आरक्षणमा पाएको शेयर सुरुमै बिक्री गरे पछि म्युचुअल फण्ड प्रति लगानीकर्ताको आक्रोस

  • BFIS News
  • 2023 Aug Mon 18:06
आरक्षणमा पाएको शेयर सुरुमै बिक्री गरे पछि म्युचुअल फण्ड प्रति लगानीकर्ताको आक्रोस

काठमाडौं । म्युचुअल फण्डले आरक्षणमा प्राप्त गरेको शेयर सुरुमै बिक्री गरे पछि दोस्रो बजारका लगानीकर्ता आक्रोसित भएका छन् । नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई स्थायित्व प्रदान गर्ने भन्दै म्युचुअल फण्डलाई प्राथमिक निष्काशनको ५ प्रतिशत कोटाको रुपमा आरक्षित गर्ने व्यवस्था गरेको छ ।

प्राथमिक शेयर ‘आइपिओ’को ५ प्रतिशत शेयर म्युचुअल फण्डका लागि सुरक्षित गरेर मात्रै बिक्री गरिन्छ । दोस्रो बजारलाई स्थायित्व दिने हिसावले एउटा इन्ट्रुमेन्टका रुपमा म्युचुअल फण्डलाई धितोपत्र बोर्डले संरक्षण प्रदान गर्दै आएको छ । तर म्युचुअल फण्डका कतिपय गतिविधिले दोस्रो बजारका लगानीकर्तालाई आक्रोसित बनाउने गरेको छ । कहिले दोस्रो बजारमा लगानी नगरी आफ्नो कोषको रकमलाई बैंकको मुद्दती निक्षेपमा जम्मा गरेर बस्ने त कहिले आरक्षणमा प्राप्त गरेको शेयर दुई तीन दिनमै बिक्री गरेर बजारमा सप्लाइ दिनेसम्मका काम भएका छन् ।

यस्तै घटना आइएमई लाइफ र नेपाल रिपब्लिक मिडायाको शेयरमा देखिएको छ । म्युचुअल फण्ड र वैदेशिक रोजगारमा गएका नेपालीलाई बाहेक सर्वसाधारणलाई बढिमा १० कित्ता शेयर मात्रै बाँडफाँड भएको छ । तर आज आइएमई लाइफको एउटै कारोबार तीन हजार कित्तासम्मको भएको छ । सुरुमै यति धेरै शेयर म्युचुअल फण्ड बाहेक अरुले बिक्री गर्ने अवस्था छैन ।

म्युचुअल फण्डले कोटामा पाएको शेयर बिक्री गरेर घटाउने काम गरेको बजार विश्लेषक नवराज दाहाल बताउछन् । उनले भने ‘म्युचुअल फण्डले शेयर बजारलाई स्थायित्व दिन्छ भन्ने हिसावले प्राथमिक शेयरमा कोटा छुट्याइयो तर उनिहरुले बजार घटेको समयमा स्थायित्व ल्याउनु पर्नेमा उल्टै कोटामा प्राप्त भएको शेयर बिक्री गरेर घटाउने काम गरे ।’ उनले थपे, यसरी बजार घटाएर फेरि खरिद गर्ने ट्रेण्ड बनेको छ ।

प्राय म्युचुअल फण्ड बैंकले लगानी गरेका मर्चेन्ट बैंकबाट सञ्चालित छन् । म्युचुअल फण्डलाई बैंक वित्तीय संस्थामा लगानी गर्ने ठुला लगानीकर्ता सहितले परिचालिन गरेको दाहालको आरोप छ । यसरी ठुला लगानीकर्ताले म्युचुअल फण्डलाई प्रयोग गरेर बजार घटाउने अनि सस्तोमा शेयर खरिद गर्ने काम भइरहेको हुँदा यसलाई नेपाल धितोपत्र बोर्डले हेर्नु पर्ने लगानीकर्ताहरुको माग छ ।

शेयर बजारलाई ठुला लगानीकर्ताले घटाउन बढाउन विभिन्न उपाय अपनाउनु स्वभाविक हो । तर सर्वसाधारणको गास काटेर आरक्षित गरिएको क्षेत्रलाई प्रयोग गरेर म्यानुपुलेसन गर्नु उचित नभएको बजार विश्लेषकहरु बताउछन् ।  

आज दोस्रो बजार म्युचुअल फण्डकै कारणले घटेको दाहालको आरोप छ । यहि कारणले लगानीकर्ताहरुले म्युचुअल फण्डलाई आरक्षित शेयर दिनु नहुने भन्दै आवाज उठाइरहेको उनले बताए । उनले थपे ‘आरिक्षित शेयर म्युचुअल फण्डलाई दिनु भन्दा भन्दा वैदेशिक रोजगारमा गएका नेपालीलाई दिनु पर्छ । म्युचुअल फण्डले आजको दिनसम्ममा शेयर बजारलाई हित हुने गरि के काम गरेका छन् ताकी हामीले उनिहरुलाई आरक्षण गर्नु पर्ने ।’ म्युचुअल फण्डले केमा कसरी लगानी गर्छन् भनेर आजसम्म पनि पारदर्शी रुपमा देखाएका छैनन्, उनले थपे । यद्दपी म्युचुअल फण्डले हरेक महिना न्याभ रिपोर्ट मार्फत आफुले लगानी गरेका कम्पनीको विवरण सार्वजनिक गर्ने गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार