NIMB Header 2
Prabhu Mahalaxmi

बीमा दाबीमा सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउँदै प्राधिकरण

United Ajod
  • BFIS News
  • 2026 Sep 30 11:00
बीमा दाबीमा सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउँदै प्राधिकरण
IME LIFE

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउने भएको छ। सर्भेयर छनोटमा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले विकास गरिएको प्रणालीको परीक्षण सुरु गरिएको प्राधिकरणले जनाएको छ।

Nepal Life
NIMB

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार प्रणालीमा सबै सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ। असोज १२ गते साँझदेखि प्रणालीको परीक्षण सुरु गरिएको उनले बताए।

“हालसम्म सबै सर्भेयरको तथ्यांक प्रणालीमा प्रविष्ट भई असोज १२ गते साँझदेखि परीक्षण सुरु भइसकेको छ,” उनले भने।

नयाँ प्रणाली सञ्चालनसम्बन्धी निर्जीवन बीमा कम्पनीका आईटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइएको छ। त्यसपछि सर्भेयरलाई समेत प्रणाली सञ्चालनसम्बन्धी तालिम दिने तयारी प्राधिकरणको छ।

प्राधिकरणले सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि प्राप्त गरेको कामलगायतका आधारमा सर्भेयर छनोट हुने गरी प्रणाली विकास गरेको हो। पुनर्बिमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

हाल सर्भेयर छनोट वैज्ञानिक र पारदर्शी नभएको तथा एउटै सर्भेयरले बढी र अर्कोले कम काम पाउने गरेको गुनासो आउने गरेको छ। बीमा कम्पनीहरूले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत प्राधिकरणमा आउने गरेको छ। यस्ता समस्या सम्बोधन गर्न स्वचालित प्रणाली विकास गरिएको हो।

हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था छ। तर, कुन सर्भेयरले कति काम पाएको छ, कति सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण प्रभावकारी रूपमा व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको छ।

प्राधिकरणका अनुसार हाल प्रणालीमा ८८ जना संस्थागत सर्भेयर र बाँकी व्यक्तिगत सर्भेयर गरी ६८० जनाको विवरण प्रविष्ट भइसकेको छ।

मापदण्डका आधारमा प्रणालीले छनोट गर्ने

नयाँ प्रणालीमा कुनै बीमा दाबी दर्ता भएपछि सम्बन्धित ‘केस’ का लागि उपयुक्त सर्भेयर प्रणालीले नै छनोट गर्नेछ। सर्भेयरको विशेषज्ञता, भौगोलिक उपलब्धता, वरिष्ठता, कार्यभार र तत्काल काम लिन सक्ने अवस्थालगायतका निर्धारित मापदण्डका आधारमा छनोट गरिनेछ।

उदाहरणका लागि, सवारी दुर्घटनासम्बन्धी दाबी आएमा उक्त विषयमा विशेषज्ञता भएको, सम्बन्धित क्षेत्रमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ।

यसबाट बीमा कम्पनीका अधिकारीले प्रत्येक दाबीका लागि म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने अवस्था कम हुनेछ। साथै, सर्भेयरलाई काम वितरणमा समान अवसर र प्रक्रियागत पारदर्शिता कायम गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

प्राधिकरणका अनुसार प्रणाली विकासअघि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका आधार र प्यारामिटर तयार गरी सफ्टवेयर विकास अघि बढाइएको हो।

कामको विवरण पनि प्रणालीबाटै ट्र्याक हुने

प्रणाली सञ्चालनमा आएपछि सर्भेयरले प्राप्त गरेको काम, सम्पन्न गरेको काम तथा नयाँ काम लिन सक्ने अवस्थासम्बन्धी विवरणसमेत ट्र्याक गर्न सकिनेछ। यसले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्था पहिचान गर्न र नियन्त्रण गर्न सहयोग पुग्नेछ।

हाल बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन्। प्रणाली परीक्षणपछि यसको कार्यक्षमता र स्थिरतालाई केही समय नजिकबाट निगरानी गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रणालीको सुरक्षाका लागि फायरवाल, भीएपीटी (VAPT) लगायतका सुरक्षा परीक्षणसमेत गर्ने तयारी गरेको छ। प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि बीमा दाबीमा सर्भेयर छनोटसँग सम्बन्धित समय र लागत घट्नुका साथै क्षति मूल्यांकन तथा दाबी प्रक्रियामा हुने ढिलाइ र विवाद न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया