एसियन क्लियरिङ युनियनको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई
- BFIS News
- 2026 Nov 19 12:40
काठमाडौं । एसियन क्लियरिङ युनियन (एसीयू) को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकको आयोजनामा नोभेम्बर १७ र १८, २०२६ मा स्थायी प्राविधिक समितिको बैठक तथा सञ्चालक समितिको ५४औँ बैठक आयोजना गरिएको हो।
बैठकले सन् २०२६/२७ का लागि एसीयूको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको छ। अध्यक्षता ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्राको प्रयोगलाई प्रोत्साहन गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउन सहयोग पुग्ने बताए।
उनले एसीयूको उद्देश्यप्रति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै युनियनको द्विमासिक खुद फर्छ्योट (Bi-Monthly Net Settlement) प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउन सक्ने सम्भावित कठिनाइबाट जोगाउन सुरक्षा कवचका रूपमा काम गर्ने विश्वास व्यक्त गरे।
बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रा, सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा इरानको केन्द्रीय बैंकका डेपुटी गभर्नर डा. अस्गर अबोलहसनी हतियानीले परिचयात्मक मन्तव्य राखेका थिए भने एसीयूका महासचिव डा. मोज्तावा खलेसीले उद्घाटन मन्तव्य दिएका थिए।
त्यसैगरी, संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) का कार्यकारी सचिव आर्मिडा सल्सियाह अलिसजाहवानाले भिडियो सन्देशमार्फत बैठकलाई सम्बोधन गरेकी थिइन्।
भारतीय रिजर्भ बैंकका गभर्नर मल्होत्राले निर्वाध र प्रभावकारी सीमापार भुक्तानी तथा फर्छ्योटका लागि एसीयूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले संस्थागत सुदृढीकरण र निरन्तर कार्यसम्पादनका लागि सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
बैठकले एसीयू महासचिवको तर्फबाट प्रस्तुत सञ्चालक समितिको ५३औँ बैठकको कार्यवृत्त तथा सन् २०२४/२५ मा एसीयूको सञ्चालनसम्बन्धी प्रतिवेदन ग्रहण गरेको थियो। साथै, नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिको बैठकबाट गरिएका सिफारिसहरू अनुमोदन गरिएको थियो।
कार्यक्रममा सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ–आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा 'डिजिटल इकोनोमी एन्ड क्रस बोर्डर रिजनल कोअपरेसन रोडम्याप' विषयमा समेत छलफल भएको थियो। अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विषय बैठकका प्रमुख छलफलका क्षेत्र रहेका थिए।
यसैबीच, बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ। सञ्चालक समितिको आगामी बैठक सन् २०२७ जुनमा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका थिए। समापनपछि आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष सम्बोधन गरेका थिए।
अर्थमन्त्री वाग्लेले एसीयूले विगत ५० वर्षभन्दा लामो समयदेखि अन्तरदेशीय भुक्तानी सहजीकरणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौतीको सामना गर्न संस्थागत पारदर्शिता र सदस्य राष्ट्रहरूबीच आपसी विश्वास अपरिहार्य रहेको बताए।
अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले सन् १९७४ मा एसियन क्लियरिङ युनियन स्थापना भएको हो। इरानको तेहरानमा सचिवालय रहेको यस युनियनमा बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलंकासहित ११ मुलुकका केन्द्रीय बैंक आबद्ध छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया