"स्थानीय समुदाय – इन्जिनियर समाज सहकार्य कार्यक्रम" अन्तर्गत इन्जिनियर्स एशोसिएसनद्धारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- BFIS News
- 2025 Jul Sat 22:09

काठमाडौँ, साउन ३ गते। नेपाल इन्जिनियर्स एशोसिएसनको स्थापना दिवस २०१९ साल साउन ३ गतेको सम्झनामा हरेक वर्ष साउन ३ गतेलाई "इन्जिनियर दिवस" को रूपमा मनाउने गरिन्छ। यही परम्परालाई निरन्तरता दिँदै ६३औँ इन्जिनियर दिवसको अवसरमा आयोजित विभिन्न गतिविधिहरु मध्य, मिति २०८२ साल असार ३० गते, इन्जिनियर भवन, पुल्चोक परिसरमा "रक्तदान जीवनदान" तथा "स्वस्थ रहौं, दीर्घायु बनौं" भन्ने मूल नारा सहित बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
इन्जिनियरहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण, तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा प्रदान गरिएको स्वास्थ्य सेवाहरूमा सामान्य स्वास्थ्य परीक्षण, ई.सी.जी र इको जाचको माध्यम बाट मुटु परीक्षण, अल्ट्रासोनोग्राफी, मधुमेह परीक्षण, रक्तचाप परीक्षण, स्त्रीरोग परीक्षण, आँखाको परीक्षण, नाक-कान-घाँटी (ENT) परीक्षण आदि रहेको थियो ।
"स्थानीय सामुदाय - इन्जिनियर समाज सहकार्य कार्यक्रम" अन्तर्गत सम्पन्न यस कार्यक्रममा विभिन्न उमेर समूहका सर्वसाधारण, इन्जिनियरहरू तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुभास चन्द्र बरालले गरेका थिए।
प्रमुख अतिथिको रूपमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने (अर्याल) उपस्थित थिइन्। त्यसैगरी, विशेष अतिथिका रूपमा Structural Engineers' Association, Nepal (SEANep) का अध्यक्ष इन्जिनियर कृष्ण सिंह बस्नेत तथा नेपाल सशस्त्र प्रहरी अस्पतालकी वरिष्ठ उपरीक्षक डा. मिना कुवर रहेकी थिइन्।
यस कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका तर्फबाट उपाध्यक्ष ई.प्रकाश के.सि., महासचिव ई. बिनोद प्रकाश पण्डित, कोषाध्यक्ष ई. सुमन थापा, सदस्य आ. प्रियङ्का गुप्ता, सदस्य ई. यमेन्द्र गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मादव अधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट उपाध्यक्ष तुलमाया ठाडामगर, सदस्य-सचिव रेजिना श्रेष्ठ, सह-सचिव सुनिता कोइराला, कोषाध्यक्ष रिना कारन्जित, सह-कोषाध्यक्ष मिरा राई, नायब उपरीक्षक गायत्री के.सि., सशस्त्र प्रहरी बल नेपाल, नम्बर २१ गण, दक्षिणकालीका गणपति उपरीक्षक राजेस लामिछाने, नेपाल सशस्त्र प्रहरी बल अस्पतालको विभिन्न बिभागका बरिस्ठ डाक्टर तथा प्राविधिकहरु, SEANep उपाध्यक्ष डा. ई. रेखा श्रेष्ठ, सह-सचीव डा. ई. भारत प्रधान, सदस्य डा. ई. बिष्णु गुप्त गौतम, कविर सन्त सत्संग मन्दिर झम्सिखेलका सन्त शुभ दास, सन्त सात्विक दास, लायन्स क्लव अफ काठमाडौं तिर्थ नेक्ससकी अध्यक्ष समाजसेवी सिम्रन थपलिया (श्रेष्ठ), समाजसेवी अनन्त श्रेष्ठ, बरिस्ठ स्ट्रक्चरल इन्जिनियर गङ्गा बहादुर बस्नेत, उमा सन्खर साह, ललितपुर महानगरपालिका सम्पदा साखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठ लगायतका अन्य शाखा प्रमुखहरु, NEA का केन्द्र र प्रदेश कमिटीका पदाधिकारी तथा साधारण सदस्यहरु, कर्मचारिहरु रोशन श्रेष्ठ, अर्जुन सुवेदी, उज्ज्वल कार्की, स्थानीय निकाय तथा उच्च अदालतका कर्माचारिहरु, कविर सन्त सत्संग मन्दिर झम्सिखेलबाट १०२ बर्षको बृद्ध आमाको साथै स्थानीय समुदायको बाक्लो उपस्थिति तथा सक्रियता रहेको थियो।
यस कार्यक्रमको आयोजक नेपाल इन्जिनियर्स एशोसिएसनको Engineer Welfare, Social Event and Outreach Activities Committee रहेको थियो जसको संयोजक स्ट्रक्चरल इन्जिनियर रुपेन्द्र वर ध्वज थापा थिए भने सदस्य–सचिव ई. बिक्रम कुमार दास थिए । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघ (APFWA) को सहकार्य र नेपाल सशस्त्र प्रहरी बल (ए.पि.एफ) अस्पताल को प्राविधिक सहयोग रहेको थियो। रक्तदान व्यवस्थापन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले गरेको थियो भने, कार्यक्रम स्थल व्यवस्थापन सशस्त्र प्रहरी बल नेपाल, नम्बर २१ गण, दक्षिणकालीबाट गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष, अनिता लामिछाने (अर्याल) ले संघको सामाजिक उत्तरदायित्व र जिम्मेवारीलाई स्पष्ट पार्दै, नेपाल इन्जिनियर्स एशोसिएसन र सशस्त्र प्रहरी परिवार महिला संघ बीचको सहकार्यले इन्जिनियर समाज हुँदै सिङ्गो राष्ट्रका सबै सरोकारवाला सम्म पुग्ने वैज्ञानिक परिवर्तन र सहयोगको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा यस्तै समाजमा प्रत्यक्ष र सकारात्मक प्रभाव पार्ने सिर्जनशील योजना र प्रभावकारी कार्यान्वयन हुने किसिमको कार्यक्रमहरूलाई योजनाबद्ध ढंगले अघि बढाउन संघ सधैं इच्छुक र तत्पर रहेको पनि बताए।
कार्यक्रमका विशेष अतिथि तथा SEANep का अध्यक्ष, इन्जिनियर कृष्ण सिंह बस्नेतले, रक्तदान एउटा परोपकारी, पवित्र र सामाजिक उत्तरदायित्व पूर्ण कार्य हो, जसले अरुको जीवन बचाउन मद्दत गर्छ। यसले न केवल अरुलाई फाइदा पुर्याउँछ, दातालाई पनि शारीरिक र मानसिक लाभ दिने र स्वास्थ्य परीक्षण (Health Check-up) नियमित रूपमा गरिनुपर्ने एक महत्वपूर्ण प्रक्रिया हो, जसले शरीरभित्र लुकेका रोग, कमजोरी वा जोखिमलाई प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार गर्न सहयोग पुर्याउँछ भन्ने सन्देश दिदै भवन तथा अन्य संरचनाको संरचनात्मक स्वास्थ्य पनि मानव स्वास्थ्य जत्तिकै महत्वपूर्ण भएको कुरा कार्यक्रममा प्रष्ट पारे।
संरचनात्मक स्वास्थ्य भनेको कुनै पनि संरचनाको विपद तथा भूकम्प प्रतिरोधात्मक क्षमता हो जो निर्माण प्रविधिको उपयुक्तता, प्रयोग गरिएको सामग्रीको गुणस्तर, तथा नियमित मर्मत-सम्भारमा आधारित हुन्छ भन्ने कुरा अध्यक्ष बस्नेतले उल्लेख गरे। उनले थप स्पष्ट पार्दै विपद् व्यवस्थापनका तीनवटै चरण — पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माण — मा Structural Engineers' Association, Nepal (SEANep) को भूमिका महत्वपूर्ण रहनेछ। यस अभियानमा सशस्त्र प्रहरी बल (APF) को सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुने हुँदा SEANep र APF बीचको आपसी सहकार्य अझ मजबुत बनाउनु पर्ने आवश्यकता औल्याए । यस सन्दर्भमा, अध्यक्ष बस्नेतले स्ट्रक्चरल मूल्यांकन, जोखिम न्यूनीकरण र प्रविधि हस्तान्तरण जस्ता प्राविधिक क्षेत्रमा NEA को समन्वयमा SEANep सशस्त्र प्रहरी बलसँग सहकार्य गर्न सधैं तयार रहेको जानकारी दिए।
कार्यक्रमका विशेष अतिथि तथा सशस्त्र प्रहरी अस्पतालकी वरिष्ठ उपरीक्षक डा. मिना कुवँरले सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, स्थानीय समुदाय र प्राविधिक ज्ञानबीचको समन्वयको महत्त्व स्पष्ट पार्दै, आजको कार्यक्रममा इन्जिनियरिङ समुदाय स्वास्थ्य प्रति सचेत बनिरहेको देख्दा गहिरो खुशीको अनुभूति भएको बताए।
अस्पताल जस्ता 'लाइफलाइन' संरचनाहरू पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक हुनुका साथै अस्पताल भवन सम्बन्धी कार्यविधि अनुरूप कार्यसम्पादन योग्य (functional) बन्नुपर्ने आवश्यक भएकोले ए.पि.एफ. अस्पताल लगायत सशस्त्र प्रहरी बलको भावनाहरुको डिजाइन जाँच, भुकम्प प्रतिरोधात्मक मूल्यांकन तथा निर्माण कार्यको सुपरिवेक्षणमा साथै ए.पी.एफ. का इन्जिनियरहरुको प्रशिक्षण तथा सिप अभिबृद्धिको लागि इन्जिनियर समुदायको प्राविधिक सहयोगको अपेक्षा रहेको पनि उनले उल्लेख गरे। "स्वस्थ समाज निर्माण नै ए.पि.एफ. अस्पतालको मूल उद्देश्य हो," भनी जानकारी दिँदै, सशस्त्र प्रहरी अस्पताल सधैं समाजमा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आफ्नो सामाजिक उत्तरदायित्व निभाउन तत्पर रहेको उनले प्रतिबद्धतापूर्वक बताए।
नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष श्री सुबास चन्द्र बरालले संस्थाको विधानमा उल्लेखित उद्देश्यहरू प्राप्त गर्न विभिन्न कार्यक्षेत्रमा कार्य विभाजन गर्दै आवश्यक समितिहरू गठन गर्दै आएको जानकारी दिए। उनका अनुसार, त्यस्ता समितिमध्ये "Engineer's Welfare, Social Event and Outreach Activities Committee" पनि एक महत्वपूर्ण समिति हो, जसको नेपाली भावानुवाद "इन्जिनियर कल्याण, सामाजिक गतिविधि तथा जनसम्पर्क समिति" हो। इन्जिनियर कल्याणकारी भन्नाले इन्जिनियरहरूको व्यक्तिगत, पेशागत, सामाजिक तथा मानसिक / शारीरिक हितका लागि संचालन गर्न सकिने विविध गतिविधिहरूलाई जनाउँछ।
यस्ता अभियानहरू इन्जिनियरहरूको सशक्तिकरण, स्वास्थ्य, सुरक्षा, सीप विकास र सामाजिक समावेशीताको पक्षमा केन्द्रित हुन्छन्। अध्यक्ष बरालले गोरखा भूकम्प २०७२ को समयमा सिङ्गो देश विपद्को चपेटामा परेको सन्दर्भमा नेपाल इन्जिनियर्स एशोसिएसनले भूकम्प प्रभावित क्षेत्रहरूमा प्रारम्भिक क्षति मूल्यांकनका लागि ठूलो संख्यामा इन्जिनियर तथा आर्किटेक्ट स्वयंसेवकहरू परिचालन गरेको स्मरण गर्दै, त्यो समय सशस्त्र प्रहरी बलसँगको सहकार्यमा APF को मुख्यालय, अस्पताल, विद्यालय तथा ब्यारेकहरूको प्रारम्भिक क्षति मूल्यांकन पनि गरिएको जानकारी दिए।
उनले हालै सम्पन्न "रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम" ले सो ऐतिहासिक सहकार्यलाई निरन्तरता दिएको उल्लेख गर्दै, आगामी दिनमा सामाजिक तथा प्राविधिक क्षेत्रमा नेपाल इन्जिनियर्स एशोसिएसन र सशस्त्र प्रहरी परिवार महिला संघबीच अझ सशक्त र प्रभावकारी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रमका संयोजक इन्जिनियर रुपेन्द्र वर ध्वज थापाका अनुसार, नेपाल इन्जिनियर्स एशोसिएसन सधैं समुदाय लक्षित दृष्टिकोण अपनाउँदै दिगो विकासको अवधारणा अनुरूप बस्ती विकास, पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, पुनर्निर्माण, वातावरण संरक्षण, जलविद्युत् विकास, सूचना प्रविधि जस्ता विविध प्राविधिक गतिविधिमा समुदायसँगै कदम मिलाएर अघि बढ्ने संस्था हो। तर आजको कार्यक्रममा भने स्वास्थ्यसँग सम्बन्धित फरक प्रकृतिको पहल लिएर इन्जिनियरहरू प्रत्यक्ष रूपमा स्थानीय समुदायबीच उपस्थित भएका छन् जसको मूल उद्देश्य स्थानीय समुदायसँगको सहकार्य र सहभागिताको महत्त्वलाई अझ गहिरो रूपमा महसुस गर्नु र स्वास्थ्यजस्ता मानवीय पक्षहरूमा पनि प्रविधिक समुदाय (इन्जिनियरहरू) को भूमिका देखाउनु हो।
उनले भने, आज आयोजना गरिएको स्वास्थ्य परीक्षण कार्यक्रम केवल एक औपचारिक कार्यक्रम मात्र होइन, दैनिक अत्यन्तै व्यस्त जीवनशैलीमा रहने इन्जिनियरहरूलाई स्वास्थ्यप्रति सचेत गराउने चेतनामूलक र प्रतीकात्मक (Symbolic) अभियान पनि हो। स्वास्थ्य परीक्षणको महत्त्व सबैलाई थाहा भए तापनि त्यसप्रति देखिने लापरवाहीलाई झस्काउने उद्देश्य सहित यस कार्यक्रमले "स्वस्थ इन्जिनियर, सबल राष्ट्र" भन्ने सन्देश दिन खोजेको पनि संयोजक थापाले स्पष्ट पारे। "Engineer's Welfare, Social Event and Outreach Activities Committee" का सह–अध्यक्ष समेत रहेका थापाले आगामी कार्यक्रमहरूको जानकारी दिँदै इन्जिनियरहरूको कल्याण र सामाजिक उत्तरदायित्वमा केन्द्रित विभिन्न पहलहरूबारे जानकारी गराए।
उनले इन्जिनियर कल्याणकारी कोषको स्थापना, निर्माण क्षेत्रमा स्वास्थ्य र सुरक्षा सम्बन्धी सचेतना अभियान, निःशुल्क स्वास्थ्य तथा जीवन बीमा योजना, नेपाली इन्जिनियरहरूको सभ्यता झल्काउने 'इन्जिनियर मेमोरियल पार्क' निर्माण, सामुदायिक तथा सामाजिक उत्तरदायित्व कार्यक्रमहरू, ज्ञान र सीप अभिवृद्धि कार्यक्रमहरू, साथै विपद् व्यवस्थापन तथा पुनर्निर्माण अभियानहरू समितिको प्राथमिक कार्यसूचीमा रहेको उल्लेख गरे। त्यसैगरी, उनले अबको प्रमुख कार्यक्रम "इन्जिनियर - आध्यात्म सहकार्य कार्यक्रम" अन्तर्गत इन्जिनियर लक्षित 'तनाव विसर्जन कार्यशाला' आयोजना हुने घोषणा समेत गरे।
नेपाल इन्जिनियर्स एशोसिएसनले केन्द्रीय तथा प्रादेशिक साखाहरुमा ‘Engineers and Artificial Intelligence: Creating Impact’ भन्ने नाराका साथ २०८२ साल श्रावण २ र ३ गते आफ्नो बार्षिकोत्सव तथा ६३औं इन्जिनियर दिवस भव्यताका साथ मनाएको छ।
प्रतिक्रिया