फिफा विश्वकप २०२६ : क्वार्टरफाइनल समीकरण पूरा, आठ टोली उपाधि दौडमा
- BFIS News
- 2026 Jul 08 09:42
काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरण सम्पन्न भएसँगै क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको छ।
पछिल्ला दुई खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि उपाधि यात्रामा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले स्थान बनाएका छन्।
अन्तिम–१६ मा अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकालेर क्वार्टरफाइनल यात्रा तय गर्यो। यस्तै, स्विट्जरल्यान्डले निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। २०२२ को विश्वकपमा सेमिफाइनल पुगेको मोरक्को यसपटक पनि अर्को ऐतिहासिक उपलब्धिको खोजीमा हुनेछ। फ्रान्सका कप्तान किलियन एमबाप्पेले प्रतियोगितामा उत्कृष्ट लय कायम राखेका छन्। हालसम्म विश्वकपमा १९ गोल गरिसकेका उनले लियोनेल मेस्सीको २१ गोलको कीर्तिमान नजिक पुग्ने अवसर पनि पाउनेछन्। यो खेल असार २६ गते बिहान १ः४५ बजे बोस्टन स्टेडियममा हुनेछ।
दोस्रो क्वार्टरफाइनलमा स्पेनले बेल्जियमको सामना गर्नेछ। लामिन यामाल, पेड्री, गाभी, रोड्री र निको विलियम्सजस्ता युवा खेलाडीको प्रदर्शनमा स्पेनले निरन्तरता खोजिरहेको छ। बेल्जियम भने रोमेलु लुकाकु र केभिन डी ब्रुयनको अनुभवमा भर पर्दै पहिलो विश्वकप उपाधिको लक्ष्यसहित मैदान उत्रिनेछ। प्रतियोगिताका पाँचवटै खेलमा स्पेनका गोलरक्षक उनाइ सिमोनले क्लिन सिट कायम राखेका छन्। यो खेल असार २७ गते बिहान १२ः४५ बजे लस एन्जलस स्टेडियममा हुनेछ।
तेस्रो क्वार्टरफाइनलमा नर्वे र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। गोल्डेन बुटको दौडमा रहेका नर्वेका एर्लिङ हालान्डले सात गोल गरेका छन् भने इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले हालसम्म छ गोल गरेका छन्। इङ्ग्ल्यान्डका जुड बेलिङ्घमले पनि चार गोल गर्दै टोलीको आक्रमणलाई मजबुत बनाएका छन्। यो खेल असार २८ गते बिहान २ः४५ बजे मायमी स्टेडियममा खेलाइनेछ।
चौथो क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम–१६ मा उत्कृष्ट पुनरागमन जित निकालेको अर्जेन्टिना सेमिफाइनल प्रवेशको लक्ष्यमा हुनेछ। स्विट्जरल्यान्ड भने ७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको टोलीका रूपमा अर्को ऐतिहासिक नतिजाको खोजीमा रहनेछ। यो खेल असार २८ गते बिहान ६ः४५ बजे कान्सास सिटी स्टेडियममा हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया