NIMB Header 2
Nepal Life

नियामकमा व्यापारीको रजगज ! उनिहरुकै स्वार्थमा काम गर्ने बफादारलाई नियुक्ति दिदै पैसामा बिक्ने राजनीतिक बृत्त

Muktinath Bank
  • BFIS News
  • 2024 Nov 26 06:16
नियामकमा व्यापारीको रजगज ! उनिहरुकै स्वार्थमा काम गर्ने बफादारलाई नियुक्ति दिदै पैसामा बिक्ने राजनीतिक बृत्त
National Life

काठमाडौं । व्यापारी तथा व्यवसायीको प्रत्यक्ष स्वार्थ जोडिने नियामक निकायहरुमा उनिहरुको रजगज चल्न थालेको छ । राजनीतिक बृतले आर्थिक प्रलोभनमा यस्ता निकायमा राजनीतिक रङ् भन्दा पनि व्यापारी सँगको वार्गेनिङमा नियुक्त गर्न थालेका हुन् ।

Shikhar
NIMB

केहि समय अगाडीसम्म कुनै पनि राजनीतिक नियुक्ति लिनु भन्दा पहिला राजनीतिक विरासत तथा पार्टीलाई सहयोग पुर्याएको आधारमा नियुक्त गरिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । निश्चित व्यापारी तथा व्यवसायी जसले राजनीतिक पार्टीलाई नै किन्न सक्छन् त्यस्ता वर्गले आफ्नो अनुकुलका व्यक्तिलाई नियुक्ति दिने परिपारटी मौलाउदा राजनीतिक बृत्त प्रति नै आम जनताको नैराश्यता बढ्दै गइरहेको छ । अव यस्ता क्षेत्रमा नियुक्ति लिनु छ भने त्रिकोणात्मक सम्बन्ध बनाउन सक्नु पर्छ । पहिलो व्यवसायीक घराना तथा कर्पोरेट हाउस, दोस्रो राजनीतिक दल र तेस्रो सत्तारुढ दलका मन्त्रीसँग सम्बन्ध बनाउन सक्नेले मात्रै नियुक्ति पाउने अवस्था छ । यस भन्दा पहिला कर्पोरेट हाउसबाटै क्लिन चिट लिनु पर्छ । जहाँ उनिहरुले भनेका काम गर्ने प्रतिवद्धता जनाउनु पर्छ । 

कुनै समय नेपाल राष्ट्र बैंकबाट अवकास पाएका कार्यकारी निर्देशकहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सरकारी, बैंक, सरकारले लगानी गरेका कम्पनी तथा संस्थानमा नियुक्त पाउने परिपाटी थियो । त्यसमा पनि राजनीतिक रुपमा पुर्याएको सहयोग वा भनसुनका आधारमा । अहिले त्यो परिपाटी पुर्ण रुपमा बन्द भएको छ ।

यस पटक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियक्तिमा ठुलै कर्पोरेट वार देखियो । कुन कर्पोरेट हाउसले आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउने भन्ने रस्साकस्सीले ११ महिना लाग्यो । अन्तत यस पटक पनि दिपक भट्ट लगायतका विचौलियाले नै धितोपत्र बोर्डको अध्यक्ष आफ्नो पन्जामा पारेका छन् । यस समुहको एकमात्र स्वार्थ भनेको नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज हात पार्ने हो ।

यस समुहले यस भन्दा अगाडी हिमालयन रिइन्स्योरेन्स र ४/५ वटा माइक्रो इन्स्योरेन्स एकलौटी बनाएको थियो । सम्भवत नव नियुक्त धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि पहिलो काम दुई एक्सचेन्जको लाइसेन्स यहि समुहलाई सुम्पिएर सुरुवात गर्ने छन् ।

विद्यमान अवस्थामै हेर्ने हो भने नेपालका ठूला व्यावसायिक समूहहरू नयाँ स्टक एक्सचेन्जको अनुमति पाउन आवेदन दिएर बसेका छन् । नयाँ स्टक एक्सचेन्जको अनुमति पाउन इच्छुक व्यावसायिक घराना शंकर समूह-इन्फिनिटी होल्डिङ्स नेतृत्वको समूह र चन्द्र ढकाल-उपेन्द्र महतो-जीवा लामिछाने नेतृत्वको समूहमध्ये कसले आफू अनुकूल अध्यक्ष ल्याउने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

धितोपत्र बोर्डमा व्यावसायिक स्वार्थको छायाँ देखिएको अहिले मात्रै होइन । यसभन्दा अघिल्ला अध्यक्ष रमेशकुमार हमालको नियुक्तिमा नै स्वार्थ देखा परेको थियो । व्यावसायिक घराना शंकर समूह-इन्फिनिटी होल्डिङ्सको पहलमा बोर्ड अध्यक्षमा हमालको नियुक्तिको चर्चाबीच हमालले सोही समूहलाई लाभ पुग्ने एकपछि अर्का निर्णय गर्दै गए ।

उनले शंकर समूहको लगानीको क्रेडिट रेटिङ कम्पनीलाई आउने बित्तिकै अनुमति दिए भने सोही समूहले प्रवर्द्धन गरेको हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न कानून नै संशोधन गरिदिए । उनले सोही समूहको प्रवर्द्धनको कम्पनीलाई स्टक एक्सचेन्जको अनुमति दिलाउन आवेदनको प्रक्रिया समेत अघि बढाए, नयाँ स्टक एक्सचेन्जको औचित्यमाथि प्रश्न उठ्दाउठ्दै ।

बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणमा पनि व्यावसायिक स्वार्थ हावी छ । २०७७ माघमा प्राधिकरणको अध्यक्षमा भित्र्याइए, यस क्षेत्रको अनुभव र ज्ञान नै नभएका पूर्व गृहसचिव सूर्यप्रसाद सिलवाल । इन्फिनिटी होल्डिङ्सका दीपक भट्टसँग पुरानो सम्बन्ध भएका सिलवालले एकाध महीनाभित्रै उनै भट्ट र शंकर समूहले नेतृत्व गरेको हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा कम्पनीको अनुमतिपत्र दिलाए । उनले सोही समूह अन्तर्गतका ६ वटा कम्पनीलाई पनि २०७९ को निर्वाचनअघि लघु बीमा व्यवसाय स्थापनाका लागि अनुमति दिए ।

नियामकको भुमिका

नियामक निकाय जसले नियन्त्रण गर्छन् । आफू मातहतका संस्था तथा आफूले अनुमति दिएका संस्था जसले विभिन्न किसिमका सर्त र बन्देजको अक्षरंश पालना गर्ने सर्तमा स्वीकृति लिएका हुन्छन् । त्यस्ता संस्थाले आफ्नो दायित्व पूरा गरेनन् भने तिनलाई सही ठाउँमा ल्याउन सक्नु पर्छ । विभिन्न किसिमका नीति, नियम, कार्यविधिलगायतका पक्षको कार्यान्वयनको अवस्थाका बारेमा निगरानी गर्ने काम नियामक निकायको हुन्छ । संस्थाले पूरा गर्न नसकेका तथा गरेका कामकारबाहीको उचित समयमा निरीक्षण, अनुगमन, नियन्त्रण गर्ने काम नियामक निकायको हो ।

विभिन्न क्षेत्र तथा विषयको नियमन गर्ने निकाय फरक फरक रहेका हुन्छन् । सबैले आआफ्नो कार्यक्षेत्रभित्र रहेर आफ्नो भूमिका निभाउनुपर्ने हुन्छ । बीमा कम्पनीको नियामक निकाय नेपाल बीमा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क, धितोपत्र कारोबार गर्ने सेक्युरिटिज्हरूको धितोपत्र बोर्ड, हाइड्रो पावर कम्पनीको विद्युत नियमन आयोग तथा नेपाल विद्युत् प्राधिकरण, टेलिकम्युनिकेसन क्षेत्रका कम्पनीको दुरसञ्चार प्राधिकरण, हवाइ क्षेत्रको नागरिक उड्ययन प्राधिकरण लगायत यस्तै अन्य संस्थाहरूको पनि फरक फरक नियामक निकाय रहेका छन् । नियामक निकायको भूमिका कस्तो हुनुपर्ने, के गर्नुपर्ने (?) भन्ने सम्बन्धमा तिनीहरूको कामको प्रकृति साथै आन्तरिक तथा बाह्य वातावरणले पार्ने प्रभाव जस्ता विषयले फरक पार्छ । हरेक नियामक निकायले संस्था खोल्ने इजाजतपत्र दिनुभन्दा पहिला इजाजतपत्र दिनु आवश्यक हो कि होइन, कतिसम्म दिने हो, भएकाको अवस्था कस्तो छ र हुनुपर्ने के हो ? जस्ता विविध पक्षबारे नियामक निकायले विशेष ध्यान पुर्याउन सक्नु पर्छ ।

अव कुनै निहित स्वार्थ समुहको व्यक्तिले नेतृत्व पाउदै गर्दा त्यस्ता संस्थाले जनताको हितमा कसरी काम गर्न सक्छन् भन्ने अहिलेको प्रश्न हो । अहिले अर्थतन्त्रका हरेक अवयवहरु कमजोर अवस्थामा छन् । सरकारले यस्ता क्षेत्रमा एकदमै दक्ष र अनुभवी व्यक्तिलाई नियुक्ति गरेर बलियो बनाउनु पर्ने बेलामा झन् खोक्रो बनाउने बाटो अपनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरको पदावदी आगामी चैतबाट सकिदैछ । यसका लागि अहिलेदेखिनै व्यावसायिक घरानाको दौडधुप सुरु भइसकेको छ । 

नियामक निकाय भनेको मेन्टरको रूपमा रहने र उसले गर्ने हरेक निर्णयको प्रभावले दीर्घकालीन असर र दायरा फराकिलो हुने भएकाले धेरै पक्षको सोच विचारबाट गर्नुपर्ने हुन्छ । नियामक निकायको प्रभावकारी संरक्षकत्वले मातहतका निकायको कार्यान्वयन कति सबल र सक्षम रहने भन्ने निक्र्योल गर्ने हुँदा नियामक निकायको ध्यान यसतर्फ जानु पर्छ । तर व्यवहारमा नियामक निकाय नै कुनै कर्पोरेट हाउस जस्तो देखिन थालेको छ । कर्पोर्ट हाउसले चाहेका व्यक्ति नियुक्ति हुने । तिनैले स्थापना गरेका कम्पनीलाई सोहि व्यक्तिले नेतृत्व गरेको संस्थाले नियमन गर्ने कुरालाई वास्तवममै जनताले रुचाइरहेका छैनन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया