राहुघाट जलविद्युत् आयोजनाको सिभिल काम ९० प्रतिशत सम्पन्न, ठेक्काको म्याद तेस्रोपटक थप
- BFIS News
- 2025 Jul Fri 11:10

म्याग्दी, साउन २। म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थप गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा प्रवर्द्धित यो आयोजनाको हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको छ।
भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सँग सन् २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६) मा रु. ६ अर्बमा सिभिल कार्यका लागि ठेक्का सम्झौता गरिएको थियो। सो सम्झौताअनुसार ४५ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्माण कार्यमा ढिलाइ हुँदै जाँदा यसअघि दुईपटक म्याद थपिएको थियो। दोस्रोपटक थपिएको म्याद सन् २०२४ जुन २७ मा समाप्त भएको हो।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार जेपी कम्पनीसँगको ठेक्काको म्याद तेस्रोपटक २०२५ नोभेम्बर २७ सम्म थप गरिएको हो। "ठेकेदारले डिसेम्बर ३१ सम्म म्याद मागेको थियो तर परामर्शदाता वाकफोसको सिफारिसमा चार महिनामात्र थपिएको हो," केसीले बताए।
निर्माण ढिलाइ हुनुमा कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव र कालीगण्डकी नदीबाट उत्खननमा सर्वोच्च अदालतको रोक जस्ता कारणहरू ठेकेदारले देखाएको छ। बर्खायाममा बुग्लको पहिरोले बाँधस्थल पुग्ने सडक अवरुद्ध गर्नुका साथै बाढीले निर्माण स्थलमा गाढा थुपार्दा काममा असर परेको बताइएको छ।
विद्युत्गृह निर्माणको जिम्मा पाएको भारतको ‘भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)’ सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरिएको थियो। तर, उपकरण आयात तथा जडानको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद सन् २०२५ डिसेम्बर ३१ सम्मको छ।
आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल काममा समन्वय गराउँदै निर्माण तीव्र बनाउन प्रयास भइरहेको जानकारी दिए। उनले निर्धारित कार्यतालिका अनुसार काम भएमा राहुघाट आयोजनाको निर्माण कार्य २०२५ डिसेम्बरसम्म सम्पन्न हुने विश्वास व्यक्त गरे।
रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, ६.२७ किलोमिटर मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ।
राहुघाट आयोजनामा भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण, नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (EPC) मोडेलमा काम भइरहेको छ।
आर्थिक कठिनाइका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रियाबाट जेपी कम्पनीसँग सम्झौता गरिएको थियो। जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ निर्माण सुरु गरेको हो।
२०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएको यो आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किटको दाना–कुश्मा प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। सोका लागि आवश्यक चार टावर र प्रसारण लाइनको निर्माण कार्य पनि सम्पन्न भइसकेको छ।
प्रतिक्रिया