विश्वमा तीन शताब्दी भन्दा लामो इतिहास बोकेको म्युचुअल फण्ड, नेपालमा किन सफल हुन सकिरहेको छैन ?

  • मेखबहादुर थापा/पोस्कर बस्नेत
  • 2024 Jun Sat 14:04
विश्वमा तीन शताब्दी भन्दा लामो इतिहास बोकेको म्युचुअल फण्ड, नेपालमा किन सफल हुन सकिरहेको छैन ?

काठमाडौं । विश्वमा तीन शताब्दीभन्दा लामो इतिहास बोकेको सामूहिक लगानी कोषको सुरुआत सन् १७७४ मा नेदरल्यान्ड्सबाट भएको हो । पहिलो पटक यस्तो प्रकारको वित्तीय मोडेलको सुरुआत गर्ने श्रेय इतिहासकारहरूले अब्राहम भान केटविच (Abraham Van Ketwich) नाम गरेका एक डच व्यापारीलाई दिने गरेका छन् । सन् १७७४ भान केटविचले आफ्ना ग्राहकहरूले लगानीबाट ठूलो घाटा व्यहोरेपश्चात तिनीहरूलाई घाटाबाट उकास्ने सोंचका साथ 'Unity Makes Strength' नामक सामूहिक लगानी कोषको निर्माण गरेका थिए । सो कोषको अवधारणा नै साना र मध्यम स्रोत भएका नागरिकहरूमार्फत रकम संकलन गरी लगानी विविधीकरण गर्नु रहेको थियो ।

यसरी सुरुआत भएको कोषको अवधारणालाई त्यसपछि अरू धेरै व्यपारीहरूले अनुशरण गरेका थिए । अठारौँ र उन्नाइसौँ शताब्दीसम्म आईपुग्दा यस किसिमको अवधारणा युरोप र संयुक्त राज्य अमेरिका हुँदै विश्वभर फैलिसकेको थियो । तीब्र गतिमा फैलिरहेको केटविचको अवधारणा बिशेष गरी इंग्लैंड र फ्रान्समा चर्चित रहेको थियो । पछि इंग्लैंडमा यो अवधारणाको संरचनालाई केही परिवर्तन गरी ईन्भेष्टमेन्ट ट्रष्टको रूपमा परिमार्जन गरियो, जसलाई अहिलेको आधुनिक युगमा बन्दमुखी कोष (Closed End Fund) को रूपमा लिन सकिन्छ र त्यसपछि लण्डनमा सन् १८६८ 'The Foreign and Colonial Government Trust' नामक ईन्भेष्टमेन्ट ट्रष्ट सञ्चालनमा आयो जसको अहिले पनि लण्डन स्टक एक्सचेञ्जमा कारोबार हुने गर्दछ ।

तत्पश्चात, ईन्भेष्टमेन्ट ट्रष्टको अवधारणा अनुरूप नै अमेरिकालगायत विभिन्न मुलुकहरूमा सामूहिक लगानी कोष सञ्चालन भएको पाईन्छ । सन् १८९३ मा आएको 'The Boston Personal Property Trust नामको ईन्भेष्टमेन्ट ट्रष्टलाई अमेरिकाको पहिलो बन्दमुखी सामूहिक लगानी कोष भन्ने गरिन्छ । यसरी सामूहिक लगानी कोषको अवधारणामा परिमार्जन हुँदै र विभिन्न विशेषताहरू थपिदै बिशौं शताब्दीमा आएर विश्व अर्थतन्त्रमा पहिलो खुलामुखी सामूहिक लगानी कोष 'The Massachusetts Investors Trust (MITTX)' सन् १९२४ देखि अमेरिकामा सञ्चालनमा रहिआएको छ ।

छिमेकी राष्ट्र भारतमा भने यसको सुरुआत सन् १९६३ मा भारतीय सरकार र भारतीय केन्द्रीय बैँकको अग्रसरतामा 'Unit Trust of India (UTI)' नामको कोषको संचालनसँगै भएको पाइन्छ र सन् १९८७ मा पब्लिक सेक्टरको पहिलो सामूहिक लगानी कोष 'SBI Mutual Fund' आएसँगै विभिन्न पब्लिक सेक्टर बैंक र इन्सुरेन्स कम्पनीमार्फत् अरू धेरै योजनाहरूले बजारमा प्रवेश पाएको देखिन्छ । योसँगै सन् १९९३ पछि प्राइभेट सेक्टर फण्डहरूले पनि बजारमा प्रवेश पाएसँगै हालसम्म भारतीय पूँजी बजारमा म्युचुअल फण्डले ठूलो हिस्सा ओगटिसकेको छ ।

नेपालमा सामूहिक लगानी कोषको विकासक्रमः

विश्व इतिहासमा सामूहिक लगानी कोषको सुरुआत केही शताब्दी अगाडि रहेको भएता पनि नेपालमा भने बि.स. २०५० सालतिर मात्र यसको सुरुआत भएको थियो र सामूहिक लगानी कोष नियमावली २०६७ जारी भएपश्चात सामूहिक लगानी कोषको स्थापना बढ्दै गएको पाइन्छ । अन्तर्राष्ट्रिय बजार र छिमेकी राष्ट्रहरूको दाँजोमा नेपालमा यसको विकास सोचे अनुरूप नभएको नै मान्नु पर्छ । आजसम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा सामूहिक लगानी कोषको विकासक्रम

प्रथम चरण (२०५०–२०६९):

नेपालमा सामूहिक लगानी कोष नियमावली आउनुपूर्वको समयावधिलाई पहिलो चरणको रूपमा लिन सकिन्छ । बि.स. २०५० सालमा एनआईडीसी क्यापिटल मार्केट्स लि. (हाल सनराईज क्यापिटल लि.) ले बजारमा 'NIDC Mutual Fund' ल्याए सँगै नेपालमा सामूहिक लगानी कोषको धितोपत्र बजारमा औपचारिक सुरुआत भएको हो ।

उक्त कोष रू. १० अंकित मूल्यमा जारी गरिएको खुलामुखी सामूहिक लगानी कोष रहेको थियो । स्पष्ट नियमावली तथा निर्देशिकाको अभावले गर्दा सो कोषले उद्देश्य अनुरूप आफ्नो भूमिका बहन गर्न नसकेको तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै बि.स. २०५९ मा सोही योजनालाई 'NIDC Mutual Fund 2059’ नामबाट रू. १० अंकित मूल्यमा

१ करोड एकाई बराबरको १० बर्षको समाप्ति समय तोकी बन्दमुखी सामूहिक कोष योजनाको रूपमा परिणत गरी सञ्चालनमा ल्याएको थियो । यसैबीच नागरिक लगानी कोष ऐन २०४७ अन्तर्गत स्थापना भएको संस्था नागरिक लगानी कोषले बि.स. २०५२ मा ईन्भेष्टमेन्ट ट्रष्टको अवधारणा अनुरूप 'Citizen Unit Scheme' नामको योजना रू. १०० प्रति एकाइ अंकित मूल्यमा बजारमा ल्याएको थियो । यो योजना हाल सामूहिक लगानी कोष नियमावली २०६९ अन्तर्गत सञ्चालनमा रहेको छ । यस अनुसार सामूहिक लगानी कोष नियमावली आउनु अगाडिको चरणलाई प्रथम चरणको रूपमा लिन सकिन्छ ।

दोस्रो चरण (२०७०–२०७५):

यस चरणमा धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको स्थापना गरी बजारमा सामूहिक लगानी कोषलाई नियमन गर्ने उद्देश्यका साथ सामूहिक लगानी कोष नियमावली २०६९ जारी गरिसके पश्चातको समयलाई लिन सकिन्छ । यसरी नियमावली आईसकेपश्चात नेपालमा सामूहिक लगानी कोष योजनाहरूको प्रवेशले तीब्रता पाएको देखिन्छ । यसैबिच बि.स. २०६९ मा सिद्धार्थ म्युचुअल फण्ड अन्र्तगत सञ्चालित 'Siddhartha Investment Growth Scheme-1' लाई उक्त नियमावली जारी भएपश्चात नेपालको पहिलो सामूहिक लगानी कोष योजनाको रूपमा लिन सकिन्छ ।

तेस्रो चरण (२०७६ पछि):

 सामूहिक लगानी कोष नियमावलीअन्र्तगत पहिलो खुलामुखी लगानी कोष योजनाले बजारमा प्रवेश पाए सँगै नेपालमा सामूहिक लगानी कोषको बजार एउटा अर्को चरणमा प्रवेश गरेको मान्न सकिन्छ । आगामी दिनहरूमा अरू पनि यस्ता किसिमका योजनाहरू आउने क्रममा रहेका र यस क्षेत्रप्रति आम लगानीकर्ताको चासो एंवम सहभागिता उत्साहजनक ढंगले बृद्घि भई बजारको आकार समेत विस्तार हुने देखिन्छ ।

नेपालमा सामूहिक लगानी कोषको सम्भावनाः

विश्व अर्थतन्त्र, दक्षिण एसियाली राष्ट्रहरू साथै छिमेकी मुलुक भारतको उदाहरण लिने हो भने पनि नेपालको पूँजी बजारको क्षेत्रमा सामूहिक लगानी कोषको प्रचुर सम्भावना रहेको देखिन्छ । सामूहिक लगानी कोषले साना साना लगानीकर्ताहरूको लागि लगानीको वातावरण बनाई उनीहरूलाई आर्थिक बृद्घिबाट लाभ लिन सक्ने अवस्थासम्म पुर्याउन सक्दछ । देशमा छरिएर रहेको वचतलाई अल्पकालीन र दीर्घकालीन लगानीका उपकारणको रूपमा यसलाई प्रयोग गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउन र समग्र देश विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

देश अब राजनीतिक स्थिरतासँगै देशभरिको पूँजी परिचालन गर्दै उच्च आर्थिक बृद्घिदरको लक्ष्य हासिल गर्न अगाडि बढेको अवस्था र पछिल्लो समय नेपालको धितोपत्र बजारप्रति सर्वसाधारण जनताको आकर्षण बढ्दै गैरहेको र समग्र पूँजी बजार विस्तारको लागी सरकारी स्तरबाटै विभिन्न कदमहरू चालिसकिएको अवस्थामा सामूहिक लगानी कोषले आफ्नो दायरा विस्तार गर्दै देशभर छरिएर रहेको लगानीयोग्य रकमलाई एकीकृत गर्दै पूँजी बजारमा भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । यसरी हेर्ने हो भने यसक्षेत्रको विकास र विस्तारसँगै नेपालभित्र भएको पूँजी परिचालन हुने मात्र नभई वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई पनि यस्तो लगानी योजनामार्फत सहभागी गराउँदै नेपालको पूँजी बजारको विस्तार गर्न सकिन्छ । साथै पछिल्लो समय गैर आवासीय नेपालीको लगानी धितोपत्र बजारमा भित्र्याउन प्रयास भैरहेको र त्यस्तो व्यवस्था गर्न सामूहिक लगानी कोष योजनालाई एउटा उपयुक्त उपकरणको रूपमा उपयोग गर्न सकिने देखिन्छ ।

नेपालको दोस्रो बजारमा देखिने अस्थिरतालाई विश्लेषण गर्ने हो भने सर्वसाधारण नेपाली लगानीकर्ता उच्च जोखिममा रहेको देखिन्छ जसले गर्दा पनि नेपालको पूँजी बजारमा सहभागी भैसकेका लगानीकर्ताहरू पनि त्यस्ता अनियन्त्रित जोखिम बहन गर्न नसकेर बजारबाट बाहिरिने अवस्था सिर्जना हुने जोखिम देखिन्छ । यस्तो अवस्था नहोस् भन्नका लागि बजारमा संस्थागत लगानीकर्ताहरूको सहभागिता अभिबृद्घि गर्दै र ती संस्थाहरूमार्फत आम लगानीकर्ताहरूलाई सहभागी गराउन सके बजार नियन्त्रित भई लगानीकर्ताको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्न सक्दछ । साथै त्यस्ता संस्थागत लगानीको रूपमा सामूहिक लगानी कोषलाई एक उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । यसरी पूँजी बजारमा संस्थागत रूपमा लगानी परिचालन हुन सकेमा धितोपत्रसम्बन्धी साक्षरता अभिबृद्घि गर्दै बजारलाई लगानी मैत्री, स्वच्छ, पारदर्शी, जोखिममुक्त र प्रभावकारी लगानी क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

नेपालमा सामूहिक लगानी कोष विकासका लागि चाल्नु पर्ने कदमहरूः

नेपालमा यस क्षेत्रको माथि उल्लेखित सम्भावनाहरूलाई दृष्टिगत गर्दै यसको विकास र देश तथा विदेशमा बस्ने नेपालीहरूलाई सहभागी गराउनको लागि नीतिगत परिमार्जन गर्दै उलेख्य कदमहरू चाल्नु पर्ने देखिन्छ । नेपालको धितोपत्र तथा वस्तु बजारको नियमन निकायले यस सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (International Organisation of Securities Commissions-IOSCO) को एसोसिएट सदस्य भैसकेको पृष्ठभूमिमा पनि नेपाली सामूहिक लगानी कोषको क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउँदै सोही बमोजिम प्रविधि, कानूनी संरचना तथा नियमन क्षमता अभिवृद्धि गर्नु पर्ने चुनौती देखिन्छ । यसै सन्दर्भमा यस क्षेत्रको दायरा विस्तार गर्नका लागी नेपाल सरकार, धितोपत्र बोर्ड तथा अन्य बजार सहभागीहरूबाट अन्तर्राष्ट्रिय बजार र व्यवहारिक पक्षलाई मध्यनजर गर्दै महत्वपूर्ण कदमहरू चाल्नु पर्ने हुन्छ । यस क्षेत्रको विकासका लागी तत्काल चाल्नु पर्ने केही महत्वपूर्ण नीतिगत तथा व्यवहारिक कदमहरूको बारेमा तल संक्षिप्त विश्लेषण गरिएको छ ।

१) कोषले गर्ने लगानी क्षेत्रहरूको दायरामा नीतिगत सुधारको आवश्यकताः

हालको व्यवस्था अनुरूप सामूहिक लगानी कोषले लगानी गर्न सक्ने क्षेत्रको दायरा एकदमै सांगुरो रहेको पाईन्छ । अहिले धितोपत्र बजारका उपकरणहरू र बैंक निक्षेपमा मात्र लगानी गर्न मिल्ने व्यवस्था रहेको छ । कोषबाट परिचालन हुने रकमबाट आउने प्रतिफल धितोपत्र बजारमा मात्र निर्भर रहनु पर्ने अवस्था रहेको छ र लगानी जोखिमलाई न्यूनीकरण गर्न नीतिगत रूपमै अप्ठ्यारो वातावरणको सिर्जना भएको छ । यसर्थ यो क्षेत्रले लगानीकर्तालाई सोचे अनुरूपको प्रतिफल दिन सकिरहेको छैन ।

नेपालमा वस्तु विनिमय (कमोडिटि डेरिभेटिभ) बजारको नियमन गर्ने निकाय पनि नेपाल धितोपत्र बोर्ड नै रहेकोमा अब चाँडोभन्दा चाँडो यसलाई कार्यान्वयनमा ल्याई सामूहिक लगानी कोषले पनि यस क्षेत्रमा लगानी गर्न सक्ने स्पष्ट नीतिगत व्यवस्था गरेको खण्डमा सामूहिक लगानी कोषले लगानी गर्न सक्ने थप अर्को क्षेत्र हुन गई लगानीबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न थप मद्दत पुग्ने थियो । यति मात्र नभएर सामूहिक लगानी कोषमा संकलित रकमलाई भेञ्चर क्यापिटल र प्राईभेट ईक्वीटी फण्डमार्फत विभिन्न उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके सामूहिक लगानी कोषको दायरा फराकिलो हुन गई देशभर छरिएर रहेको लगानी योग्य रकमलाई एकिकृत गरी देशको उत्पादन मुलक क्षेत्रको लागी बलियो पूँजी निर्माण हुन सक्ने सम्भावना रहेको छ ।

यसरी नेपालमा सामूहिक लगानी कोषले लगानी गर्न सक्ने दायराको रूपमा नेपालको रियल इस्टेट (Real Estate) को क्षेत्रलाई पनि लिन सकिन्छ । यस सम्बन्धमा स्पष्ट नीति तथा निर्देशिका आउन सकेमा सामूहिक कोषमार्फत संकलित रकम यस क्षेत्रमा परिचालन हुन सक्थ्यो र नेपालको रियल ईस्टेट क्षेत्रमा पनि संस्थागत सहभागिता बढेर जान्थ्यो । यस्तै प्रकारको मोडेलको प्रयोग छिमेकी राष्ट्र भारतमा पनि निकै प्रचलनमा रहेको पाईन्छ ।

२) अवकाश कोषको अवधारणा अनुरूप कोषको सञ्चालनः

धितोपत्र बोर्डले स्पष्ट निर्देशिका र कार्यविधि जारी गरेर सामूहिक लगानी कोषलाई एक अवकाश कोषको अवधारणा अनुरूप सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन सकेमा नेपालमा सामूहिक लगानी कोषको दायरा अझ विस्तार भई यसबाट विभिन्न क्षेत्रमा आबद्ध नेपालीहरूले प्रत्यक्ष फाईदा लिन सक्दथे र अन्य हाल चलिरहेका अवकाश कोषहरू पनि प्रतिस्पर्र्धी रूपमा अगाडि बढ्न सक्दथे । सो अवधारणा अनुरूप सामूहिक लगानी कोषले पनि नेपालको विभिन्न उत्पादनमूलक क्षेत्रमा ऋण स्वरूप लगानी परिचलान गर्न सक्दथ्यो साथै ठूलाठूला राष्ट्रिय स्तरको आयोजनाहरूमा समेत रकम परिचालन भई कोषको दायरा विस्तार हुँदै देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दथ्यो ।

३) लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले सरकारी स्तरबाट यसको प्रबद्र्घन र विकासः

आम नेपाली लगानीकर्ताहरूले सामूहिक लगानी कोषबाट प्रत्यक्ष फाईदा लिन सकून भन्ने उद्देश्यले लगानीकर्ताहरूलाई यसमा सहभागी गराउनका लागी सरकारी स्तरबाटै यस क्षेत्रको प्रबर्धन र विकास गर्न आवश्यक हुन्छ र यसका लागी लगानीकर्ताहरूको चेतना स्तर अभिबृद्घि गर्दै प्रोत्साहनमूलक सुविधा प्रदान गर्दै लगानीकर्ताहरूलाई यसप्रति आकर्षित गर्न सकिन्छ । जस्तो कि अन्तर्राष्ट्रिय अभ्यास अनुरूप सामूहिक लगानी कोषमा लगानी गरेका लगानीकर्ताहरूले विभिन्न करहरूमा विशेष छुट पाउने साथै अन्य विभिन्न सरकारी सुविधाहरू पाउने गरेका छन् यसै अनुरूप नेपालमा पनि यस्तो किसिमको सुविधा आम लगानीकर्ताले पाउने व्यवस्था नीतिगत रूपमै सुधार भएर आएमा कोषप्रतिको सहभागिता बढेर जाने थियो र यस्ता कोषहरूमार्फत नेपाली अर्थतन्त्रमा पूँजी परिचलन गर्न थप टेवा पुग्ने थियो ।

यसै सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली भित्र्याई सामूहिक लगानी कोषको माध्यमबाट विदेशमा बस्ने नेपाली र गैर आवसीय नेपालीहरूलाई पनि विदेश मै बसेर नेपालमा लगानी गर्न सक्ने वातावरणको विकास गर्न सके समग्र पूँजी बजारको विकास हुने थियो ।

४) कोष व्यवस्थापकको संस्थागत क्षमता तथा दक्ष जनशक्तिको क्षमतामा अभिबृद्घिः

नेपालमा सामूहिक लगानी कोषको दायरा दिन प्रति दिन बढ्दै गइरहेको र आगामी दिनहरूमा पनि झन बढेर जाने निश्चित रहेको छ । तर कोष व्यवस्थापकको संस्थागत क्षमता र दक्ष तथा अनुभवी जनशक्ति निर्माणमा सरकारी तथा प्राईभेट तहबाट कुनै किसिमको कदमहरू चालिएको देखिदैन जसले गर्दा यस क्षेत्रका दक्ष जनशक्तिहरू पनि पलायन भएर गईरहेको अवस्था छ । यसै सन्दर्भमा कोष व्यवस्थापक संस्था, नेपाल सरकार, नियमन निकाय साथै अन्य सम्बन्धित निकायहरूको सहकार्यमा संस्थागत क्षमता अभिबृद्धि गर्दै यस क्षेत्रका दक्ष तथा अनुभवी जनशक्तिलाई अभिप्रेरित गर्न उनीहरूको व्यक्तिगत विकास र भविश्यको सुनिश्चतता हुने खालको कार्यक्रम तथा सुविधाहरू मार्फत त्यस्ता जनशक्तिलाई उपयोग गरी यस क्षेत्रको विकासमा योगदान पुर्याउन सकिन्छ ।

यस्ता दक्ष जनशक्तिको निर्माण गर्न विश्वविद्यालय स्तरबाट नै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, अहिले भैरहेका जनशक्तिलाई पलायन हुन नदिन उनीहरूको व्यक्तित्व विकाससँगै भविश्य सुनिश्चित हुने खालको कार्यक्रम ल्याउने, उनीहरूको क्षमता अभिवृद्धि गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिमहरूको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरू ल्याएर दक्ष तथा अनुभवी जनशक्क्ति भएको क्षेत्रको रूपमा विकास गर्न सकिन्छ जसले नेपाली पूँजी बजारप्रति सर्वसाधारण नेपालीहरूको विश्वास र सहभागिता बढ्न गई यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तर मै मान्यता पाउन सक्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया