१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको निगरानी कडा, सबै अस्पतालका सम्पर्क अधिकारीको विवरण सार्वजनिक
- BFIS News
- 2026 Aug 03 15:53
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क शय्या सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले देशभरका सम्बन्धित अस्पतालका सम्पर्क अधिकारी (फोकल पर्सन) को नाम र सम्पर्क विवरण सार्वजनिक गरेको छ।
सेवाग्राहीले निःशुल्क उपचारमा समस्या आए वा गुनासो भए सम्बन्धित अधिकारीसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
सोमबार सार्वजनिक गरिएको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालका सम्पर्क अधिकारीहरूको नाम र फोन नम्बर समावेश गरिएको छ। मन्त्रालयका अनुसार निःशुल्क उपचारसम्बन्धी समस्या, गुनासो वा सेवा प्राप्तिमा देखिएका अवरोधको तत्काल समन्वय र समाधानका लागि यो व्यवस्था गरिएको हो।
मन्त्रालयले १० प्रतिशत निःशुल्क शय्या सेवाको कार्यान्वयनमा अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको र सबै अस्पताललाई आरक्षित शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको मन्त्रालयको भनाइ छ।
सरकारको प्रचलित व्यवस्थाअनुसार निजीसहित सम्बन्धित सबै अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न तथा लक्षित वर्गका बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर उक्त व्यवस्था व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो आएपछि मन्त्रालयले निगरानी र समन्वय प्रणालीलाई थप सक्रिय बनाएको हो।
मन्त्रालयले निःशुल्क उपचार सेवा प्राप्त गर्न कठिनाइ भए, सेवा नपाएको अवस्था आए वा गुनासो गर्नुपरे सार्वजनिक गरिएको सम्पर्क विवरणमार्फत सम्बन्धित अस्पतालका फोकल पर्सनसँग सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। साथै, सबै अस्पताललाई निःशुल्क शय्यासम्बन्धी विवरण नियमित रूपमा अद्यावधिक गरी तोकिएबमोजिम सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया