नेपाल बैंक सबैको रोजाइको बैंक हो, प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय सँगको अन्तर्वार्ता
- BFIS News
- 2025 Jan Fri 08:57
काठमाडौं । नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।
नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ ।
नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंकलाई जान्छ । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले महत्वपूर्ण भूमिका खेलेक छ । वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बैंक देशको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको संस्था हो । पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैंक हाल ‘सबै पिढीको साथी’ का रूपमा अगाडि बढिरहेको छ । यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय सँगको अन्तर्वार्ताः
नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तपाईं नियुक्त भएको पनि एक वर्ष पुग्न लागेको छ । यस बीचमा बैंकको समग्र अवस्था कस्तो पाउनु भयो ?
मैले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको भर्खर १ वर्ष पुग्न लागेको भएता पनि मेरा लागि यो बैंक नौलो भने होइन । मैले वि.सं. २०४० मङ्सिरदेखि वि.सं.२०७० असोजसम्म गरी झन्डै तीस वर्ष यस बैंकमा सेवा गरिसकेको छु । विगतमा म एक जिम्मेवार कर्मचारीका रूपमा कार्यरत थिए भने अहिले त्यो भन्दा पनि ठूलो जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतका हैसियतमा रही कार्य गर्ने अवसर पाएको छु ।
ब्यालेन्ससिटको आकारमा निकै ठूलो वृद्घि, व्यवसायमा स्तरोन्नति, शाखा सञ्जाल विस्तार, नयाँ तथा प्रतिस्पर्धी जनशक्ति, संरचनागत सुधार, ग्राहक सन्तुष्टि अभिवृद्घि भई सन्तुष्ट ग्राहकमार्फत ग्राहक सिफारिस बढ्नु, डिजिटल बैंकिङले फड्को मार्नु, संस्थागत कार्य संस्कृतिमा सुधार आउनु जस्ता पक्षहरूमा नेपाल बैंकले निकै ठूलो छलाङ मार्न सफल भएको मैले महसुस गरेको छु । प्रविधिको अवलम्बन, मानव पुँजीको उपलब्धता साथै जनविश्वासको सही सदुपयोग गरी आगामी दिनमा व्यवसायमा थप विस्तार गर्ने प्रशस्त सम्भावनाहरू मैले देखेको छु ।
यस बैंकको समग्र वित्तीय अवस्था कति सबल देख्नुहुन्छ ?
नेपाल बैंकको समग्र वित्तीय अवस्था निकै मजबुत रहेको छ । आ.व. २०८०/८१ को अन्यसम्म आइपुग्दा बैंकको निक्षेप रु.२८३ अर्ब पुगेको छ भने कर्जा तथा सापटी १९७ अर्ब रहेको छ । विगत १० वर्षमा यस बैंकले निक्षेप सङ्कलन र कर्जा प्रवाह दुबैमा ३०० प्रतिशतभन्दा बढी प्रतिशतले वृद्घि गरेको छ । यस बैंकको नेटवर्थ रु. ३७ अर्ब रहेको छ । नेटवर्थका आधारमा समेत यो बैंक अग्रपङ्क्तिमा रहेको छ ।
पूँजीकोष पर्याप्तता अनुपात १३.६२ प्रतिशत रहेको, विगतमा उच्च गतिले बढेको खुद नाफामा हाल खराब कर्जामा भएको वृद्घिका कारण केही गिरावट आएको भएता पनि ब्याज आम्दानी निरन्तर बढिरहेको र कुल नाफामा निरन्तर बढोत्तरी हुँदै गएको छ । कुनै समय करिब ६० प्रतिशत रहेको निष्क्रिय कर्जा हाल ३ प्रतिशतका हाराहारीमा रहेको छ ।
समग्र अर्थतन्त्रमा आएको समस्याले बैंकका केही वित्तीय सूचकहरूमा समस्या देखिएता पनि ती समस्याहरू अल्पकालीन नै हुनेछन् । यस बैंकका समग्र परिसूचकहरूलाई हेर्दा बैंकको वित्तीय अवस्था निकै नै सबल रहेको पुष्टि हुन्छ ।
अन्य बैंकहरूभन्दा यस बैंकका पृथक् पहिचान के के हुन् ?
नेपाल बैंक मानक संस्थाका रूपमा रहने प्रमुख आधार भनेको सर्वप्रथम स्थापित भई मुलुकलाई बैंकिङ साक्षरता प्रदान गर्नु हो । नेपाल राष्ट्र बैंकभन्दा पहिला स्थापना भएको यस बैंकले वि.सं. १९९४ देखि वि.सं. २०१३ सम्म देशको केन्द्रीय बैंकको समेत अभूतपूर्व जिम्मेवारी निभाएको इतिहास पनि सधैँ ताजा रहिरहनेछ । नेपाल औद्योगिक विकास निगमदेखि राष्ट्रिय वाणिज्य बैंक तथाकृषि विकास बैंकको स्थापनामा पनि यस बैंकको योगदान छ ।
बैंकिङ सघनता विस्तारका लागि विदेशी संयुक्त लगानी तथा निजी क्षेत्रको लगानीमा स्थापना भएका बैंकमा संस्थापक सेयरधनी भएको इतिहास पनि छ । निक्षेपमा उच्च ब्याज तथा कर्जामा न्यून ब्याज प्रदान गरिरहेको छ । सहर बजारमा मात्र आफ्नो उपस्थिति केन्द्रित नगरी दूरदराजका बस्तीहरूमा समेत शाखा खोली बैंकिङ सेवा प्रदान गरिरहेको छ । बंैकको आधार ब्याजदर न्यून छ जसले गर्दा तुलनात्मक रूपमा कम ब्याजदरमा बैंकले कर्जा प्रदान गरिरहेको छ । यी नै नेपाल बैंकका पृथक् पहिचान र मानक बैंक भइरहने आधार हुन् ।
नेपालको जेठो र पहिलो बैंकका रूपमा यस बैंकले आफ्नो साख कसरी हासिल गर्दैछ ?
बैंकको साखलाई कायम राख्न औसतमा ३७ वर्षका कर्मचारीले २२९ शाखा तथा ६० एक्सटेन्सन काउन्टरमार्फत अनवरत सेवा प्रदान गरिरहेका छन् । मुख्य रूपमा ग्राहकको सन्तुष्टिमार्फत व्यवसाय विस्तार गर्नु नै आजको आवश्यकता हो । आधुनिक बैंकिङ प्रविधिलाई आत्मसात् गर्दै हिमालदेखि तराईसम्म एवम् सहरदेखि गाउँसम्म आफ्नो सशक्त उपस्थितिमार्फत सहज ढङ्गले बैंकिङ सेवा प्रदान गर्दै यस बैंकले आफ्नो साखलाई गुम्न दिएको छैन ।
विगतका थुप्रै उतारचढावका बावजूद ग्राहकको यस बैंकप्रतिको विश्वास कत्ति पनि डगमगाएको देखिएन । बालक, युवा, प्रौढ र जेष्ठ नागरिक सबैको रोजाइ बन्दै उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका करिब २५ लाख नेपालीको सहयात्री बन्दै यस बैंकले आफ्नो साख हासिल गरेको छ र यसलाई जोगाइ रहनेछ ।
बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता र न्यून कर्जा विस्तारको सामना कसरी गर्दै हुनुहुन्छ ?
बजारमा अधिक तरलताको अवस्था विद्यमान छ तर कर्जाको माग अपेक्षाकृत बढ्न नसक्दा कर्जा विस्तारमा चुनौती खडा भएको छ । हाल बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात ७८ प्रतिशतका हाराहारीमा रहेको छ । यसबाट के देखिन्छ भने बैंकिङ क्षेत्रमा ६ खर्ब बढी अधिक लगानीयोग्य पुँजी रहेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विस्तारकारी वित्तीय तथा मौद्रिक नीतिले गर्दा समग्र अर्थतन्त्र चलायमान हुँदै गएको र यसको सकारात्मक प्रभावले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्दै जाने देखिन्छ ।
नेपाल बैंकको कर्जा निक्षेप अनुपात अहिले ७६ प्रतिशत मात्र रहेको छ । न्यून ब्याजदरमा नयाँ नयाँ कर्जा प्रोडक्टहरू लन्च गर्दै कर्जा विस्तार गर्ने कार्य अगाडि बढाएका छौँ ।
यस ऐतिहासिक क्षणमा यस बैंकका ग्राहक, सेयरधनी, कर्मचारीलगायतका सरोकारवालालाई थप के सन्देश दिन चाहनुहन्छ ?
बैंक अहिले जुन स्थानमा छ, जसरी लक्ष्य प्राप्त गरिरहेको छ यसको श्रेय हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई जान्छ । समस्त ग्राहकहरूप्रति हामी यस अवसरमा हार्दिक नमन गर्दछौँ । आगामी दिनमा पनि यो सहयोग एवम् सद्भावको निरन्तर अपेक्षा राख्छौँ र ग्राहक सेवामा थप स्तरोन्नति गर्दै जाने प्रण गर्दछौँ । सेयरधनी महानुभावहरूको यस बैंकप्रतिको भरोसा र अटल विश्वासका लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ साथै निरन्तर प्रतिफल प्रदान गर्ने वाचा पनि गर्दछौँ ।
बैंकलाई एक सबल र सक्षम बैंक बनाउने काममा निरन्तर मार्गदर्शन गरी महत्वपूर्ण भूमिका खेल्नुहुने विगतदेखि हालसम्मका सञ्चालक समितिप्रति हामी आभारी छौँ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत नियामक निकाय र अन्य सहयोगी संस्थालाई धेरै धेरै धन्यवाद ! मन, वचन र कर्मले यस बैंकको श्रीवृद्घिका लागि अथक मेहनत गर्ने एवम् बैंकको योजनालाई मूर्त रूप दिन कार्यक्षेत्रमा खटिने यस बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बधाई ।
प्रतिक्रिया