NIMB Header 2
Nepal Life

आइजीआई प्रुडेन्सियलद्वारा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउन नयाँ बीमालेखको सुरुवात

Citizen Life
  • BFIS News
  • 2025 Sep 28 18:07
आइजीआई प्रुडेन्सियलद्वारा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउन नयाँ बीमालेखको सुरुवात
National Life

काठमाडौं। नेपालमा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विदेशी पर्यटकहरूलाई लक्षित गर्दै नयाँ बीमा योजना सार्वजनिक गरेको छ। उक्त योजना Himalayan Guardian Nepal (HGN) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा ल्याइएको हो। विशेषतः नेपालको विभिन्न क्षेत्रहरुमा भ्रमण, पदयात्रा तथा हिमाल आरोहण गर्न आउने विदेशी पर्यटकहरूले अब नेपालमा अवतरण गर्नासाथ सुरक्षित बीमालेख प्राप्त गर्न सक्नेछन्।

NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त योजनाको जानकारी दिँदै नेपालको पर्यटन क्षेत्रलाई अझ सुरक्षित बनाउने उद्देश्यले तीन तहको सुरक्षा प्रणालीसहित बीमालेखको सुरुवात गरिएको बताए। पहिलो तहमा सांस्कृतिक भ्रमण, शैक्षिक भ्रमण तथा अवकाश यात्रालाई लक्षित गरिएको छ; दोस्रो तहमा पदयात्रा गर्ने पर्यटकहरूलाई; र तेस्रो तहमा हिमाल आरोहण गर्नेहरूलाई ध्यानमा राखिएको छ। यसले पर्यटकहरूलाई आफ्नो यात्रा सुरक्षित र ढुक्क साथ गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यात्राको क्रममा कुनै दुर्घटना भएमा नगद रहित औषधोपचार सेवा पनि यस बीमालेखमा समावेश गरिएको छ। बीमालेख खरिद गर्ने प्रत्येक पर्यटकलाई सेटेलाइट जडित विशेष उपकरण प्रदान गरिनेछ, जसबाट आपतकालीन अवस्थामा यात्रुले एउटा बटन थिचेर सिधै उद्धार सेवाप्रदायक तथा चिकित्सकहरूसँग सम्पर्क गर्न सक्नेछन्। यसले गर्दा घाइते पर्यटकलाई स्थल मार्ग वा हेलिकप्टरमार्फत तुरुन्त उद्धार गरी अस्पतालमा पु-याई उपचार गर्न सकिनेछ।

उक्त बीमालेख अन्तर्गत निम्न प्रकारका कभरेजहरू समावेश गरिएको छ:

१. आपतकालीन उद्धार खर्च – हेलिकप्टर वा स्थलमार्गद्वारा उद्धार सेवाको खर्च समावेश।

२. चिकित्सा खर्च – अस्पताल उपचार, शल्यक्रिया, औषधि तथा अन्य स्वास्थ्य सेवा खर्च।

३. उच्च जोखिम क्षेत्र / उचाइजन्य सुरक्षा – उचाइमा हुने स्वास्थ्य समस्या वा जोखिमलाई समेट्ने सुरक्षा।

४. अपाङ्गता वा मृत्यु लाभ – दुर्घटनाबाट हुने स्थायी अपाङ्गता वा मृत्युमा प्रदान गरिने बीमा रकम।

५. २४ सै घण्टा आपतकालीन सहायता सेवा – बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता।

कम्पनीले विश्वास लिएको छ कि यस बीमालेखको माध्यमबाट नेपालमा आउने पर्यटकको संख्यामा वृद्धि हुनेछ, साथै उनीहरूको बसाई अवधि पनि लम्बिनेछ। यसले नेपालको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने र नेपाललाई विश्व सामु एक सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

श्रेष्ठले बीमालेख नेपालमा दर्ता भएका पर्यटन व्यवसायमार्फत सहज रूपमा खरिद गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए। उनले भने, “हाम्रो लक्ष्य केवल बीमा बेच्नु मात्र होइन, नेपालमा आउने सम्पूर्ण पर्यटकलाई सुरक्षित महसुस गराउनु र संकटमा उनीहरूको जीवन रक्षा गर्नु हो।”

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया