Nepal Life

नेता आङ्देम्बेको आग्रह– नेपाली चियाको समस्या तत्काल समाधान गर्न सरकार गम्भीर बनोस्

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 22 16:43
नेता आङ्देम्बेको आग्रह– नेपाली चियाको समस्या तत्काल समाधान गर्न सरकार गम्भीर बनोस्

इलाम, असार १ गते । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको नेपाली चियाको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

 

Nepal Life
NIMB

पछिल्लो समय भारततर्फको चिया निर्यातमा देखिएको अवरोधका कारण असार १ गतेदेखि एक सयभन्दा बढी चिया उद्योग बन्द अवस्थामा रहेको र किसानको लाखौँ किलो हरियो चिया पत्ती नष्ट भइरहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रसँग जोडिएको संवेदनशील विषयमा सरकार लामो समयसम्म बेखबर रहनु दुःखद भएको बताउनुभयो ।

उहाँले विपक्षी दलमा रहे पनि आफूहरूले पटक–पटक संसदमा चियाको विषय उठाउँदै आएको उल्लेख गर्दै भारतसँग समयमै कूटनीतिक संवाद गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्नुभयो ।

“इलामको पहिचान र यहाँको अर्थतन्त्रसँग जोडिएको चिया र अलैंचीका विषयमा राज्यले छिमेकीसँग आवश्यक पहल गर्न नसक्दा किसान, श्रमिक र उद्योगी निराश बनेका छन्,” उहाँले भन्नुभयो ।

सरकार उत्तरदायी बन्नुपर्ने भन्दै उहाँले समस्या समाधानका लागि सदनबाट निरन्तर सचेत गराउँदै आए पनि सरकारले पर्याप्त चासो नदिएको आरोप लगाउनुभयो ।

विरोधका लागि विरोध नभई परिणामका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै आङ्देम्बेले चिया क्षेत्रको तत्काल समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले सत्ताधारी दलले जनमतलाई दम्भका रूपमा लिन नहुने भन्दै किसान र सर्वसाधारणका समस्यालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा निम्त्याइएका अतिथिहरूमाथि गरिएको व्यवहारप्रति टिप्पणी गर्दै उहाँले पाहुना बोलाएर अपमान गर्ने संस्कार नेपाली समाजमा नरहेको बताउनुभयो ।

आङ्देम्बेले संसदमा पनि सत्तापक्षले दम्भ देखाउने गरेको आरोप लगाउँदै प्रतिपक्षी दललाई कमजोर नआँक्न चेतावनी दिनुभयो ।

विपद्बाट प्रभावित इलाम, यहाँको भू–बनोट, चिया क्षेत्र र मेची राजमार्गको अवस्थाप्रति सरकारको ध्यान नजानु नागरिकप्रतिको बेवास्ता भएको उहाँको भनाइ थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया