोगले हाम्रो समाजलाई यस्तो चिहानमा परिणत गर्नेछ, जहाँ मानवीयताको नामोनिसान बाँकी रहने छैन।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया