असोजमा पनि घट्यो वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर, औसत अधिकतम दर ४.०८९५ प्रतिशत
- BFIS News
- 2026 Sep 16 11:38
काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको मागमा अपेक्षित सुधार हुन नसक्दा नेपालका वाणिज्य बैंकहरूले असोज २०८३ का लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको हो।
असोजका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौको ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशतविन्दुले कम हो। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३.०८१ प्रतिशतबाट ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशतमा झरेको छ।
यसअघि पनि भदौमा बैंकहरूको औसत अधिकतम निक्षेप ब्याजदर घटेको थियो। भदौमा व्यक्तिगत निक्षेपको औसत दर साउनको ४.१६७५ प्रतिशतबाट ४.१३६ प्रतिशत तथा संस्थागत निक्षेपको दर ३.११६ प्रतिशतबाट ३.०८१ प्रतिशतमा झरेको थियो।
एभरेष्टको सबैभन्दा ठूलो कटौती
असोजमा ब्याजदर घटाउने बैंकमध्ये एभरेष्ट बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५० प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशतमा झारेको छ।
नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३० प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने ३.०१ प्रतिशतको दरलाई निरन्तरता दिएको छ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको दर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत तथा कुमारी बैंकले ०.०३ प्रतिशतविन्दुले घटाएर ३.७३ प्रतिशत कायम गरेका छन्। सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाउँदै २.७५ प्रतिशतमा सीमित गरेको छ।
सानिमाले बढायो संस्थागत निक्षेपको दर
अधिकांश बैंकले ब्याजदर घटाउँदा सानिमा बैंकले भने संस्थागत निक्षेपतर्फको ब्याजदर बढाएको छ। बैंकले संस्थागत निक्षेपको अधिकतम दर ०.२१ प्रतिशतविन्दुले वृद्धि गरी ३.५१ प्रतिशत पुर्याएको छ। व्यक्तिगत निक्षेपतर्फ भने ४.५० प्रतिशतकै दरलाई निरन्तरता दिएको छ।
व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। उपलब्ध दरमध्ये यो सबैभन्दा उच्च हो।
यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित १५ वटा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। ती बैंकहरूले भदौमा कायम गरेको दरलाई नै असोजमा निरन्तरता दिएका छन्।
अधिक तरलता र कमजोर कर्जा मागको प्रभाव
निक्षेपको ब्याजदरमा निरन्तर देखिएको गिरावटलाई बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र कर्जाको कमजोर मागसँग जोडिएको छ। नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिसहित मौद्रिक व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ।
बैंकहरूमा निक्षेप संकलन बढ्दै गए पनि त्यसअनुसार कर्जा विस्तार हुन नसक्दा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्था छ। यस्तो अवस्थामा निक्षेपका लागि बैंकहरूबीच हुने प्रतिस्पर्धा तुलनात्मक रूपमा कम हुँदा ब्याजदरमा थप दबाब परेको देखिन्छ।
अर्कोतर्फ, कर्जाको माग कमजोर हुँदा बैंकहरूको कर्जा–निक्षेप व्यवस्थापनमा समेत प्रभाव परेको छ। नयाँ व्यवसाय तथा लगानीका लागि कर्जाको माग अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूले निक्षेपको लागत घटाउने दिशामा ब्याजदर समायोजन गरिरहेका छन्।
निक्षेपको लागत घटेसँगै बैंकहरूको कोषको लागतमा समेत कमी आउने र त्यसको प्रभाव आधार दर तथा कर्जाको ब्याजदरमा पर्न सक्ने देखिन्छ। भदौमा २० वाणिज्य बैंकको आधार दरसम्बन्धी तथ्यांकमा पनि बैंकअनुसार फरक–फरक स्तरमा दर कायम रहेको देखिन्छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया