अर्थमन्त्री र महासंघ कार्यसमिति भेटवार्ता, सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यकः अध्यक्ष ढकाल

  • BFIS News
  • 2024 Mar Thu 19:16
अर्थमन्त्री र महासंघ कार्यसमिति भेटवार्ता, सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको वताएका छन् । 

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा विहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पूजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्ने वताए । 

सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन, उनले भने, त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने वताए । 

अध्यक्ष ढकालले मन्त्री पुनलाइ निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने वताए । निजी क्षेत्र भन्नाले ठूलो उद्योग देखि गाउँको किराना पसलसम्म हो, अध्यक्ष ढकालले भने, सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ । 

यसैगरि राजश्व कम उठिरहेको समयमा धरपकड गरि राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार बर्ष अगाडि राजश्वले टुंग्याएको बिषयलाई महालेखा परिक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए । सरकारले खर्च नगरि विश्वास बढने यस्ता बिषयमा कन्जुस्याइ गर्नु हुँदैन, उनले भने, यी साना बिषय जस्ता देखिएपनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउछ ।

अध्यक्ष ढकालले जुनसुकै पार्टि भएपनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहे को कुरा पनि अर्थमन्त्री लाइ अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए । 

अध्यक्ष ढकालले बैंक वित्तिय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढने तर्फ सजग गराउँदै यसको संवेदनशीलता बुझ्न आग्रह गरे । ‘बैंक वित्तिय संस्थाको ऋण तिर्नु नपर्ने भनि गलत प्रचार प्रसार भैरहेको छ, अध्यक्ष ढकालले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ ।

भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाइ विस्वासमा लिएर अगाडी बढ्ने वताए । उनले निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिबध्दता रहेको जानकारी पनि गराए । 

मन्त्री पुनले कुनै समुदाय प्रति अपराधीजस्तो व्यवहार नगरिने वताए । निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसंग पनि समन्वय गरिने वताए । गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो । राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने वताए । ‘यो मेरो जिम्मेवारी हो, मन्त्री पुनले भने, ‘म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया