ग्लोबल आइएमई बैंकको ‘स्वास्थ्य नारी पहल’ : पाँच वर्षमा २९ हजार महिलाको स्वास्थ्य परीक्षण
- BFIS News
- 2026 Jul 14 12:51
काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सञ्चालन गर्दै आएको ‘स्वास्थ्य नारी पहल’ मार्फत पछिल्लो पाँच वर्षमा करिब २९ हजार महिलाको स्वास्थ्य परीक्षण गरेको जनाएको छ। बैंकले प्रत्येक वर्ष सातै प्रदेशमा महिला स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष कर्णाली प्रदेशको मुगु जिल्लास्थित गमगढीमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो।
बैंकका अनुसार मुगुमा आयोजित स्वास्थ्य शिविरमा गरिएको परीक्षणका क्रममा आठ जना महिलामा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) पुष्टि भएको छ। शिविरमा क्यान्सर परीक्षणसँगै अन्य आधारभूत स्वास्थ्य जाँच तथा आवश्यक औषधि वितरणको व्यवस्था पनि गरिएको थियो।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८६ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। आर्थिक वर्ष २०७९/८० मा दुई हजार ७८ जना, आर्थिक वर्ष २०८०/८१ मा दुई हजार २४७ जना तथा गत आर्थिक वर्ष दुई हजार १५० जना महिलाले स्वास्थ्य परीक्षण सेवा लिएका थिए। चालु आर्थिक वर्षमा भने सबैभन्दा बढी ११ हजार ९४७ महिलाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ।
प्रदेशगत रूपमा हेर्दा चालु आर्थिक वर्षमा कर्णाली प्रदेशमा सबैभन्दा बढी दुई हजार ८७५ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। त्यसपछि लुम्बिनी प्रदेशमा दुई हजार ५८९ जना, मधेश प्रदेशमा एक हजार ५०२ जना, कोशी प्रदेशमा एक हजार ४९७ जना, बागमती प्रदेशमा एक हजार ३७१ जना, सुदूरपश्चिम प्रदेशमा एक हजार १८६ जना तथा गण्डकी प्रदेशमा ९२७ जना महिलाको परीक्षण गरिएको बैंकले जनाएको छ।
महिलाको स्वास्थ्य प्रवर्द्धनका लागि आयोजना गरिएको उक्त शिविर परिवार नियोजन संघको सहकार्य तथा सम्बन्धित स्थानीय तहको समन्वयमा सञ्चालन गरिएको थियो। शिविरमा चिकित्सकको टोलीले पाठेघरको मुखको क्यान्सरको परीक्षणका साथै आवश्यक परे तत्काल उपचार सेवा पनि उपलब्ध गराएको थियो।
यसका लागि चिकित्सकहरूले ‘थर्मोकोएगुलेसन’ उपकरणसमेत साथमा लगेका थिए। प्रारम्भिक चरणमै क्यान्सरका कोषिकाको वृद्धि रोक्न थर्मोकोएगुलेसन प्रविधिबाट प्रभावित कोषिका नष्ट गर्ने उपचार विधि अपनाइएको बैंकले जनाएको छ।
स्वास्थ्य शिविरमा सहभागी परिवार नियोजन संघका उपत्यका शाखा प्रबन्धक प्रकाश डंगोलका अनुसार परीक्षणपछि आवश्यक देखिएका महिलालाई सोही स्थानमै थर्मोकोएगुलेसन विधिबाट उपचार गरिएको थियो। यसले दुर्गम क्षेत्रमा रहेका महिलालाई समयमै परीक्षण र उपचार उपलब्ध गराउन सहयोग पुगेको उनले बताए।
महिला स्वास्थ्य कार्यक्रमसँगै ग्लोबल आइएमई बैंकले आँखा स्वास्थ्यसम्बन्धी सेवा पनि सञ्चालन गर्दै आएको छ। बैंकका अनुसार देशका विभिन्न स्थानमा सञ्चालन गरिएका आँखा शिविरमार्फत दुई हजार ७९८ जनाको आँखा परीक्षण गरिएको छ। तीमध्ये ४९० जनाको मोतियाबिन्दुको उपचारसमेत गरिएको बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया