NIMB Header 2
Nepal Life

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट प्रदेश अवार्ड कर्णालीलाई

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 25 20:14
नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट प्रदेश अवार्ड कर्णालीलाई
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते २०८३ मा आयोजित सम्मेलन ‘Lead, Aspire, Evolve’ अर्थात् नेतृत्व, आकांक्षा र विकास भन्ने नाराका साथ सम्पन्न भएको हो।

Nepal Life
NIMB

सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकाल, सञ्चालक प्रवीण प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रा पूरा गर्दै नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको उनले उल्लेख गरे।

उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण हितधारकलाई धन्यवाद दिँदै अग्रवालले आगामी दिनमा पनि उत्साह, समर्पण र प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे। कम्पनीले हासिल गरेको उचाइलाई निरन्तर कायम राख्न सामूहिक प्रयास, मेहनत र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादनका लागि कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३/८४ का व्यावसायिक लक्ष्य हासिल गर्न सुरुदेखि नै थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्न आह्वान गरे।

पराजुलीले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि सेल्स तथा रणनीतिक योजनाबारे जानकारी गराए। हासिल भएको उपलब्धिलाई निरन्तरता दिँदै नयाँ उचाइ हासिल गर्न एकताबद्ध प्रयास, आपसी सहयोग र निरन्तर प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यसम्पादन, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणमा गत आर्थिक वर्षको प्रगतिको समीक्षा, चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, रणनीतिक प्राथमिकता, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा लक्ष्य प्राप्तिका लागि अपनाइने कार्यदिशाबारे जानकारी दिइएको थियो।

सम्मेलनको समापनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायल, नेशनल सेल्स हेड उमापति पोखरेल तथा मानव संसाधन विभागबाट सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी तथा शाखा एवं उपशाखालाई विभिन्न १४ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

सम्मेलनको सबैभन्दा उत्कृष्ट अवार्डका रूपमा रहेको बेस्ट प्रोभिन्स अवार्ड कर्णाली प्रदेशले जितेको छ। कर्णाली प्रदेशले सबै विधामा १०० अंक प्राप्त गर्दै उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो। प्रदेश प्रमुख अनन्त अधिकारीले अवार्ड ग्रहण गर्दै कर्णालीलाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रका रूपमा रहेको कर्णालीलाई उत्कृष्ट बनाउन प्रदेश प्रमुख अनन्त अधिकारीको नेतृत्व तथा विभिन्न प्रेरणादायी गतिविधिले महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।

अवार्ड प्राप्त गरेपछि कर्णाली प्रदेशको टोलीले मौलिक देउडा नाच प्रस्तुत गर्दै खुसी व्यक्त गरेको थियो। देउडा प्रस्तुतिले सम्मेलनको समापनलाई थप उत्साहपूर्ण र सांस्कृतिक रूपमा विशेष बनाएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया