ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्रान्ड
- BFIS News
- 2026 Jul 30 12:35
काठमाडौं, श्रावण १४ — ट्रन्क्यूलिटी स्पा प्रालिले गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ प्रमाणपत्र हासिल गरेको छ। कम्पनीले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट उक्त प्रमाणपत्र प्राप्त गरेको हो। यूआरएस युकेएएस (UKAS) तथा आईएएफ (IAF) मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणीकरण निकाय हो।
कम्पनीका अनुसार यो प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाले सञ्चालन गर्ने सम्पूर्ण वेलनेस तथा ब्युटी सेवाहरूमा लागू गरिएको गुणस्तर व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेको छ। यससँगै ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको कम्पनीले जनाएको छ।
प्रमाणीकरणको दायराभित्र थेराप्युटिक मसाज, विभिन्न प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी सुविधा, जिम, स्विमिङ पुल तथा टेनिस सेवाहरू समेटिएका छन्। कम्पनीका अनुसार यसले सेवा सञ्चालन, सरसफाइ, ग्राहक सेवा प्रणाली तथा सञ्चालन प्रक्रियाले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेको पुष्टि गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन फैजुले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्ति ट्रन्क्यूलिटी स्पाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले ग्राहकप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गरे। उनका अनुसार कम्पनीका सबै शाखामा ग्राहकले समान स्तरको हेरचाह, सरसफाइ र गुणस्तरीय सेवा प्राप्त गर्ने सुनिश्चितता यस प्रमाणीकरणले झल्काउँछ।
त्यसैगरी, प्रमुख सञ्चालन अधिकृत (सीओओ) रनिल फैजुले आईएसओ प्रमाणीकरण कम्पनीले वर्षौंदेखि विकास गर्दै आएको सञ्चालन प्रणाली र गुणस्तर मापदण्डको औपचारिक मान्यता भएको बताए। उनले प्रत्येक सेवामा निरन्तरता, सरसफाइ र गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने उल्लेख गरे।
कम्पनीका अनुसार उक्त अन्तर्राष्ट्रिय मान्यताले सुरक्षित, भरपर्दो तथा उच्चस्तरीय वेलनेस सेवा प्रदान गर्ने ट्रन्क्यूलिटी स्पाको दीर्घकालीन प्रतिबद्धतालाई पुष्टि गरेको छ।
१८ वर्षदेखि वेलनेस क्षेत्रमा सक्रिय
ट्रन्क्यूलिटी स्पाले विगत १८ वर्षदेखि नेपाल तथा विदेशमा वेलनेस सेवा प्रदान गर्दै आएको जनाएको छ। काठमाडौंको लाजिम्पाटबाट सेवा सुरु गरेको कम्पनीले हाल काठमाडौं, चितवन, पोखरा, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलहरूसँगको साझेदारीमा आफ्ना सेवा सञ्चालन गरिरहेको छ।
कम्पनीमा हाल ३०० भन्दा बढी कर्मचारी कार्यरत छन्। साथै, यसको प्रशिक्षण संस्था ट्रन्क्यूलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी मार्फत हालसम्म ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेस तथा ब्युटीसम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया