NIMB Header 2
Nepal Life

नियामकीय मापदण्ड उल्लङ्घनमा प्रभु, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमाथि राष्ट्र बैंकको कारबाही

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Aug 02 12:36
नियामकीय मापदण्ड उल्लङ्घनमा प्रभु, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमाथि राष्ट्र बैंकको कारबाही
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा वित्तीय मापदण्ड पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि सुपरिवेक्षणात्मक कारबाही गरेको छ। कारबाहीमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक परेका छन्। यससँगै प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

Nepal Life
NIMB

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार प्रभु बैंकमाथिको कारबाही निरीक्षणका क्रममा देखिएका विभिन्न नियामकीय कमजोरीका आधारमा गरिएको हो। बैंकले कर्जाको वर्गीकरणसम्बन्धी व्यवस्था पालना नगरेको, सम्भावित कर्जा नोक्सानीका लागि आवश्यक व्यवस्था (प्रोभिजनिङ) पर्याप्त नराखेको तथा राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीमा रहेको विवरणबीच असमानता भेटिएको विभागले जनाएको छ।

यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तोकिएको समयसीमाभित्र निश्चित बैंक खाताहरू रोक्का नगरी बैंक खाता सञ्चालनसम्बन्धी संशोधित व्यवस्था उल्लङ्घन गरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम औपचारिक सचेत गराइएको छ।

त्यसैगरी, कृषि विकास बैंकको सुपरिवेक्षणका क्रममा सञ्चालनसम्बन्धी केही कमजोरीहरू देखिएपछि सुधारात्मक उपाय अवलम्बन गर्ने लिखित प्रतिबद्धता पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले यस्ता सुपरिवेक्षणात्मक कारबाहीको उद्देश्य बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुशासन सुदृढ गर्नु, वित्तीय प्रतिवेदनको पारदर्शिता कायम राख्नु तथा नियामकीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया