प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त पक्राउ, बैंकिङ कसुरमा अनुसन्धान
- BFIS News
- 2026 Jul 30 16:21
काठमाडौं, साउन १४। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको छ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत केही वित्तीय कारोबार, कर्जा प्रवाह, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय स्वीकृतिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।
सिआइबीका अनुसार एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मामाथि भइरहेको कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा पन्तको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। उक्त कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्य कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ।
नेपाल राष्ट्र बैंकले यसलाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार कर्जा दुरुपयोगसम्बन्धी कसुर ठहर गर्दै अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो। सोही आधारमा सिआइबीले यसअघि अदालतबाट अनुमति लिएर शशिधर शर्मालाई पनि पक्राउ गरेको थियो।
यस प्रकरणमा प्रभु बैंकका तत्कालीन उच्च व्यवस्थापन र सञ्चालकहरूको भूमिकामाथि समेत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। यसअघि सिआइबीले प्रभु बैंकको केन्द्रीय कार्यालयबाट आवश्यक कागजात नियन्त्रणमा लिएर तत्कालीन अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च पदस्थ अधिकारीमाथि अनुसन्धान अघि बढाएको थियो।
सिआइबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया