जित सुनिश्चित भए सँगै विजय जुलुस ननिकाल्न बालेन शाहको आग्रह

  • BFIS News
  • 2022 May Wed 12:12
जित सुनिश्चित भए सँगै   विजय जुलुस ननिकाल्न बालेन शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा जित सुनिश्चित भए सँगै बालेन शाहले कसैलाई पनि विजय जुलुस ननिकाल्न आग्रह गरेका छन् । उनले आफुले पाएको मत ३५ प्रतिशत मात्रै भएको भन्दै बाँकी उमेद्वारलाई असहज हुने गरी विजय र्याली ननिकाल्न आह्वान गरेका हुन् । 

जित सुनिश्चित भए सँगै बालेले आफ्नो फेसबुक पेजमा राखेको पोष्ट यस्तो छ । 
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।
जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ । 
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ । 
अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा 'धन्यवाद र्याली' गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । 'बालेन'हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ  । 
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । 
हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा 'बालेन'हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । 
अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया