कृषि उत्पादनमा गिरावट, उद्योग आधा क्षमताभन्दा कममा सञ्चालन हुँदा आर्थिक वृद्धिमा दबाब
- BFIS News
- 2026 Jun 16 14:50
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर अपेक्षाभन्दा कमजोर रहने संकेत गरेको छ।
कृषि उत्पादनमा आएको कमी, उद्योगहरूको न्यून क्षमता उपयोग तथा सुस्त आन्तरिक मागका कारण अर्थतन्त्रमा दबाब कायम रहेको प्रतिवेदनले औंल्याएको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ४.४३ प्रतिशतले विस्तार भएको थियो। कृषि क्षेत्रको कमजोर प्रदर्शन, प्राकृतिक विपद्, राजनीतिक अनिश्चितता तथा अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिले आर्थिक गतिविधिमा असर पारेको प्रतिवेदनमा उल्लेख छ।
समीक्षा अवधिमा कृषि क्षेत्र सबैभन्दा प्रभावित देखिएको छ। खाद्यान्न तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको छ। धान, मकैलगायत प्रमुख खाद्यान्न बालीको उत्पादनमा कमी आउँदा समग्र कृषि उत्पादन कमजोर बनेको हो। यद्यपि तरकारी उत्पादन १.०२ प्रतिशत र फलफूल उत्पादन ६.५१ प्रतिशतले बढेको छ। मसला बालीको उत्पादन भने ५.७० प्रतिशतले घटेको छ।
पशुपालनतर्फ दूध उत्पादन २५.७४ प्रतिशतले घटेको छ। यद्यपि मासु उत्पादन ७.३७ प्रतिशत र अण्डा उत्पादन ६.४३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। वन क्षेत्रतर्फ दाउरा उत्पादन १९.८० प्रतिशत तथा काठ उत्पादन २.९० प्रतिशतले घटेको छ।
ढिलो मनसुन, धान भित्र्याउने समयमा परेको अत्यधिक वर्षा, प्राकृतिक प्रकोप तथा रासायनिक मलको अभावले कृषि उत्पादन प्रभावित भएको राष्ट्र बैंकको निष्कर्ष छ। यसैका कारण चालु वर्ष कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।
कृषि क्षेत्र कमजोर रहे पनि उद्योग, सेवा र पूर्वाधार क्षेत्रको विस्तारले अर्थतन्त्रलाई केही सहारा दिएको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा विस्तार बढ्नु, विप्रेषण आप्रवाह उच्च रहनु तथा ब्याजदर घट्नुले निजी क्षेत्रको लगानीमा सकारात्मक संकेत देखिएको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि औद्योगिक क्षेत्रले अपेक्षित गति लिन सकेको छैन। अध्ययनअनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशतमा सीमित छ। कुल बैंक कर्जामध्ये ३०.८२ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा प्रवाह भए पनि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। यसले आन्तरिक माग अझै कमजोर रहेको संकेत गरेको राष्ट्र बैंकको विश्लेषण छ।
राष्ट्र बैंकले निर्माण र जलविद्युत् उपक्षेत्रबाट औद्योगिक गतिविधिमा केही सुधार आउने अपेक्षा गरेको छ। बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधारको पुनर्निर्माण, प्रसारण लाइन विस्तार, निर्माणाधीन जलविद्युत् आयोजना तथा नागढुंगा–नौबिसे सुरुङमार्ग सञ्चालनको तयारीले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अनुमान गरिएको छ।
सेवा क्षेत्रमा भने सुधारका संकेत देखिएका छन्। चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६ लाख ३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन आगमनमा वृद्धि, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नु तथा विप्रेषण आप्रवाह विस्तारले होटल, रेस्टुरेन्ट, यातायात र व्यापारिक गतिविधिलाई सहयोग पुगेको छ।
घरजग्गा क्षेत्रमा कारोबार संख्या घटेको भए पनि राजस्व संकलन बढेको छ। घरजग्गा दर्ता संख्या १०.४ प्रतिशतले घटेर २ लाख ५ हजार ६८८ मा सीमित हुँदा पनि रजिस्ट्रेशन राजस्व ६८.५ प्रतिशतले बढेर १८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। भवन नक्सा पास संख्या ७.५ प्रतिशतले घटेकाले निर्माण क्षेत्र अझै पूर्ण रूपमा सक्रिय हुन नसकेको संकेत देखिएको छ।
वित्तीय क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.३९ प्रतिशत तथा कर्जा प्रवाह ६.२४ प्रतिशतले बढेको छ। तर वित्तीय स्रोतको वितरणमा असन्तुलन कायम रहेको छ। कुल निक्षेपको ६५.५२ प्रतिशत र कर्जाको ६०.३३ प्रतिशत हिस्सा बागमती प्रदेशमा केन्द्रित छ। कर्णाली प्रदेशमा निक्षेप र कर्जाको हिस्सा क्रमशः १.२२ प्रतिशत र १.११ प्रतिशत मात्र रहेको छ।
बाह्य क्षेत्र भने तुलनात्मक रूपमा सुदृढ देखिएको छ। पहिलो पाँच महिनामा वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १४.१८ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। विप्रेषण, पर्यटन आय तथा निर्यात वृद्धिले विदेशी मुद्रा सञ्चितिलाई मजबुत बनाएको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि उच्च रहेको छ। समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिसहित ३ लाख ९६ हजारभन्दा बढी नेपाली विदेश गएका छन्। यसमध्ये सबैभन्दा धेरै श्रमिक मधेश प्रदेशबाट गएका छन्।
सरकारी खर्च भने अपेक्षाअनुसार हुन सकेको छैन। संघीय सरकारले विनियोजित बजेटमध्ये पुस मसान्तसम्म करिब ६ खर्ब ९० अर्ब रुपैयाँ मात्र खर्च गरेको छ। प्रदेश सरकारहरूको खर्च झनै कमजोर देखिएको छ। कुल बजेटको १४.१६ प्रतिशत अर्थात् ४० अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च भएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना ले कृषि क्षेत्रको कमजोर प्रदर्शनले आर्थिक वृद्धिमा असर पारे पनि विप्रेषण, जलविद्युत्, निर्माण तथा सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई समर्थन गरिरहेको उल्लेख गरेका छन्। प्रतिवेदनले आगामी महिनामा आर्थिक गतिविधि थप विस्तार हुने सम्भावना औंल्याए पनि कृषि उत्पादनमा आएको कमी, सार्वजनिक खर्चको कमजोर कार्यान्वयन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय द्वन्द्वलाई प्रमुख जोखिमका रूपमा चिनाएको छ।
समग्रमा प्रतिवेदनले बाह्य क्षेत्रका सूचकहरू सुदृढ देखिए पनि कृषि, उद्योग, निर्माण र सरकारी खर्चमा देखिएको कमजोरीका कारण आन्तरिक अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको निष्कर्ष निकालेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया