Nepal Life

नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, ६ उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन १७ गते

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 16:37
नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, ६ उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन १७ गते

काठमाडौं । नेपाल आयल निगमको नयाँ कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

Nepal Life
NIMB

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका ६ जना उम्मेदवारको नाम सार्वजनिक गर्दै साउन १७ गते मूल्याङ्कन प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

मन्त्रालयका अनुसार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आइतबार मन्त्रालयको सानो सभाहलमा बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रत्येक उम्मेदवारलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न २० मिनेटको समय उपलब्ध गराइनेछ।

कार्यकारी निर्देशक पदका लागि अन्तिम प्रतिस्पर्धामा छविराज पोखरेल, कोशल केसी, सञ्जीवकुमार देव, चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साह, सरोजकुमार शर्मा र विपेन्द्रकुमार देव रहेका छन्।

सार्वजनिक कार्यतालिकाअनुसार पहिलो उम्मेदवार बिहान ९ बजे, दोस्रो १० बजे, तेस्रो ११ बजे, चौथो दिउँसो १ बजे, पाँचौँ २ बजे र छैटौँ उम्मेदवार ३ बजे प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनेछन्।

मन्त्रालयले उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा आधा घण्टा अगाडि नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवसम्बन्धी सक्कल कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। तोकिएको समयमै उपस्थित नभए प्रतिस्पर्धामा सहभागी हुन नपाइने पनि मन्त्रालयले स्पष्ट गरेको छ।

यसअघि खुला आवेदनमार्फत प्राप्त निवेदनको मूल्याङ्कनपछि ६ जना उम्मेदवारलाई अन्तिम चरणका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ। व्यावसायिक कार्ययोजना र अन्तर्वार्ताको मूल्याङ्कनपछि नेपाल आयल निगमको नयाँ कार्यकारी निर्देशक नियुक्त गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया