Nepal Life

८ अर्ब लगानीमा १२५ किलोमिटर लामो कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु, निर्यातसँगै देशको विद्युत विकासमा टेवा पुग्ने विश्वास

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Fri 15:16
८ अर्ब लगानीमा १२५ किलोमिटर लामो कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु, निर्यातसँगै देशको विद्युत विकासमा टेवा पुग्ने विश्वास
Shikhar detail

काठमाडौं। कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरे। कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो।

NIMB

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्रालयका सहसचिव, कैलालीका जनप्रतिनिधिलगायत स्थानीय निकायका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार, फुकोट–कर्णाली, बेतन–कर्णाली, तिला एक र दुईलगायतका आयोजनाबाट उत्पादित करिब तीन हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ।

मुलुकको विद्युत मागलाई सम्बोधन गर्ने र विद्युत् निर्यात गर्ने लक्ष्यसहित सरकारी स्वामित्वको उक्त कम्पनीबाट निर्माण हुन लागेको डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजनाका रुपमा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘प्रसारण हाइवे’ का रुपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको विद्युत् विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

कूल १२५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेशनमा जोडिने छ। त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ। त्यसमा दुई सय ५६ वटा टावर रहने छन्। उक्त प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामोमध्येको करिब एक हजार तीन सय ५० मिटर लामो नदी पार गराउनुपर्ने छ। त्यसमा करिब एक सय २० मिटर अग्ला दुई वटा टावर निर्माण गर्नुपर्ने छ।

आयोजना प्रबन्धक बिकेन बज्राचार्यका अनुसार प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी कलपत्रु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग गत वर्ष ठेक्का सम्झौता भएको हो। आयोजनाको कूल लागत रु आठ अर्ब बराबर छ। आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
    
आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इञ्जिनियरिङलगायत टावर परीक्षणका काम सम्पन्न भइसकेका छन्। आयोजना निर्माण सुपरीवेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीलाई नियुक्त गरिएको छ। टावर निर्माणका लागि कालीकोट, सुर्खेत, अछाम र कैलालीमा जग्गा अधिग्रहणको काम भइरहेको आयोजना प्रबन्धक बज्राचार्यले जानकारी दिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया