एनभिडियाका सीईओ जेन्सन ह्वाङद्वारा नेपाललाई १ करोड डलर सहयोग
- BFIS News
- 2026 Sep 04 13:19
काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा सहसंस्थापक जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर (१ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी) सहयोग गरेका छन्। ह्वाङले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोगमध्ये ह्वाङले गरेको सहयोग अहिलेसम्मकै ठूलो भएको बताइएको छ। उनको सहयोगसँगै कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
विपद्को कठिन परिस्थितिमा नेपाललाई ठूलो सहयोग गरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ह्वाङप्रति आभार व्यक्त गरेका छन्। उनले भिडिओ सन्देशमार्फत ह्वाङलाई धन्यवाद दिँदै बाढी तथा पहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
ह्वाङको नेपालप्रतिको सहयोगसँगै उनको व्यावसायिक नेतृत्व पनि पछिल्लो समय विश्वभर चर्चामा छ। अमेरिकी रोजगारसम्बन्धी सूचना साइट ग्लासडोरले सार्वजनिक गरेको ‘५० बेस्ट सीईओज इन २०२६’ सूचीमा ह्वाङ कर्मचारीको मूल्यांकनका आधारमा अमेरिकाकै उत्कृष्ट सीईओका रूपमा पहिलो स्थानमा परेका छन्।
ग्लासडोरले सार्वजनिक गरेको उक्त सूचीअनुसार ह्वाङले आफ्ना कर्मचारीबाट ९९ प्रतिशत अनुमोदन प्राप्त गरेका छन्। यो मूल्यांकन कम्पनीले उपलब्ध गराएको विवरण वा विज्ञको मूल्यांकनमा आधारित नभई ग्लासडोरमा वास्तविक कर्मचारीले गोप्य रूपमा दिएका समीक्षाका आधारमा तयार गरिएको हो।
सूचीमा दोस्रो र तेस्रो स्थानमा रहेका कम्पनीका प्रमुख कार्यकारीले क्रमशः ९३ प्रतिशत अनुमोदन प्राप्त गरेका छन्। उक्त सूचीमा अमेरिकामा कम्तीमा १ हजार कर्मचारी रहेका र गत वर्षको मेदेखि यस वर्षको मेसम्म कम्तीमा ७५ वटा प्रमाणित कर्मचारी मूल्यांकन प्राप्त गरेका कम्पनीलाई समेटिएको थियो।
एनभिडियाको तीव्र व्यावसायिक विस्तारसँगै ह्वाङको नेतृत्व शैलीलाई पनि उनको उच्च कर्मचारी अनुमोदनसँग जोडेर हेरिएको छ। सन् १९९३ मा ह्वाङसहितका संस्थापकले स्थापना गरेको एनभिडियाले सुरुमा कम्प्युटर गेमका लागि ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू) निर्माणमा ध्यान दिएको थियो। तर जिपियूलाई गेमिङबाहेक ठूलो मात्रामा समानान्तर गणना गर्न पनि प्रयोग गर्न सकिने सम्भावना ह्वाङले प्रारम्भिक चरणमै पहिचान गरेका थिए।
यही रणनीतिक निर्णयले एनभिडियाको व्यावसायिक यात्रालाई नयाँ दिशामा पुर्यायो। विशेषगरी जेनेरेटिभ एआईको विकास तीव्र भएपछि ठूलो मात्रामा डेटा प्रशोधन गर्न सक्ने एनभिडियाका जिपियू एआई डाटा सेन्टरका लागि महत्वपूर्ण प्रविधिका रूपमा स्थापित भए। त्यसपछि कम्पनीले एआई चिप तथा कम्प्युटिङ प्रविधिको बजारमा आफ्नो प्रभाव विस्तार गर्दै विश्वकै सबैभन्दा मूल्यवान कम्पनीको स्थानसमेत हासिल गरेको छ।
एनभिडिया एआईका लागि आवश्यक चिप, कम्प्युटिङ प्रणाली र सफ्टवेयर निर्माण गर्ने विश्वकै अग्रणी प्रविधि कम्पनी हो। कम्पनीका जिपियू तथा अन्य प्रविधि एआई, डाटा सेन्टर, सुपरकम्प्युटिङ र वैज्ञानिक अनुसन्धानलगायतका क्षेत्रमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन्।
ह्वाङ एनभिडियाका सहसंस्थापकसमेत हुन् र सन् १९९३ देखि कम्पनीको नेतृत्व गर्दै आएका छन्। कम्पनीभित्र व्यापक रूपमा सूचना आदानप्रदान गर्ने र निर्णय प्रक्रियालाई छिटो बनाउने संस्कृतिको विकासमा पनि उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ।
एकातिर एआई प्रविधिको विश्वव्यापी विस्तारसँगै एनभिडियाले अभूतपूर्व व्यावसायिक सफलता हासिल गरिरहेको छ भने अर्कोतर्फ ह्वाङले नेपालको विपद् व्यवस्थापनका लागि गरेको १ करोड डलरको सहयोगले अन्तर्राष्ट्रिय स्तरमा समेत उनको नेपालप्रतिको सहयोगलाई अर्थपूर्ण बनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया