के पैसा खराब छ ? के पैसाले हामीलाई धनी बनाउँछ ? (सुमन पौडेलको लेख)

  • सुमन पौडेल
  • 2023 Nov Thu 15:01
के पैसा खराब छ ? के पैसाले हामीलाई धनी बनाउँछ ? (सुमन पौडेलको लेख)

काठमाडौं । के पैसा खराब छ ? के पैसाले खराब बानी ल्याउँछ ? के पैसा खराब चीजहरुको मूल कारण हो ? यी प्रश्नहरु बारम्बार उठेका छन् । के हामीलाई थाहा छ ? हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठूलो असफलता के हो ? त्यो हो स्कूल र कलेजहरुमा वित्तीय शिक्षाको बारेमा केही पनि नपढाईनु । जीवनको सबैभन्दा महत्वपूर्ण कुरा पैसाको बारेमा हामीलाई स्कूल कलेजमा कहिल्यै पढाईदैन । हामीले विद्यालयमा पैसाको बारेमा कुन अध्यायमा कहिलै पढ्यौँ ? हामीलाई वित्तीय ज्ञान प्रदान गर्न कुन शिक्षक कहिले आउनुभयो ? यो धेरै लाजमर्दो कुरा हो । जीवनको सबैभन्दा महत्वपूर्ण कुराको ज्ञान हामीले सही र उत्तम उमेरमा प्राप्त गर्दैनौँ त्यो उमेर जसमा सिकेका कुराहरु मृत्युसम्म याद रहन्छ ।

 

आजको समयमा हामी पैसाको बारेमा सोच्दैछौ जुन भविष्यको लागि जीवनमा अक्सिजन जत्तिकै महत्वपूर्ण छ । जब हामीले कोही धनी मानिस महँगो कार चलाउँदै पाँच तारे होटलमा खाना खाईरहेका देख्छौँ हामीलाई लाग्छ त्यो मानिसले कुनै न कुनै गैर कानुनी कामबाट आर्जित सम्पत्ति उडाईरहेको हुनुपर्छ । मेहनत र इमानदारीले यति धेरै पैसा कसैले कमाउन सक्दैन, धेरै मानिसहरुको यो सोच आज पनि परिवर्तन भएको छैन । धेरै मानिसहरु अझै पनि पैसाको माया सबै खराब चीजहरुको कारण हो भन्नेमा विश्वास गर्छन् तर पैसालाई माया गर्नु नराम्रो कुरा होइन ।

पैसाको अभाव हुनु एकदमै नराम्रो कुरा हो । केही मानिसहरु भन्छन् सबै कुरा राम्रो छ तर पैसा कमाउन धेरै गाह्रो छ । त्यसोभए, के गरिब रहन सजिलो छ ? धनी मानिस एक पटक मर्छ तर गरिब जीवनमा धेरै पटक मर्छ । पैसा नराम्रो होइन, नराम्रो कुरा के हो भने हामी त्यही काम गरिरहन्छौँ जसलाई मनदेखि घृणा गछौँ । बिहानदेखि बेलुकासम्म काम गरेर पनि हात खाली हुन्छ भने यो नराम्रो हो । अधिकांश जनता ऋणमा जाँदैछन यो नराम्रो हो । दाजुभाईहरु पैसाको लागि लडिरहेका छन् यो नराम्रो हो । पैसाको लागि अवैध काम गर्नु यो नराम्रो हो । त्यसैले पैसा कसरी खराब छ ? पैसा त पैसै हो ।

आजको सबैभन्दा ठूलो प्रश्न के हो भने, के पैसाले हामीलाई धनी बनाउँछ ? सोचौँ, केही मानिसहरुले भन्नेछन् पक्कै पनि बनाउँछ तर पैसाले हामीलाई धनी बनाउँदैन । हामीले करोडपति बनेपछि पनि ऋणमा डुबेका धेरै मानिसहरुलाई देखेका छौ । कतिपय मानिसहरु पनि छन् जसको घर लिलामी भयो र उनीहरु सडकमै छन् कुनै बेला उनीहरुसँग अथाह सम्पत्ति थियो । कौन बनेगा करोडपति का विजेता सुनिल कुमार ५ करोड जितेर धनी बनेका थिए तर आज उनी साधारण जीवन जिइरहेका छन् । यहाँ धेरै उदाहरणहरु छन् जहाँ मानिसहरुले पैसा कमाए तर पैसाको बारेमा उनीहरुको सोच विल्कुल शून्य थियो र उनीहरुको अवस्था पहिलेको भन्दा खराब हुदै गयो । पैसा कमाउनु भन्दा पैसा बुझ्नु महन्वपूर्ण छ । एकजना मानिसले गल्फ क्लबको धेरै महँगो सदस्यता खरिद गर्यो सायद उ खेलको लागि पागल हुन सक्छ । उसले बजारबाट धेरै महँगो गल्फ स्टिक्स र पञ्जाहरु किनेको थियो तर गल्फका सबै उन्नत उपकरण भए पनि उसको खेल निकै औसत थियो । किनभने उसले गल्फ सिक्न पैसा खर्च गरेन । यदि उसले गल्फ क्लासमा लगानी गरेको भए उसको गल्फ अझ राम्रो हुन सक्थ्यो । हाम्रो पनि यस्तै अवस्था छ । आफ्नो मिहिनेतले कमाएको पैसाबाट हामीले करोडौँ रुपैया सम्पत्तिमा लगानी गछौँ, शेयर बजारमा लगानी गछौँ, धेरै महँगो कार किन्छौँ, विदेश भ्रमणमा पैसा खर्च गछौँ तर वित्तिय ज्ञानमा हाम्रो लगानी शून्य छ ।

धेरैलाई लाग्न सक्छ पैसा बनाउनको लागि पैसा चाहिन्छ । यो पूर्णतया सत्य होइन । यदि हामी पैसा बिना पैसा बनाउन सक्दैनौँ भने हामी पैसाले पनि पैसा बनाउन सक्दैनौँ । पैसा कमाउनको लागि पैसा होईन पैसाको समझ हुनु धेरै महत्वपूर्ण छ यसको लागि वित्तिय ज्ञान अझ महत्वपुर्ण छ । सुन होस् वा सम्पत्ति, शेयर बजार होस् वा आफ्नो कडा परिश्रम यी सबैैले हामीलाई कहिल्यै धनी बनाउँदैन । यिनीहरुको बारेमा जुन ज्ञान छ त्यही ज्ञानले हामीलाई धनी बनाउँछ । के घर जग्गाले हामीलाई धनी बनाउँन सक्छ ? केही मानिसहरु पक्कै बनाउछ भन्नेछन् तर घरजग्गाले कसैलाई धनी बनाउँदैन । हामीलाई घरजग्गाको बारेमा कत्तिको गहिरो ज्ञान छ, हामीले लगानी गर्नु अघि कत्तिको अध्ययन गयौँ, यी कुराहरुले हामीलाई घरजग्गामा सफल हुने नहुने निर्धारण गर्छ । हामीले यस्ता मानिसहरु पनि देखेका छौ जसको पैसा घरजग्गामा हराएको छ किनभने उनीहरुसँग घरजग्गा छ तर घरजग्गाको ज्ञान छैन । त्यस्तै शेयर बजारले धनी बनाउँदैन । शेयर बजारको बारेमा हामीलाई कत्तिको गहिरो ज्ञान छ यसले हामीलाई धनी बनाउँछ । निष्कर्ष यो हो कि हामी जुनसुकै क्षेत्रमा भएपनि त्यसमा हाम्रो कति गहिरो ज्ञान छ, कति धेरै डुब्न सक्छौँ यसले निर्धारण गर्छ हामी कति सफल हुन्छौँ भनेर ।  हामीलाई थाहा छ मोती गहिरो पानीमा नै पाइन्छ ।

पैसाको समस्या गरिबलाई मात्रै हो कि धनीलाई पनि हुन्छ ? गरिबलाई मात्र पैसाको समस्या छ भनेर नसोचौँ । गरिबलाई पैसाको समस्या हुन्छ तर धनीलाई पनि हुन्छ । गरिबलाई पैसाको समस्या र धनीलाई पैसाको समस्या फरक फरक हुन्छ । गरिबलाई पैसाको सबैभन्दा ठूलो समस्या पैसा नहुनु हो । पैसाको अभाव पूरा गर्न ऋण लिनु गरिबको दोस्रो ठूलो समस्या हो । यदि कुनै आपतकालीन घटना भयो भने गरिबहरु लगभग मर्छन् । यदि उनीहरुले कहि कतै सल्लाहाकार पाए र त्यो पनि गलत सल्लाहाकार भयो भने सानो जम्मा भएको बचत पनि गुमाउँछन् । सेवानिवृत्तिमा पैसा नहुँनु गरिबको अर्को समस्या हो । यी गरिबका समस्याहरु हुन् । अब, धनीको बारेमा चर्चा गरौँ । हो, धनीहरुलाई पनि पैसाको समस्या हुन्छ । सबैभन्दा ठूलो समस्या त उनीहरुसँग धेरै पैसा हुनु हो । विश्वास गरौँ यो पनि एउटा समस्या हो । दोस्रो समस्या पैसा कहाँ लगानी गर्ने भन्ने हुन्छ । कहिलेकाहीँ धेरै पैसाको कारण बच्चाहरु बिग्रन्छन्, यो पनि समस्या हो । यस्तो होईन कि सबै समस्या गरिबको हुन्छ, धनीको पनि आफ्नै समस्या हुन्छ । हामी धनी होस् या गरिब, सबैलाई पैसाको समस्या छ । मानिसहरु सोच्छन् जब पैसा आउँछ समस्या समाप्त हुन्छ तर त्यसो होइन पैसाले विभिन्न समस्या ल्याउँछ पनि ।

एउटा भनाई छ, महिलाको उमेर र पुरुषको कमाई कहिल्यै नसोध्नुहोस् । एउटा तलब र अर्को तलबको बीचमा आम मानिसको जीवन बित्छ र भनिन्छ हामीजस्ता मध्यमवर्गीय परिवारको सोच निकै खराब छ । पैसाको बारेमा तीन गलत धारणाहरु देख्न सकिन्छ ।

१. मेहनत गरेर पैसा कमाइन्छ ।

२. शिक्षाबाट पैसा कमाउन सकिन्छ ।

३. राम्रो जागिरले पैसाको समस्या समाप्त गर्छ ।

कडा परिश्रम गरेर मात्र पैसाको समस्या समाधान गर्न सकिँदैन । संसार त्यस्ता मेहनती मानिसहरुले भरिएको छ जोसँग पैसा छैन । परिश्रम गर्नेहरुले पैसा कमाउँछन् तर ठूलो ऋणमा फस्ने गरेका छन् । राम्रो शिक्षाले पैसाको समस्या समाधान गर्न सक्छ तर संसार धेरै शिक्षित तर गरिब मानिसहरुले भरिएको छ । के जागिरले पैसाको समस्या समाधान गर्न सक्छ ? सक्दैन पटक्कै सक्दैन । जागिरले मात्र पैसाको समस्या समाधान गर्न सक्दैन किनकी लाखौँ मानिसहरु उनीहरुको जागिरले आफ्नो जीवीकोपार्जन मात्र गरेका छन् । जागिरबाट उनीहरुले आफ्नो जीवन शैली कहिल्यै उकास्न सकेका छैनन् । त्यसैले यी गलत धारणाहरु आजै देखि त्यागौँ र पैसाको बारेमा सही ज्ञान राख्दै सफल बाटो तर्फ अघि बडौँ ।

(लेखक पौडेल त्रिभुवन विश्व विद्यालयका विभिन्न क्याम्पसमा अध्यापन गराउदै आएका छन् । उनि सिद्धार्थ बैंकमा कार्यरत गर्छन् )

यो पनि पढ्नुहोस्

नकारात्मक सोच तपाईको सफलताको शत्रु

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया