नबिलको नाफा र वृद्धि सबैभन्दा बलियो, ग्लोबल आकारमा अग्रणी, एभरेस्टको सम्पत्ति गुणस्तर उत्कृष्ट
- BFIS News
- 2026 Aug 05 19:17
काठमाडौं । नबिल बैंक, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणलाई तुलनात्मक रुपमा विश्लेषण गर्दा तीन वटै बैंकका आ-आफ्नै वित्तीय विशेषता देखिन्छ। जहाँ नबिल बैंकले नाफा, वृद्धि र सञ्चालन दक्षतामा अग्रता कायम गरेको छ भने ग्लोबल आइएमई बैंक निक्षेप र पूँजीका आधारमा सबैभन्दा ठूलो बैंकका रूपमा उभिएको छ। अर्कोतर्फ एभरेस्ट बैंकले सबैभन्दा न्यून निष्क्रिय कर्जा अनुपात कायम गर्दै जोखिम व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन गरेको छ।
ब्यालेन्स सिटको आकारका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंक बनेको छ। बैंकको कुल निक्षेप करिब ६६९ अर्ब रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ३८.१० अर्ब रुपैयाँ रहेको छ। नबिल बैंकको निक्षेप करिब ५९२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४६० अर्ब रुपैयाँ नाघ्दै तीन बैंकमध्ये सबैभन्दा बढी कर्जा विस्तार गरेको देखिएको छ। एभरेस्ट बैंकको निक्षेप र कर्जा पोर्टफोलियो भने तुलनात्मक रूपमा सानो रहेको छ।
नाफा र आम्दानीका सूचकमा भने नबिल बैंकले स्पष्ट अग्रता बनाएको छ। समीक्षा अवधिमा बैंकले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब २२ करोड रुपैयाँ तथा एभरेस्ट बैंकको ५ अर्ब ७ करोड रुपैयाँ रहेको छ। सञ्चालन नाफा तथा खुद नाफा वृद्धिदर दुवैमा नबिलले क्रमशः २५.२२ प्रतिशत र ३३.५० प्रतिशतको वृद्धि हासिल गरेको छ, जुन तीन बैंकमध्ये सबैभन्दा उच्च हो।
प्रतिशेयर आम्दानी (ईपीएस) का आधारमा भने एभरेस्ट बैंक अगाडि देखिएको छ। एभरेस्टको ईपीएस ३६.९५ रुपैयाँ रहेको छ भने नबिलको २८.३६ रुपैयाँ र ग्लोबल आइएमईको १६.३४ रुपैयाँ रहेको छ। एभरेस्टको चुक्ता सेयर संख्या तुलनात्मक रूपमा कम भएकाले प्रतिशेयर आम्दानी उच्च रहेको छ।
सम्पत्ति गुणस्तरको दृष्टिले एभरेस्ट बैंक सबैभन्दा बलियो देखिएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) केवल ०.४९ प्रतिशत रहेको छ, जसले बैंकको कर्जा असुली अवस्था अत्यन्त स्वस्थ रहेको संकेत गर्छ। नबिल बैंकको एनपीएल ४.२० प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ४.४८ प्रतिशतभन्दा सुधारिएको अवस्था हो। ग्लोबल आइएमई बैंकको एनपीएल ४.९६ प्रतिशत पुगेको छ, जसका कारण बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको उच्च कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) गर्नुपरेको देखिन्छ।
पुँजी पर्याप्तता अनुपातका आधारमा भने तीनै बैंक नियामकीय न्यूनतम सीमाभन्दा माथि रहेका छन्। नबिल बैंकको क्यापिटल एडिक्वेसी अनुपात १२.३७ प्रतिशत, एभरेस्ट बैंकको १२.२३ प्रतिशत तथा ग्लोबल आइएमई बैंकको १२.१० प्रतिशत रहेको छ।
सञ्चालन दक्षताको सूचक मानिने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा नबिल बैंक ८०.१८ प्रतिशतसहित अग्रस्थानमा रहेको छ। यसले बैंकले निक्षेपलाई प्रभावकारी रूपमा कर्जामा परिचालन गरेको देखाउँछ। एभरेस्ट बैंकको सीडी रेसियो ७७.५७ प्रतिशत र ग्लोबल आइएमई बैंकको ६८.४३ प्रतिशत रहेको छ, जसले पछिल्ला दुई बैंक अपेक्षाकृत सतर्क कर्जा विस्तारको रणनीतिमा रहेको संकेत गर्छ।
ब्याज अन्तर (स्प्रेड) का आधारमा पनि नबिल बैंक प्रभावकारी देखिएको छ। उच्च सञ्चालन दक्षताका कारण बैंकले ऋणबाट अपेक्षाकृत राम्रो प्रतिफल आर्जन गर्न सफल भएको छ।
सेयरधनीको प्रतिफलका सूचकहरूमा एभरेस्ट बैंकको प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ रहेको छ, जुन तीन बैंकमध्ये सबैभन्दा उच्च हो। नबिल बैंकको प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ र ग्लोबल आइएमई बैंकको १८३.१४ रुपैयाँ रहेको छ। मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) तीनै बैंकको करिब समान दायरामा रहे पनि ग्लोबल आइएमई बैंकको पी/ई अनुपात तुलनात्मक रूपमा कम देखिएको छ, जसलाई उच्च जोखिम र कमजोर सम्पत्ति गुणस्तरसँग जोडेर हेरिन्छ।
यस्तै, वितरणयोग्य नाफा वृद्धिमा पनि नबिल बैंक अग्रस्थानमा रहेको छ। वितरणयोग्य नाफा ३४.०७ प्रतिशतले बढेकाले आगामी वर्ष लाभांश वितरण क्षमता पनि तुलनात्मक रूपमा बलियो रहेको छ।
समग्र विश्लेषणले नबिल बैंकलाई वृद्धि, नाफा र सञ्चालन दक्षतामा सबैभन्दा सन्तुलित तथा बलियो बैंकका रूपमा प्रस्तुत गरेको छ। एभरेस्ट बैंक जोखिम व्यवस्थापन, सम्पत्ति गुणस्तर र प्रतिशेयर मूल्य सिर्जनामा उत्कृष्ट देखिएको छ भने ग्लोबल आइएमई बैंक निक्षेप र पूँजीको आकारमा अग्रणी भए पनि उच्च निष्क्रिय कर्जा र घट्दो खुद ब्याज आम्दानीका कारण अन्य दुई बैंकको तुलनामा चुनौतीपूर्ण अवस्थामा रहेको विश्लेषणले देखाएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया