Nepal Life

अर्थमन्त्रीमा वर्षमान लगभग पक्का, सेयर बजारमा कस्तो पर्ला असर?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 14:20
अर्थमन्त्रीमा वर्षमान लगभग पक्का, सेयर बजारमा कस्तो पर्ला असर?
Sanima Reliance

काठमाडौं । नवगठित गठबन्धनले मुख्य मन्त्रालयको भागबण्डा करिब-करिब टुङ्गो लगाएका छन्। आज बसेको गठबन्धन बैठकमा करिब सहमति भएको बताइएको छ।

NIMB

सहमतिअनुसार अर्थमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। माओवादीबाट अर्थमा वर्षमान पुनलाई पठाउने सम्भावना उच्च रहेको छ। उनको अर्थमा आउने चर्चा पहिले देखि नै चल्दै आएको थियो। सहमति अनुसार अर्थ माओवादीको भागमा परेपछि उनी अर्थमन्त्री बन्ने अब लगभग पक्का नै भएको छ।

यसअघि एमालेका विष्णु पौडेलको नाम पनि अर्थमन्त्री बन्नसक्ने सूचीमा आएपछि सेयर बजार ह्वात्तै बढेको थियो। तर, पुनको भागमा अर्थ पर्ने सम्भावना बढेपछि मंगलबार सेयर बजारमा ठूलो गिरावट देखिएको थियो। पौडेल सेयर बजारका लागि 'फेवरेट' मानिन्छन्। पुन यसअघि एकपटक अर्थमन्त्री भइसकेका व्यक्ति हुन्। तर, उनले बजेट भने ल्याउन पाएका छैनन्। पुनलाई सेयर बजारका लगानीकर्ताले कसरी हेर्छन् भन्ने विषय भने हेर्न बाँकी छ।

तर, प्राय: माओवादी नेताहरुको नाम अर्थमा आउनेवित्तिकै सेयर बजारमा नकरात्मक असर देखिन थाल्छ। विगतमा प्रधानमन्ती हुँदा प्रचण्डले दिएका अभिव्यक्ति, डा. बाबुराम भट्टराई र जनार्दन शर्माले विगतमा गरेका काम र उनीहरुका अभिव्यक्ति तथा सेयर बजारमा देखाएको अनुदारताका कारण पनि सेयर बजारका लागि माओवादी नेताहरु खासै लोकप्रिय मानिँदैनन्।

सोमबार तीनपटकसम्म सकारात्मक सर्किट लागेको बजार अर्को दिन मंगलबार माओवादी नेता वर्षमान पुन नयाँ अर्थमन्त्री हुने चर्चासँगै तीव्र गतिमा ओरालो लागेको थियो। अघिल्लो दिन जसरी उर्लिएको थियो मंगलबार त्यसैगरी ओरालो लागेको थियो।

अर्थतन्त्रको परिदृश्यका रूपमा लिइने सेयर बजार अर्थमन्त्रीले ल्याउने नीति र कार्यक्रममा निर्भर हुने भएकाले मन्त्रीको नाममा हुने चर्चासँगै सेयर बजारमा उतारचढाव हुने गर्छ। लगानीमैत्री नेताको नाम अर्थमन्त्रीका रूपमा चर्चा हुँदा नेप्से बढ्ने र सेयर बजारप्रति अनुदार मानिएका नेताको चर्चा हुँदा नेप्से घट्ने गर्छ।

यस्तै माओवादीले परराष्ट्र मन्त्रालय पनि पाउने सहमति भएको बुझिएको छ। यसमा नारायणकाजी श्रेष्ठलाई पठाउने तयारी छ।

स्रोतकाअनुसार एमालेले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय लिने छ। नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको छ।  

रास्वपाले गृह, शिक्षा, श्रम र युवा तथा खेलकुद लिनेछ । रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यस्तै डीपी अर्याललाई श्रम मन्त्रालय नै दिने तयारी रास्वपाको छ। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने रास्वपाको तयारी छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया