Siddartha Bank
Prabhu Mahalaxmi

दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरबाटै राष्ट्र निर्माण सम्भव : ऊर्जामन्त्री श्रेष्ठ

Sanima Reliance
  • BFIS News
  • 2026 Aug 03 15:58
दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरबाटै राष्ट्र निर्माण सम्भव : ऊर्जामन्त्री श्रेष्ठ
United Ajod

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरको कार्यसम्पादनमा निर्भर रहने बताएका छन्।

Siddartha Bank
EBL
Nepal Life

उनले नवप्रवेशी इन्जिनियरलाई प्राविधिक दक्षतासँगै नैतिकता, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश गर्नु केवल रोजगारी सुरु गर्नु नभई राष्ट्र निर्माणको जिम्मेवारी वहन गर्ने अवसर भएको बताए।

उनले इन्जिनियरले गर्ने प्रत्येक प्राविधिक निर्णय, सुझाव र कार्यान्वयनले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने उल्लेख गरे। सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, सिँचाइ, खानेपानी, औद्योगिक संरचना तथा सहरी पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले इन्जिनियरिङलाई केवल प्राविधिक ज्ञानमा सीमित नराखी समस्याको समाधान खोज्ने सिर्जनात्मक विधाका रूपमा लिनुपर्ने बताए। उनले नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको उपयोग तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै यी लक्ष्य दक्ष र प्रतिबद्ध प्राविधिक जनशक्तिको योगदानबाट मात्र हासिल गर्न सकिने धारणा राखे।

उनले सरकारी सेवामा प्राविधिक ज्ञानसँगै नैतिक आचरण पनि उत्तिकै महत्वपूर्ण हुने बताए। पारदर्शिता, निष्पक्षता, उत्तरदायित्व र सार्वजनिक हितलाई कार्यसम्पादनको आधार बनाउनुपर्नेमा जोड दिँदै उनले इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति समाजको विश्वास भएको उल्लेख गरे।

मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै इन्जिनियरिङ क्षेत्र पनि परिवर्तन भइरहेकाले निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए। स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनबाट नेपालको भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने उनको भनाइ थियो।

पूर्वाधार निर्माणमा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै उनले डिजाइन, निर्माण, सुपरिवेक्षण र परीक्षणका सबै चरणमा प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकताको पूर्ण पालना गर्न निर्देशन दिए। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न उनले नवप्रवेशी इन्जिनियरलाई आग्रह गरे।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया