Nepal Life

नेपालको डिजिटल भुक्तानीमा आक्रामक सिद्धार्थ बैंक, ग्राहकको सेवामा प्राथमिकता दिदा लोभलाग्दो नतिजा

Muktinath Bank
  • पुरुषोतम सुवेदी
  • 2025 Jul Tue 15:10
नेपालको डिजिटल भुक्तानीमा आक्रामक सिद्धार्थ बैंक, ग्राहकको सेवामा प्राथमिकता दिदा लोभलाग्दो नतिजा
RBB

काठमाडौं। नेपालमा डिजिटल भुक्तानी तिव्र गतिमा विकास भइरहेको छ। विगत केही वर्षयता यस क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ । वित्तीय कारोबारको शैलीलाई नै परिवर्तन गरिदिएको डिजिटल भुक्तानी प्रणालीमा बैंकहरुले ठुलो लगानी गरिसकेका छन् । बैंकको शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्नेको संख्या घटिसकेको छ ।

NIMB

नेपालको डिजिटल पेमेन्ट इकोसिस्टमलाई हेर्ने हो भने सिद्धार्थ बैंक सकारात्मक दिशा तर्फ अगाडी बढिरहेको छ । डिजिटल भुक्तानीका माध्यमहरु एटिएम मेसिन, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकको कारोबारमा सिद्धार्थ बैंकले विशेष प्राथमिकदा दिदै आएको छ। यहि प्राथमिकताको नतिजा पनि लोभ लाग्दो छ ।

एटिएममार्फत कारोबार

नेपालका बैंकहरूसँग ५ हजार २४२ वटा एटिएम रहेका छन्। जसमध्ये सिद्धार्थ बैंकको मात्रै २२९ वटा अर्थात् ४ प्रतिशत हिस्सा रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा देशभरका एटिएममार्फत ७खर्ब १८ अर्ब रुपैयाँको कारोबार भएको छ। सोही अवधिमा सिद्धार्थ बैंकको एटिएममार्फत ५५ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ८ प्रतिशत हो। एटिएम संख्यामा ४ प्रतिशतको हिस्सा भए पनि कारोबार संख्या र रकम दुवैमा बैंकको हिस्सा ८ प्रतिशत रहेको छ।

अन्य बैंकहरूले प्रायः एटिएममा पैसा सकिएपछि तुरुन्तै नभर्ने र कार्यालय समयबाहेक अन्य समयमा बन्द गर्ने गरेको पाइन्छ। तर, सिद्धार्थ बैंकले भने २४सै घण्टा एटिएम खुला राख्नुका साथै प्रभावकारी सेवा प्रदान गरिरहेको छ। एटिएममा आउने सानातिना समस्यालाई समेत बैंकले ग्राहक सेवा केन्द्रमार्फत व्यवस्थापन गर्दै आएको छ। यसका लागि बैंकले विशेष ध्यान दिएको छ। मेसिन बिग्रिएमा तत्काल मर्मतलाई प्राथमिकता दिने गरिएको छ। एटिएममा राखिने रकम निश्चित तहभन्दा तल झर्नेबित्तिकै पुनः भर्ने प्रक्रिया सुरु हुन्छ। बैंकले आफ्ना ग्राहकहरूलाई मात्र नभई अन्य बैंकका ग्राहकहरूलाई पनि सहज सेवा प्रदान गरिरहेको छ।

मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख पुगेको छ। यद्यपि, एउटै व्यक्तिले धेरै वटा मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले यो संख्या बढी देखिएको हो। सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहकको संख्या ११ लाख ९ हजार छ, जुन समग्र मोबाइल बैंकिङ प्रयोगकर्ताको ४ प्रतिशत हो। समीक्षा अवधिमा सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ३१ खर्ब २८ अर्ब रुपैयाँ पुग्दा सिद्धार्थ बैंकको मात्रै २ खर्ब ३८ अर्ब रुपैयाँको कारोबार भएको छ। यसमा पनि सिद्धार्थ बैंकको बजार हिस्सा ८ प्रतिशत रहेको छ।

प्रयोगकर्ता ४ प्रतिशत भए पनि कारोबार रकम ८ प्रतिशत हुनुले सिद्धार्थ बैंकका ग्राहकहरू मोबाइल बैंकिङ कारोबारमा सक्रिय रहेको देखाउँछ। मोबाइल बैंकिङलाई थप सक्रिय बनाउन सिद्धार्थ बैंकले उल्लेख्य स्रोतसाधन परिचालन गरेको छ।

यस अवधिमा बैंकले मोबाइल बैंकिङ कसरी प्रयोग गर्ने र ग्राहकहरूलाई कसरी सहज रूपमा चलाउन सकिन्छ भन्ने विषयमा बारम्बार परिमार्जन गर्दै आएको छ। यसले गर्दा सिद्धार्थ बैंकका ग्राहकहरूले चाहेको समयमा मोबाइल बैंकिङमार्फत कारोबार गर्न सकेका छन्। कतिपय बैंकको मोबाइल बैंकिङमा कारोबार गर्न खोज्दा समस्या आउने गरेको पाइन्छ। एक-दुई पटकसम्म कारोबार नभएपछि ग्राहकहरूले स्वाभाविक रूपमा अर्को मोबाइल बैंकिङ रोज्न पुग्छन्। तर, सिद्धार्थ बैंकले कारोबारमा कुनै समस्या आएमा तत्काल समाधान गर्ने भएकाले ग्राहकहरू अन्य एप प्रयोग गर्न रुचाउँदैनन्। यसका लागि बैंकले दक्ष जनशक्तिदेखि प्रविधिमा ठूलो लगानी गरेको छ। बैंकले ग्राहकहरूलाई समस्या पर्नुभन्दा अगाडि नै प्रणालीको नियमित अनुगमन गरिरहेको हुन्छ।

डेबिट कार्ड

हालसम्म बैंकहरूले १ करोड ३४ लाख वटा डेबिट कार्ड जारी गरेका छन्। जसमध्ये सिद्धार्थ बैंकले मात्रै ८ लाख ७९ हजार वटा जारी गरेको छ, जुन कुल बजारको ७ प्रतिशत हो। गत फागुन मसान्तसम्ममा यस्ता कार्डमार्फत ७ खर्ब ४८ अर्ब रुपैयाँको कारोबार हुँदा सिद्धार्थ बैंकको मात्रै ५६ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ, जसले ८ प्रतिशत बजार हिस्सा ओगटेको छ।

क्रेडिट कार्ड

बैंकहरूले ३ लाख ९ हजार वटा क्रेडिट कार्ड जारी गर्दा सिद्धार्थ बैंकको मात्रै ५८ हजार ७६ वटा रहेको छ। यस क्षेत्रमा सिद्धार्थ बैंकको बजार हिस्सा १९ प्रतिशत छ। बैंकले जारी मात्रै गरेको छैन, कारोबारमा पनि १८ प्रतिशत हिस्सा ओगटेको छ। सिद्धार्थ बैंकको क्रेडिट कार्डमार्फत २ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ। बैंकले क्रेडिट कार्डमा आफ्नो बलियो उपस्थिति बनाउन खोजिरहेको छ र यसको जनचेतनाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

बैंकले लक्षित वर्गलाई ध्यानमा राखेर क्रेडिट कार्ड जारी गर्दै आएको छ। ग्राहकहरूलाई सहज होस् भनेर बैंकले धेरै संस्थाहरूसँग सहकार्य गरिरहेको छ। यसले ग्राहकहरूलाई विभिन्न छुट तथा सुविधाहरू प्राप्त भइरहेको छ। अन्य बैंकहरूमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विभिन्न निकायबाट अनुमति लिनुपर्ने बाध्यता भए पनि सिद्धार्थ बैंकको कार्डमार्फत बिना झन्झट सहजै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। कार्ड प्राप्त गरेपछि एक्टिभेट गरिरहनु पनि पर्दैन।

प्रिपेड कार्ड

प्रिपेड कार्डतर्फ हेर्दा बैंकहरूले २ लाख ३२ हजार वटा जारी गरेका छन्। सिद्धार्थ बैंकले मात्रै १४ प्रतिशत अर्थात् ३१ हजार ३९६ वटा जारी गरेको छ। कारोबार रकममा पनि बैंकको हिस्सा १३ प्रतिशत छ र यसका लागि बैंकले ग्राहकमुखी सेवा प्रदान गरिरहेको छ। बैंकले रोटरी क्लब जस्ता ठूला संस्थाहरूसँग सहकार्य गरी संस्थामैत्री क्रेडिट कार्ड र प्रिपेड कार्ड डिजाइन गरी उपलब्ध गराउँदै आएको छ।

यस्ता संस्थाका ग्राहकहरूले गर्ने कारोबारबाट हुने आम्दानीको निश्चित प्रतिशत सीएसआरका लागि सोही संस्थालाई प्रदान गर्ने गरिएको छ। बैंकले राउन्ड टेबल नेपाल, नेपाल मेडिकल काउन्सिल जस्ता सामाजिक संस्थाहरूलाई सहयोग पुग्ने गरी लिएको रणनीतिक सहकार्यले पनि यस्तो भुक्तानीको संख्या र कारोबार बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

अन्य बैंकबाट पनि भुक्तानी त हुन्छ, तर सिद्धार्थ बैंकमार्फत भुक्तानी गर्दा आफ्नो संस्थालाई पनि सहयोग पुग्ने भएकाले बैंकको कारोबारमा टेवा पुगिरहेको छ। बैंकले रोटरी क्लबका सदस्यहरूलाई दिएको क्रेडिट कार्डले परिचयपत्रको समेत काम गर्ने गरेको छ। यस्ता कार्यले निश्चयनै कार्डको भ्यालु बढाउन ठुलो टेवा पुर्याएको छ।

क्युआरमार्फतको भुक्तानी

क्युआरमार्फतको भुक्तानीमा सिद्धार्थ बैंकको बजार हिस्सा ३ प्रतिशत छ। कारोबार संख्यामा ४ प्रतिशत हिस्सा ओगट्दै गर्दा पनि सर्वाधिक कारोबार हुने बैंकहरूको सूचीमा चौथो स्थानमा पर्छ। नेपालको क्युआरमार्फत हुने भुक्तानीमा सबैभन्दा धेरै हिस्सा ई-सेवाको (३५ प्रतिशत) रहेको छ। त्यस्तै, ५ प्रतिशतभन्दा धेरै हिस्सा वालेट तथा अन्य गैरबैंकिङ कारोबार गर्ने संस्थाहरूको छ। बाँकी ६० प्रतिशतभन्दा कम बजार हिस्सा अन्य बैंक तथा वित्तीय संस्थाहरूको छ। दोस्रो बजार हिस्सा एनआईसी एशिया र तेस्रो नम्बरमा नबिल बैंक रहेको छ। दोस्रो, तेस्रो र चौथो नम्बरमा रहेका तीनवटै संस्थाले ४/४ प्रतिशत हिस्सा ओगट्दै आएका छन्।

वृद्धिदर

चालु आर्थिक वर्षको आठ महिनामा बैंकहरूले ४९ वटा नयाँ एटिएम मेसिन सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थप्यो। बैंकहरूले आठ महिनामा ५ प्रतिशतले डेबिट कार्ड बढाउँदा सिद्धार्थ बैंकले एक्लै ९ प्रतिशतले वृद्धि गरिसकेको छ। क्रेडिट कार्ड १६ प्रतिशतले बढाउन सफल बैंकले समीक्षा अवधिमा ७ हजार ९०२ वटा कार्ड जारी गरिसकेको छ र क्रेडिट कार्डको बजार १६ प्रतिशत ओगट्न सफल भएको छ। प्रिपेड कार्ड बैंकिङ प्रणालीमा २८ प्रतिशतले बढ्दै गइरहेकोमा बैंकको वृद्धिदर २४ प्रतिशत छ।

मोबाइल बैंकिङमा उद्योगको वृद्धिदर ९ प्रतिशत हुँदा सिद्धार्थ बैंकको वृद्धिदर १० प्रतिशत देखिएको छ। सर्वाधिक हिस्सा ओगट्दै आएको सिद्धार्थ बैंकको वृद्धिले बैंकिङ उद्योगमै सुधार देखिएको छ। बैंकिङ उद्योगमा २० हजार ५० वटा कार्ड जारी भएकोमा सिद्धार्थ बैंकको मात्रै ७ हजार ९०२ वटा जारी भएको छ। यसरी आठ महिनाको वृद्धिमा सिद्धार्थ बैंकले एक्लै ४० प्रतिशत हिस्सा ओगटेको छ।

डिजिटल भुक्तानीमा सिद्धार्थ बैंकको यो स्तरको योगदान देखिनुको मुख्य कारण बैंकले गरेको अथक प्रयास हो। बैंकले प्रयोगकर्तामैत्री हुने गरी भुक्तानी प्रणालीको डिजाइन गरेको छ। यसका लागि बैंकले प्रणालीलाई नियमित रूपमा अद्यावधिक गर्ने काम गरेको छ। ग्राहकहरूलाई सूचित गर्ने र सिकाउने कार्यलाई पनि बैंकले प्राथमिकता दिएको छ। आज बैंकले डिजिटल भुक्तानीका लागि ग्राहकहरूलाई जुन तरिकाले सिकाउने काम गरिरहेको छ, त्यसको फाइदा अन्य बैंकहरूलाई पनि पुगिरहेको छ। बैंकले डिजिटल भुक्तानीका हरेक चरणमा ग्राहकहरूलाई बुझाउने र सिकाउने काम गरिरहेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया