पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग बोर्डले गर्यो नीतिगत संबाद
- BFIS News
- 2026 Aug 21 19:09
काठमाडौं। नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्तशास्त्र विषय अध्यापन तथा अनुसन्धानमा संलग्न प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद (Policy Dialogue) कार्यक्रम सम्पन्न भएको छ। बोर्डको कार्यालय, ललितपुरमा आयोजित कार्यक्रम बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको हो।
धितोपत्र बजारमा नयाँ वित्तीय उपकरणको प्रवेशका लागि बोर्डले तयार गरेका विभिन्न Consultation Paper तथा Policy Paper सार्वजनिक गरिसकेको सन्दर्भमा विषय विज्ञबाट अवधारणा, सुझाव तथा राय लिन नीति संवाद आयोजना गरिएको बोर्डले जनाएको छ।
कार्यक्रममा बोर्डले अघि सारेका मार्जिन ल्यान्डिङ (Margin Lending), अन्तरदिवसीय कारोबार (Intraday Trading), धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing–SLB) तथा शर्ट सेलिङ (Short Selling) सम्बन्धी अवधारणाका साथै समग्र पुँजी बजारको विकास र सुधारका विषयमा विस्तृत छलफल भएको थियो।
छलफलमा सहभागी प्राज्ञिक व्यक्तित्वहरूले पुँजी बजार विकासका लागि बोर्डले रूपान्तरणकारी (Transformative) कार्यक्रम अघि सारेकोमा सकारात्मक धारणा व्यक्त गरेका थिए। बजारमा ल्याउन लागिएका नयाँ वित्तीय उपकरण प्राविधिक प्रकृतिका रहेकाले तिनलाई Financial Innovation का रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
नयाँ वित्तीय उपकरणमा अन्तर्निहित जोखिमबारे लगानीकर्तालाई पर्याप्त जानकारी उपलब्ध गराउन वित्तीय साक्षरता अभिवृद्धि गर्नुपर्ने सुझावसमेत कार्यक्रममा दिइएको थियो। साथै, Policy Launch अघि प्राज्ञिक व्यक्तित्वसँग सुरु गरिएको नीति संवादले सिद्धान्त र व्यवहारबीच सामञ्जस्य कायम गर्न तथा नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।
बोर्ड र प्राज्ञिक क्षेत्रका विज्ञबीचको सहकार्यलाई निरन्तरता दिने विषयमा समेत कार्यक्रममा जोड दिइएको थियो। पुँजी बजार विकासका लागि बोर्डले आगामी दिनमा तय गर्ने नीतिमा प्राज्ञिक विज्ञका सुझाव समेटेर दीर्घकालीन नीति निर्माण गर्दा बजार नीतिको प्रभावकारिता अझ बढ्ने बोर्डको विश्वास रहेको छ।
नीति निर्माणमा प्राज्ञिक क्षेत्रको ज्ञान, अनुसन्धान र व्यावहारिक अनुभवलाई समेट्दै पुँजी बजारको दिगो तथा व्यवस्थित विकासका लागि आगामी दिनमा समेत यस्ता संवादलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया